२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कसरी भित्रियो कोरोना ? जरो खोज्दै प्रशासन र स्थानीय सरकार

उदयपुर- त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ जना धर्म प्रचारकमा वैशाख ५ गते पहिलो पटक कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो ‘भारतीय नागरिकले कोरोना ल्याएर उदयपुरलाई स्वाहा बनाए।’ कतिले त सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर पोष्टसम्म गर्न भ्याए। त्यसयता दैनिकजस्तो संक्रमित थपिदै अहिलेसम्म बुधबारसम्म २८ जना पुगिसकेको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संक्रमित ५५ वर्षीया भुल्केकी बृद्धाको विवरण चाँही बुधबारै पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

मस्जिदमा रहेका १२ भारतीयसहित १६ जना सबैको स्वाव (पिसिआर) परीक्षण गर्नुअघि गरिएको दु्रत लक्षण परीक्षण (आरडिटी) को रिपोर्ट भने नेगेटिभ आएको थियो। मस्जिदकै क्वारेन्टाईनमा राखिएका उनीहरुलाई संक्रमण पुष्टि भएकै साँझ कोरोना विशेष अस्पताल विराटनगर लगेर आईसोलेसनमा राखियो, त्यसबेलासम्म मस्जिदकै अर्का एकजनामा पनि संक्रमण प्रमाणित भईसकेको थियो।

एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो। सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको स्वास्थ्य टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० मुस्लिमसहित ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरी लग्यो। ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत उनीहरुलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। त्यहाँ उनीहरुमा संक्रमण पुष्टि भयो।

कोरोना नियन्त्रणका लागि लकडाउन सुरु भएको २५ औं दिन भुल्के ‘कोरोना इपिसेन्टर’ मा परिणत भएपछि जनमानसमा ह्वात्तै बढेको त्रास कम गर्न परीक्षण दर बढाउनुपर्ने माग बमोजिम काठमाडौंबाट हेलिकोप्टरमार्फत आएको नेपाली सेनाको स्वास्थ्य टोलीले ७ गते १ सय ५२ मुस्लिम समुदायको स्वाव संकलन गर्‍यो भने ८ गते थप १ सयको स्वाव काठमाडौं लग्यो। सोही दिन साँझ धरानमा ३ जनामा र बुधबार साँझसम्ममा केन्द्रीय प्रयोगशाला काठमाडौंमा थप ४ जनामा संक्रमण पुष्टि भएपछि त्रासको दायरा जिल्लाभरी परेको छ। 

संक्रमितहरु सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो भन्ने विषयमा अहिले माथापच्ची चलिरहेको छ तर, यकिन भईसकेको छैन। जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार भारतीय धर्म प्रचारकको ‘ट्राभल हिस्ट्री’ अनुसार उनीहरुबाट संक्रमण भएको भन्न नसकिने अवस्था छ। भुल्केकै ३ युवा २ महिनायता भारतको नयाँ दिल्ली, कर्णाटक र दुवईबाट फर्केको अपुष्ट खवरले पनि सुवेदीको अनुमानलाई बल मिल्ने कोरोनाविरुद्ध अग्रमोर्चामा खट्दै आएका त्रियुगा नगरप्रमुख बलदेव चौधरी बताउँछन्। उनले लकडाउन सुरु हुनुअगावै नयाँ मान्छे कोही आएमा वा आएको थाहा भए तत्काल नगरपालिका, प्रहरी, प्रशासनलाई जानकारी गराउन वडा जनप्रतिनिधिदेखि टोल विकास संस्थाका पदाधिकारीसम्मलाई आग्रह गरिएको बताए। पटक पटक सोध्दा विदेशबाट फर्केका मान्छेको विवरण प्राप्त नभएकाले त्यसतर्फ ध्यान नगएको उनको भनाई छ।

पुष्टि भईनसके पनि भारतको कर्णाटकमा उद्र्धु भाषा अध्ययनरत विद्यार्थी, नयाँ दिल्लीमा रोजगारी गर्ने अर्का एक र दुवईमा वैदेशिक रोजगारीबाट एक युवा फागुन दोस्रो हप्तातिर भुल्के घर फर्केको अपुष्ट जानकारी स्थानीयले दिएका छन्। धेरै स्थानीयको अनुमान अनुसार विदेशबाट फर्केकाहरुमा संक्रमण भएको हुनसक्ने, उनीहरुमध्ये १ जना अटो चालक, मस्जिद गईरहने तथा बिभिन्न सामाजिक गतिबिधिमा संलग्न हुने क्रममा संक्रमण बाँडिएको हुनसक्ने आँकलन छ।

यसको आधारमा मस्जिदका धर्म प्रचारकबाट नभएर संक्रमण उनीहरुबाट भएको अनुमान लगाउने प्रसस्तै भए पनि भारतीयको उदयपुर ‘प्रवेश विन्दु’ शिवाईको रिपोर्ट नआएसम्म भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर बताउँछन्। धर्म प्रचारकको ट्राभल हिस्ट्रीदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्म अग्रमोर्चामा खटेका एसपी मगरका अनुसार बढीमा ३ दिनभित्र यो कुराको खुलासा भईसक्नेछ।

 ‘ट्राभल हिस्ट्रीले संक्रमण उनीहरुबाट संक्रमण भएको भन्न मिल्दैन’ मगर भन्छन् ‘रेलको टिकट, अन्य कागजात र उनीहरुको बयानले उनीहरु मंसिर २५ गते नै नेपाल भित्रिएको देखाउँछ, जुनबेला विश्वमै कोरोना सुरु भएकै थिएन।’ जोगवनी नाका भएर नेपाल छिरेका उनीहरु मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै फागुन २७ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा बास बस्न आईपुगेको पाइएको छ। त्यहाँका ५३ घरधुरी मुस्लिम समुदायको स्वावको रिपोर्ट नेगेटिभ आयो भने भारतीयबाट संक्रमण सरेको भन्न नसकिने उनले बताए।

 

प्रकाशित: ११ वैशाख २०७७ १४:१८ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ उदयपुर