२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा रिड नेपालले जेठ १ गतेबाट रेडियोमार्फत विद्यार्थीलाई पढाउने

ताप्लेजुङ – लकडाउनका कारण बिद्यालय जान नसकेका ताप्लेजुङका बिद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले दुरशिक्षा सिकाई रेडियो कार्यक्रममार्फत घरमै बसेर अध्ययनको मौका दिने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीले आतंकित भएको अवस्थामा सुरक्षित ढंगबाट बिद्यार्थी सिकाई केन्द्रित गर्न यस्तो अभियान सुरु गर्न लागिएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए।

उनका अनुसार जेठ १ गते देखि मसान्त सम्म ताप्लेजुङका कक्षा १ देखि ८ सम्मका बिद्यार्थीलाई अंग्रेजी, गणित, विज्ञान र नेपाली बिषयको शिक्षण सिकाई सुरु गरिने छ। यहाँबाट सञ्चालित रेडियो तमोर १०२ मेघाहर्ज, रेडियो ताप्लेजुङ ९४ मेघाहर्ज  र रेडियो फक्ताङ्लुङ ८९.८ मेघाहर्जमार्फत शिक्षण सिकाई सञ्चालन हुने छ। घरैमा बसेर विद्यार्थीहरुको विषयगत सिकाई क्षमता अभिवृद्धि गर्न दुरशिक्षा सिकाई रेडियो कार्यक्रम सञ्चालनमा ल्याईएको उनले जानकारी दिए। रेडियो बाट प्रशारण हुने दुरशिक्षा सिकाई कार्यक्रममा आ–आफ्ना बालबच्चाहरुको पहुँच अभिवृद्धि  गरी सुन्न तथा सिक्ने र सिकाउने सृजनशिल वातावरण तयार गर्न उनले जिल्लाभरका अभिभावकलाई आग्रह पनि गरेका छन्।

यो कार्यक्रम सुन्न र सुनाउने कार्यमा उत्प्रेरणा जगाइदिन उनले सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक,जनप्रतिनिधि र स्थानीय सरकारलाई समेत आग्रह गरेका छन्। रिड नेपालका बित्त अधिकृत तेजप्रकाश उपाध्यायका अनुसार यो कार्यक्रम रेडियो तमोर र रेडियो फक्ताङ्लुङबाट हरेक दिन बिहान ८ः०० बजे देखि ८ः३० बजे सम्म तथा रेडियो ताप्लेजुङमा साँझ ६ः३० बजेदेखि ७ः०० बजे सम्म प्रसासरण हुने छ। रेडियो फक्ताङ्लुङबाट साँझ ५ः०० बजे देखि ५ः३० बजे सम्म दुरशिक्षा सिकाई रेडियो कार्यक्रमको पुर्नप्रसारण सुन्न सकिने समेत उपाध्यायले जानकारी दिए। 

 

प्रकाशित: २८ वैशाख २०७७ ०५:४५ आइतबार

कोभिड–१९ लकडाउन विद्यार्थी