खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहित ३४ जनाको पिसिआर टेष्टका लागि थ्रोट स्वाब पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको पिसिआर परिक्षणका लागि स्वाव पठाइएको हो । उनीहरुको स्वाव संकलन गरेर शुक्रबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले बताए ।
कामका सिलसिलामा आशंका गरिएको व्यक्तीको नजिकमा बढि पुगेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिव लगायतको स्वाव पिसिआर टेष्टमा पठाइएको हो । तीन दिनभित्रमा ३३ जनाको पिसिआर रिपोर्ट आउने नगरपालिकाले जनाएको छ ।
११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हाल ९ जना छन् । हालसम्म क्वारेन्टाइनबाट ३४ जना घर फर्किसकेका छन् । क्वारेन्टाइनमा दुई जना नगरपालिकाकै कर्मचारीलाई समेत राखिएको छ ।
प्रकाशित: २ जेष्ठ २०७७ १६:४५ शुक्रबार