२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

संक्रमितलाई बौक्न मान्दैन एम्बुलेन्स

करिब १८ घन्टापछि बिहीबार बिहान धरान–१३ की संक्रमित महिलालाई बीपी अस्पताल लैजाँदै रेडक्रसको एम्बुलेन्स । तस्बिर सौजन्य : नेत्र काफ्ले (वडाध्यक्ष)

तीन दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी उपमहानगर–२ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । उनलाई विराटनगरस्थित कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो ।

तीन घन्टा भन्दा बढी समय बितिसक्दा पनि ती युवालाई लिन कुनै एम्बुलेन्स आएन । अन्ततः प्रतिष्ठानले आफ्नै एम्बुलेन्समा राखेर विराटनगर पठायो । यस्तै बुधबार पनि धरान उपमहानगरपालिका–१३ की ५१ वर्षीय एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भयो । उनलाई राति ८ बजे बीपी प्रतिष्ठान पु¥याउन एम्बुलेन्स आउने जानकारी वडाध्यक्ष नेत्र काफ्लेलाई दिएर मेयर तिलक राई फर्किए । तर, राति ११ बजेसम्म पर्खंदा पनि कुनै एम्बुलेन्स आएन । ‘हिजो राति ८ बजे एम्बुलेन्स आउने भनेर पर्खियौं, राति ११ बजे पनि नआएपछि घर गए,’ वडाध्यक्ष काफ्लेले भने, ‘पोजेटिभलाई बोक्न कुनै एम्बुलेन्स नै मान्दैन रे । यत्रो महामारीमा यो कस्तो तयारी हो ?’

यी दुई घटनाले जुनसुकै बेला पनि सेवा दिनुपर्ने एम्बुलेन्सहरू सेवामुखी छैनन् भन्ने मात्र होइन, कोरोना महामारीसँग जुध्ने तयारी कस्तो छ भन्ने छर्लङ्ग पार्छ । सामान्य अवस्थामा धरानमा चार दर्जन हाराहारीमा एम्बुलेन्स चल्छन् । बीपी प्रतिष्ठान भएकाले गाउँका एम्बुलेन्सहरूले पनि ठेगाना परिर्वतन गरेर तथा शाखा खोलेर धरानबाट चल्छन् । यसरी नाफामुखी हँुदै गएका एम्बुलेन्स सञ्चालकले अहिले कोरोना संकटको बेला त झन् पोजेटिभ रिपोर्ट आएकालाई नबोक्ने भन्दै स्वार्थीपन देखाएका छन् । ‘धरानकै संक्रमित महिलालाई लिन कुनै एम्बुलेन्स गएन, योभन्दा लज्जास्पद अरू के हुन सक्छ?’ धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘यसबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएर छलफल गरेका छौं ।’

यसअघि कोरोना महामारीलाई लक्षित गरेर नै धरानमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । तीमध्ये दुईवटा निजी क्षेत्रका थिए भने एउटा जिल्ला रेडक्रस सोसाइटी र एउटा बीपी प्रतिष्ठानकै थिए । तर ती एम्बुलेन्सले संक्रमितलाई नभई कोरोनाको आशंका गरिएकालाई मात्र घरबाट अस्पताल वा क्वारेन्टाइनसम्म लैजान व्यवस्था गरिएकाले लैजान नमानेको एम्बुलेन्स चालकहरूको भनाइ छ ।  

यसैबीच बिहीबार धरानका मेयर, उपमेयर, जिल्ला रेडक्रस सोसाइटी र एम्बुलेन्स चालक संघबीच भएको छलफलले दुईवटा डेडिकेटेड एम्बुलेन्स व्यवस्था गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । एउटा एम्बुलेन्स रेडक्रसको र अर्को निजी क्षेत्रको चौबिसै घन्टा बीपी प्रतिष्ठानमा रहने उनको भनाइ छ । ‘पहिलाका चारवटा त छँदैछ, थप दुईवटा डेडिकेटेड एम्बुलेन्स राख्ने निर्णय भयो,’ मेहताले भने, ‘थप २ वटाले कोरोना संक्रमण पुष्टि भएको व्यक्तिलाई मात्र अस्पताल वा सम्बन्धित ठाउँमा लैजाने गर्छ ।’ चालकहरूलाई उपमहानगरपालिकाले पिपिई व्यवस्था गरेको पनि उनले बताए ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App