१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको संक्रमण देखिए ५० हजार उपचार खर्च दिने नलगाडको निर्णय

नलगाड नगरपालिकाको एक सूचना ।

जाजरकोट- यहाँको एक नगरपालिकाले आफ्ना कुनै पनि नागरिकलाई कोरोनाको संक्रमण देखिए उपचारमा सहयोग गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। जिल्लाको नलगाड नगरपालिकाले  कोरोनाको संक्रमण रोक्ने अभियान शसक्त बनाउन २१ लाख रकमको विपद् व्यवस्थापन कोष खडा गर्दै सोही कोषको रकमले कोरोनाको संक्रमण भएका विरामीलाई उपचार खर्च सहयोग गर्ने निर्णय गरेको हो।

कोरोनाको संक्रमण भएका कोहि पनि जनताले आफ्नो सरकार भएको अनुभुती गरुन् भन्ने हेतुले आफूहरुले उनीहरुको उपचारमा सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख टेकवहादुर रावलले बताए। त्यसै गरि कुनै पनि नागरिकको कोरोनाका कारण मृत्यु भएमा मृतकका परिवारलाई  राहत स्वरुप  जनही ५ लाख नगद दिने समेत निर्णय गरिएको नगर प्रमुख रावलले बताए। विश्वभर फैलिएको कोरोनाको संक्रमण रोक्नका लागि विभिन्न पूर्व तयारी अपनाउने क्रममा  नगरपालिकाले जनचेतना फैलाउने, जिल्लाबाहिर र देशबाहिरबाट आएकाहरुमाथि कडा निगरानी गर्ने, नगर प्रवेश गर्नेहरुको प्रभावकारी ढंगले स्वास्थ्य जाँच गर्ने, सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गराउने लगाएतका विभिन्न गतिविधिहरुलाई आफूहरुले निकै कडाइका साथ लागू गरेको नगरप्रमुख रावलले जानकारी दिए।

उनले कोरोनाविरुद्धको आफूहरुको अभियानलाई शसक्त र प्रभावकारी वनाउन नगरभित्रका १५ वटै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुलाई पूरा समय तैनाथ गरिएको र उनीहरुलाई मासिक ३ हजार थप भत्ताको व्यवस्था गरिएको, तथा नगरभित्रका बस्तीहरुमा सुरक्षा दिने लगाएत  लकडाउन कायम गराउने काममा परिचालन गरिएका प्रहरी लगाएतका सुरक्षाकर्मीहरुलाई दैनिक दुई सय ५० रुपैयाँ खाजा भत्ता दिने निर्णय गरिएको पनि बताए। नगरभित्रका सबै स्वास्थ्य संस्थाहरुमा औषधि तथा स्वास्थ्यकर्मीहरुको लागि पीपीईको व्यवस्था गर्ने, जिल्लाबाहिर र देशबाहिरबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा राख्ने उनीहरुको निरन्तर निगरानी गर्ने काम समेत गरिएको उनको भनाइ छ।

मुलुक लकडाउन भएको बेला अन्य विरामले सिकिस्त भएकाहरुलाई समेत आफूहरुले जिल्ला सदरमुकाम र अन्य क्षेत्रका अस्पतालहरुमा पठाउने काम गरेको प्रमुख रावलले जानकारी दिए। यस्तै नगरपालिकाभित्र कोरोनाको संक्रमण रोक्न तथा लकडाउन अवधिमा घरभित्रै बसेर दैनिक कामकाज गर्न नपाएका सर्वसाधारणहरुलाई राहत दिनका लागि घरधनीहरुलाई एक महिनाको घरभाडा छुट गर्न आग्रह गरिएको नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए। उनले कोरोना विरोधी अभियानलाई तीव्रता दिने क्रममा नगरपालिकाका १३ वटै वडाहरुमा जनप्रतिनिधिहरुको नेतृत्वमा सहयोग समितिहरु निर्माण तथा परिचालन गर्दै आफूहरुले जनताको सुरक्षा राहत र सहयोगका सबै उपायाहरु अवलम्बन गरेको बताए। उनले  नगरपालिकाभित्र ६ वटा सुरक्षित तथा व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको र कोहि कोरोना संक्रमित भेटिए तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको बताए।

नगरपालिकाभित्र भारत लगाएतका अन्य देशबाट अहिले सम्म ३ जना आएको र उनीहरुलाई कडा निगरानकिा बीच होम क्वारेन्टाइनमा बस्न लगाइएको र देशभित्रकै विभिन्न जिल्लाबाट आएकाहरुलाई पनि निगरानीमै राखिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिंहले बताए। कोरोनाको संक्रमण रोक्नका लागि आफूहरुले गर्नुपर्ने सबै तयारी गरिएको नगरपालिका श्रोतले जनाएको छ।
 

प्रकाशित: १९ चैत्र २०७६ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App