नेपालमा कोरोना भाइरस संक्रमित दिनदिनै बढ्दैछन् । मंगलबार २७ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै मुलुकमा चार सय दुईजनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार संक्रमित पुष्टि भएकामा झापाका नौ, कपिलवस्तुका, काठमाडौंका तीन, सर्लाहीका दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, नवलपरासी, ललितपुर, भक्तपुर र सिन्धुलीका एक/एकजना छन् । संक्रमण थप बढ्ने स्थिति रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३६ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएका छन् । सिन्धुली, रामेछाप, सुनसरी, ललितपुर, लमजुङ र मकवानपुरमा पनि मंगलबार संक्रमित भेटिएका छन् । कोरोना संक्रमण सोमबारसम्म ३० जिल्लामा देखिएको थियो ।
संक्रमण पहाडी जिल्लामा पनि फैलिरहेको तथ्याकंले देखाएको छ । राष्ट्रिय इपिडिमियोलोजी महाशाखाका अनुसार संक्रमण हिमाली जिल्लामा पनि फैलिने स्थिति देखिएको छ । तराई, पहाड र हिमालका जिल्लाबाट भारतमा काम गर्न गएका फर्कन थालेपछि कोरोना संक्रमण फैलिएको छ ।
सरकारले देशमा संक्रमण बढेसँगै पिसिआर बिधिबाट नमुना परीक्षण दायरा बढाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ८० नमुना पिसिआर बिधिबाट र आरडिटी विधिबाट पाँच हजार नमुना परीक्षण गरिएको छ । हालसम्म पिसिआर विधिबाट ३२ हजार ६ सय ४ नमुना र आरडिटी बिधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएको छ । आरडिटी बिधिबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १८ हजार आठ सय ६० नमुना परीक्षण गरिएको छ । त्यस्तै आरडिटी विधिबाट प्रदेश २ मा १३ हजार एक सय ९७ नमुना परीक्षण भएको छ ।
हालसम्म देशभरिमा कोरोना पुष्टि भएका र आशंकित गरी चार सय ५७ जना आइसोलेसनमा भर्ना भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा १७ र उपत्यका बाहिर चार सय ४० जना छन् ।
कुल संक्रमितमध्ये प्रदेश १ मा ५४, प्रदेश २ मा १३७, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा चार, प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।
डाक्टरमा पनि संक्रमण
राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरका संक्रमित भनिएका कन्ट्याक्ट टे«सिङमा खटिएका चिकित्सक हुन् । करारमा रहेका ती चिकित्सक एक साताअघि कन्ट्याक्ट टे«सिङका लागि कपिलवस्तुमा जाने क्रममा संक्रमित भएको महाशाखाका एक कर्मचारीले जानकारी दिए ।
शुल्क तिरेर परीक्षण गर्न पाउने
सरकारले मंगलबारदेखि स्वेच्छिक रुपमा कोभिड–१९ परीक्षण गराउन सकिने व्यवस्था गरेको छ । सरकारले तोकेकै अस्पतालमा शुल्क तिरेर स्वेच्छिक रुपमा परीक्षण गराउन सकिनेछ । परीक्षणका लागि सम्बन्धित अस्पतालहरुले मापदण्ड पूरा गरी र संक्रमितको गोप्यता कायम गरी सरकारलाई अनिवार्य रुपमा रिपोर्ट पठाउनुपर्नेछ । स्वेच्छि परीक्षण गराउन पाउने व्यवस्थाले पिसिआरको दायरा बढ्ने सम्भावना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । देवकोटाका अनुसार प्रदेश २ र ५ मा १०/१० जना चिकित्सक यथाशिघ्र खटाउने निर्णय मन्त्रालयले गरेको छ ।
प्रकाशित: ७ जेष्ठ २०७७ ०२:०४ बुधबार