२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कोरोना संक्रमित भेटिएसँगै नाकामा कडाई

खोटाङ– छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित १२ जना फेला परेसँगै खोटाङको नाकामा कडाई गरिएको छ। छिमेकी जिल्लामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेसँगै शुक्रबार साँझदेखि खोटाङ र उदयपुरको सिमानाका नाकामा हुने आवत–जावतमा कडाई सुरु गरिएको हो।

विभिन्न बाहनामा हुने आवत–जावतका कारण जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेकाले रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाट लगायतका दर्जन बढि नाकामा रहेका झोलुंगेपुल, बेलिब्रिज र डुंगाबाट हुने आवत–जावतमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

आवत–जावतमा कडाई गर्नका लागि उदयपुर र खोटाङ जोड्ने नाकामा प्रहरी परिचालन गरिएको छ। भाइरस फैलिन सक्ने खतरालाई ध्यानमा राखेर केही दिनका लागि खाद्यान्न तथा तरकारी ढुवानीका सवारी साधन सञ्चालनमा समेत कडाई गरिएको जनाइएको छ। औषधि उपचारका लागि बाहेक अन्य काममा हुने आवत–जावतमा कडाई गरिएको प्रजिअ पौडेलले बताए।

नाकामा हुने आवत–जावतमा कडाई गर्न माथिल्लो क्षेत्रका प्रहरीलाई समेत नाकामा परिचालन गर्ने तयारी गरिएको छ। काठमाडौं लगायतका शहरबाट भित्रिने र बाहिरिने मूख्य नाकाकारुपमा रहेको जयरामघाटमा असईको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। यस बाहेक उदयपुरको सिमाना नजिक पर्ने रेग्मीटार, रमाईलो, रसुवाघाट, चमेरेघाट, बंशिलाघाट, कम्पुघाट, धाप्लाङघाट लगायतका नाकामा प्रहरी परिचालन गरिएको खोटाङका डिएसपी बामदेव गौतमले बताए।

नाका ठप्प बनाउन हलेसी तुवाचुङ नगरपालिकाको निर्देशन
उदयपुरमा संक्रमित फेला परेसँगै खोटाङमा पनि संक्रमण फैलिने त्रास फैलिएको छ। उदयपुरमा संक्रमित फेला परेसँगै उदयपुरसँग जोडिएका स्थानीय तहले समेत नाकामा कडाई सुरु गरेको छ। उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाले उदयपुरसँगको नाकामा हुने आवत–जावतमा रोक लगाउनका लागि वडा कार्यालयलाई निर्देशन दिएको छ।

यस बाहेक एक वडाबाट अर्को वडामा ओहोर–दोहोर गर्नमा रोक लगाउनका लागि पनि वडालाई पत्राचार गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

प्रकाशित: ६ वैशाख २०७७ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App