६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चन्दननाथमा एक करोडको राहत कोष

जुम्ला – जिल्लाको चन्दननाथ नगरपालिकाले  कोरोना भाइरस (कोभिड – १९) को नियन्त्रण तथा रोकथामका लागि एक करोडको राहत कोष खडा गरेको छ। नगरकार्यपालिका बैठकले नगरपालिकामा विनियोजित विभिन्न शिर्षकको बजेट रकमान्तर गरेर राहतकोष खडा गरेको हो। कोषमा जनप्रतिनिधिको दुइ पटकको बैठक भत्ता र कर्मचारीको दुइ दिनको तलब जम्मा हुनेछ। 

चन्दननाथ नगरपालिकाका प्रवक्ता अर्जुनसिंह कठायतले चालू आर्थिक वर्षको लक्षित वर्गको २७ लाख, समपुरक कोषको ६० लाख र अन्य श्रोतको १३ लाख गरी एक करोड को राहतकोष खडा गर्ने निर्णय गरेको जानकारी दिए। 
  राहत कोषमा नगर स्थित विभिन्न उद्योगी ,व्यापारी र पेसा व्यवसायीहरूलाई रकम जम्मा गर्न आग्रह गरिएको उनले बताए। बैठकले उपाध्यक्ष अप्सरादेवी न्यौपानेको नेतृत्वमा सात सदस्यीय राहत सामग्री खरिद समिति गठन गरेको हो । 

प्रवक्ता कठायतले भने,‘ नगरबासीलाइ कोरानाको संक्रमण पुष्टी भए सम्बन्धित वडाको सिफारिसमा संक्रमितको सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने छ।  त्यो भन्दा पहिले कोराना भाइरसको संक्रमण हुन नदिनको लागि अधिकमत प्रयास हुनेछ।’ खरिद समितिलाइ राहत सामाग्रीको छनौट तथा खरिद गरि वितरण गर्ने जिम्मेवारी बैठकले दिइएको छ। 

कोभिड १९ रोकथामका लागि चन्दननाथ नगरपालिकाले एक सय बेडको क्वारेन्टाइन बनाइसकेको छ। नगरभित्रका बस्तिहरुमा किटनासक औषधि छर्ने काम गरिएको र लकडाउनको पालना गराउन र राहत वितरणको तयारीमा नगरपरिवार लागिरहेको मेयर कान्तिका सेजुवालले बताइन्। उनले भनिन्,‘ कोराना भाइरसको संक्रमण हुन नदिन नगरले उच्च सतर्कता अपनाएको छ।’

उनले कोराना बिरुद्ध नगरपालिकाले चालेको हरेक अभियानमा साथ दिन नगरबासीलाइ आग्रह गरिन् । राहत कोषमा संकलित रकमको पारदर्शिता बारे खरिद समिति जवाफदेही हुनु पर्ने जानकारहरु बताउँछन्। 

 

प्रकाशित: २४ चैत्र २०७६ ०५:३३ सोमबार

कोभिड_–_१९ राहत_कोष जुम्ला