२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पाँचथरमा विदेशबाट आएकाहरु अझै क्वारेन्टाइन बाहिर

याङ्वरक गाउँपालिकाको थुर्पमा रहेको क्वारेनटाइन । तस्बिर : गिरिराज/नागरिक

पाँचथर– चैत १ गतेदेखि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय भए पनि सबै क्वारेन्टाइनमा बसिसकेका छैनन्। स्थानीय प्रशासन तथा स्थानीय तहहरुको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा ल्याएर राख्ने व्यवस्था मिलाई रहेको छ। विदेशबाट फर्किएका १ सय ४३ जनाको तथ्याङक जिल्लामा संकलन भएको छ। यी मध्ये हाल ५५ जना मात्र क्वारेन्टाइनमा छन्।

खुला सिमानाको दुरुपयोग गर्दै लुकिछिपि ओहोर दोहोर गर्न सक्ने आशंका गरीएको छ। जिल्लामा ४५ किलोमिटर भारतसँगको खुला सिमाना रहेको छ।

द्रुत लेखाजोखा समिति पाँचथरले दिएको जानकारी अनुसार ३१ जना होम क्वारेनटाइनमा राखिएको छ। लकडाउनलाई कडा कार्यान्वयन र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने कामलाई प्राथकिता दिईएको छ। यी काममा प्रहरीको बढि सक्रियता देखिन्छ। अहिलेको प्राथमिकता विदेशबाट आएकालाई निश्चित समय क्वारेनटाइनमा राख्ने र लकडाउलनाई पूर्ण रुपमा कार्यान्वयन गर्ने रहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेले जानकारी दिए।

क्वारेनटाइनमा राखिएका एक जना घर फर्किएका छन्। मोरङको टाडीमा चार जनालाई क्वारेनटाइनमा राखिएको छ। जिल्लामा २ सय ८ जना अट्ने क्वारेनटाइन बनाइएको छ। आठैवटा स्थानीय तहमा क्वारेनटाइन रहेको छ। जिल्ला अस्पताल पाँचथरमा तीन जनालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ। जिल्लामा ८ वडा आइसोलेसन बेड बनाइएको छ। सचेतजना जगाउने र तत्काल रेस्पोन्स दिने गरी तयारी भएको सरकारी निकायको दाबी छ।

विदेशबाट फर्किएकालाई क्वारेनटाइनमा ल्याउनु, लकडाउन लागू गराउनु र सचेतना जगाउनु प्रमुख प्राथमिकता रहेको बताउँछन्, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु सापकोटा। क्वारेन्टाइनमा राख्न बाँकी रहेकालाई जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा तत्काल क्वारेन्टाइनमा राखिने उनले बताए। चैत १ गते यता विदेशबाट आएका ४७ जना पुरुष र ८ जना महिला क्वारेनटाइनमा रहेको जानकारी दिइएको छ। क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य समस्या नभएको बताइएको छ।
 

 

प्रकाशित: १९ चैत्र २०७६ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App