४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सुदुरपश्चिममा सरकारले पठायो ३४ जना चिकित्सक

काठमाडौं- पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुनैपनि नयाँ संक्रमण फेला नपरेको बताए। यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट परिचालान हुने गरी उक्त प्रदेशको अस्पतालहरुमा खटाउने गरी पठाइएको बताए। उनले चिकित्सकहरु आजै हवाइजहाज मार्फत धनगढी पुगिसकेको बताए। उनले एक महिनाको अवधिका लागि पठाइएको र आवश्यकता अनुरुप समय थप हने बताए। सूदुरपश्चिम पद्रदेशमा भारतबाट आउने नेपालीहरुको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरु पठाइएको उनले बताए।  यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको जानकारी दिए। यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताए।

यसबाहेक सरकारले गत साता ५/५ हजारका दरले र्‍यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवस्यकता अनुसार थप ३० हजार भन्दा बढी किटहरु पठाइएको बताए। यससँगै करिब ७० हजारको संख्यामा र्‍यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए। यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरु सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनले बताए। यस्तै केहीको परीक्षणको क्रममा नै रहेको जानकारी दिए।

अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ। र्‍यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परीक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ। कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ। प्रवक्ता देवकोटाले अहिले सम्म दुईवटा जिल्ला र डोल्पामा र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था नभएको बताए। उनले बाँकी ७५ वटै जिल्लामा परीक्षणको व्यवस्था भएको जानकारी दिए। अहिलेसम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको उनले जानकारी दिए।

यस्तै उदयपुर र चितवनमा गरिएको पीसीआर परीक्षणमा केही व्यक्तिहरुमा संक्रमण देखिएको समाचार आइरहेको विषयमा भने स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा कुनैपनि जानकारी गराएको छैन्।

प्रकाशित: ५ वैशाख २०७७ १२:१४ शुक्रबार

कोरोना_भाइरस कोभिड_१९ चिकित्सक सुदुरपश्चिम