काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाईरस संक्रमणको विषयलाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको जनाएको छ। अस्पतालले सामाजिक सञ्जालमा फैलाइएका सन्देश झुटो भएको स्पष्टिकरण दिँदै खण्डन गरेको हो।
शनिबार विज्ञाप्ती जारी गर्दै फेसबुक लगायत समाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड-१९ का विरामी भेटिएको भनेर भ्रामक सूचना प्रेषित भएको भन्दै अस्पतालले ध्यानाकर्षण गरेको छ।
विज्ञप्तिमा लेखिएको छ, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि बरामी पत्ता लागेका छैनन्। यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्दछ।’
अस्पतालले विश्व समुदायको नै चुनौति बनेको कोरोना भाईरसको संक्रमण भित्रन नदिने राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपूर्ण भएको भन्दै भ्रम फैलाउनेलाई कारवाहीको माग समेत गरेको छ।
अस्पतालका नायव महाप्रबन्धक एवं प्रवक्ता आर पी मैनालीले अस्पतालमा कोरोना संक्रमणको जोखिमबाट बच्च र बचाउनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको जानकारी दिए।
प्रकाशित: ८ चैत्र २०७६ ०८:३८ शनिबार