२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अन्तुका होम–स्टेले पाहुनालाई बास नदिने

इलामको पर्यटकीय श्रीअन्तुस्थित अन्तुपोखरी नजिकै रहेको कटेज ।तस्बिर : भीम/नागरिक

इलाम- विश्वका लागि चुनौतीका रूपमा देखिएको कोरोना भाइरसको जोखिम बढेपछि जिल्लामा सञ्चालित होम–स्टेले अब घरमा पाहुना नराख्ने भएका छन्। भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम हुनसक्ने भन्दै जिल्लाको मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होम–स्टे, कटेज र होटलमा आइतबारदेखि कुनै पनि बुकिङ नलिने घोषणा गरेका हुन्।

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बनिरहेका बेला अन्तु क्षेत्रमा अझै पर्यटकको चहलपहल भइरहेको छ। यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका लागि आफूहरूले सेवा दिन नसक्ने घोषणा गरेको होटल–कटेज व्यवसायी संघका सचिव रुद्र घिमिरेले बताए। श्रीअन्तुडाँडा सामुदायिक होम–स्टे र होटल/कटेज व्यवसायी संघ आबद्ध सबै व्यवसायीले अब आएका पाहुनाको बुकिङ नलिने उनले जनाए। ‘आज (आइतबार)देखि हामी कोही पाहुनाको बुकिङ लिँदैनौं, कोही आइहाले उसले पनि बास पाउँदैन,’ घिमिरेले भने, ‘हामीले आफूसहित सबैको स्वास्थ्य सुरक्षाका लागि आफ्नो व्यवसाय नै केही समयलाई स्थगित गरेका हौं।’

आफूहरूले अब पाहुनालाई केही समयका लागि सेवा दिन नसक्ने सूचना प्रहरी, यातायात व्यवसायी, ट्राभल एजेन्सी लगायतमार्फत् पनि गरिसकेको व्यवसायीले बताएका छन्। ‘बुकिङ त हामी लिनेछैनौं नै, थाहै नपाएर कोही आइहाल्यो भने पनि उसलाई खाने–बस्ने सेवा अहिलेलाई दिन नसक्ने नै हाम्रो निर्णय भएको छ,’ उनले भने, ‘हामीले गरेको व्यवहारले पर्यटकलाई असर त पर्ला तर महामारीका बेला नागरिकलाई जोगाउने दायित्व हामी सबैको हो।’

सरकारले कोरोनाको जोखिम कम गर्न कुनै पनि क्षेत्रमा भिडभाड हुन नदिने निर्देशन गरिसकेकाले सरकारी निर्णय कार्यान्वयन गरेको घिमिरेले बताए। ‘हामीले सरकारको निर्णय कार्यान्वयन गर्दा आफ्नो पनि सुरक्षा हुन्छ,’ उनले भने, ‘महामारीको बेलामा कसले के सहयोग गर्न सकिन्छ, त्यो गर्नुपर्छ। सबैको सहयोगले मात्रै महामारीको जोखिमबाट बच्न सकिन्छ।’ अन्तु क्षेत्रमा मात्रै ६३ घरमा होम–स्टे र २७ होटल÷कटेज छन्।

पर्यटन आउने मुख्य सिजन (चैत–वैशाख)मै कोरोना भाइरसको त्रास भएपछि पर्यटक आगमन ठप्प हुँदा अन्तुडाँडा क्षेत्रमा दैनिक लाखौं रुपैयाँको आम्दानी गुमिरहेको छ। चैत–वैशाख र असोज–कात्तिकमा अन्तु क्षेत्रका होम–स्टेमा दिनहुँ हजारौं पर्यटक आएर बास बस्ने गर्थे। अहिले पर्यटक नआउँदा यातायात व्यवसायी, तरकारी उत्पादक किसान, मासु व्यवसायीलगायतलाई समेत प्रत्यक्ष असर पुगेको सूर्याेदय उद्योग वाणिज्य संघले जनाएको छ। भारतीय सीमा क्षेत्रसँग जोडिएकाले अन्तु, समालबुङलगायत क्षेत्रमा आन्तरिकसहित भारत पश्चिम बंगालका पर्यटकको सधैं भिड लाग्ने गर्छ।

‘पर्यटकीय नगरी’ घोषणा भइसकेको सूर्याेदय नगरपालिकास्थित सूर्याेदय होटल व्यवसायी संघले सुरक्षित तवरले सेवा दिन व्यवसायीलाई आग्रह गरेको छ। संघले आइतबार विज्ञप्ती जारी गर्दै सरसफाइमा ध्यान दिन र सुरक्षित रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको हो। सूर्याेदय नगरपालिकामा चर्चित पर्यटकीयस्थलहरू कन्याम, अन्तुडाँडा, फिक्कल, पाथीभरा र भारतीय सीमा नाका पशुपतिनगर पनि पर्छ।

सीमामा दर्जनौं खुला नाका रहेकाले पनि त्यहाँ हुने आउ–जाउले कोरोना भाइरसको जोखिम बढाएको व्यवसायीले ठहर गरेका छन्। नगरपालिकाले पशुपतिनगर नाकामा भने हेल्प डेस्क राखी आउ–जाउ गर्ने व्यक्तिको तापक्रम जाँच गरिरहेको छ।

 

प्रकाशित: ९ चैत्र २०७६ ०९:४५ आइतबार

काेभिड_१९ काेराेना होम–स्टे