२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सुरक्षा निकायबाट स्वास्थ्य परीक्षण, भारतीय बालिका सीमाबाट फिर्ता

नेपाल आउनु पूर्व सीमामा तापक्रम मापन गराउदै सर्वसाधरण ।

भैरहवा- कोरोना भाइरसको जोखिम देखिएसंगै न्यूनीकरणका लागि बेलहिया नाकाबाट नेपाल र भारतका दुई देशीय बस सेवा स्थगन गरिएको छ। सरकारले नेपालको एक दर्जन भन्दा बढी गन्तव्यबाट भारतका विभिन्न शहरमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आए पनि बेलहिया नाकाबाट निर्वाध रुपमा बस सञ्चालन भइरहेको थियो। शुक्रबार यातायात व्यवस्था विभागबाट बस सञ्चालनमा रोक लगाउन निर्देशन आएपछि सीमाबाट कुनै पनि दुई देशीय बस आवतजावत भएको छैन नेपाल भारत बस सेवाका बेलहिया इन्चार्ज रमेश थापाले बताए। बसहरु फिर्ता भएपछि बस सञ्चालन पूर्ण रुपमा ठप्प छ।

यस्तै, सुरक्षा निकायका प्रतिनिधिहरुले नै बेलहिया–सुनौली नाकामा स्वास्थ्य परीक्षण गरिरहेका छन्। स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्रिने नेपालकै दोस्रो ठूलोे भन्सार नाका रुपन्देहीको यस नाकामा सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरु नै दशगजा क्षेत्रमा खटिइ नेपाल आउने नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका हुन्।

माघ १६ गतेदेखि बेलहियामा सिद्धार्थनगर नगरपालिकाको संयोजन जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय, स्थानीय लगायतको समन्वयमा हेल्थ डेस्क स्थापना गरिए पनि प्रयाप्त रुपमा स्वास्थ्यकर्मी र जनशक्ति नभएपछि सर्वसाधरणहरुको स्वास्थ्य परीक्षणका लागि सुरक्षा निकायका प्रतिनिधिहरुनै खट्नु परेको छ। दैनिक १० हजार भन्दा बढि नागरिकको आगमन भइरहेको बेलहिया नाकामा नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा एक सिफ्टमा ३–४ जना तल्लो तहका स्वास्थ्यकर्मीहरु खटिएका छन्। डब्लु एच ओको प्रटोकाल अनुसार स्वास्थ्यकर्मी आफू पूर्ण रुपमा सुरक्षीत भएर सेवा दिइरहेको सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमा थापाले दाबी गरिन्। 'अहिले हेल्थ डेस्कमा ३ सिफटमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि मास्क र स्यानिटाइजर आवश्यकता अनुसार उपलब्ध छ' थापाले भनिन्।

सुरक्षा निकायका प्रमुखहरुले भने सीमामा स्वास्थ्यकर्मीहरु भए पनि उनीहरु पन्छिदा सुरक्षाकर्मी नै परिचालन गर्न परेको छ। पर्याप्त रुपमा स्वास्थ्यकर्मी नभएकोले कोरोना भाइरस रोकथामका लागि शुक्रबारदेखि सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ। श्री नम्बर २२ बाहिनी अड्डा अन्र्तगत श्री गरुणदल गण रामनगर ब्यारेक बुटवलबाट दुई जना सेनाका स्वास्थ्यकर्मी डेस्कमा खटिएका छन् भने सशस्त्र प्रहरीको ३८ नम्बर गुल्म डन्डा भैरहवाबाट पनि दैनिक ३–४ जना परिचालन गरिएको छ।

नेपाल आउन लागेका सर्वसाधरणहरुको स्वास्थ परीक्षणमा सघाइरहेका छन्। भारतमा एमबीबीएस तहका चिकित्सकसहित थर्मल स्कयानरबाट सोही ठाउँमा भारत प्रवेश गर्नेको जाँच भए पनि नेपालतर्फ खासै व्यवस्थापन भएको देखिदैन। डेस्कमा स्थानीय सर्वसाधरण, गाउँ समाज र स्थानीय क्लबका सदस्यहरु पनि आलोपालो गरी खटिए पनि दक्ष प्रविधीक र स्वास्थ्य उपकरणहरुको कमी रहेको छ।

पूर्ण रुपमा जोखिम मोलेर नै स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ, भाइरसबाट बच्न सुरक्षासहितको पोशाक उपलब्ध छैन खटिएका एक प्रतिनिधिले भने। ‘डेस्कमा सहयोग गर्नका लागि निर्देशन आएपछि जवानहरु खटाएका छौँ’ सशस्त्र प्रहरी नेपाल नम्बर ३८ गुल्म राजश्व तथा भन्सार सुरक्षा गस्ती रुपन्देही डण्डाका प्रमुख डिएसपी मानबहादुर शाहीले भने, ‘स्वास्थ्य सुरक्षा कवचको रुपमा सामग्री आएको छैन, तर पनि जोखिम मोलेर जवानहरु खटिएका छन्।’

‘प्रदेश सरकारले आश्वासन मात्र दिइरहेको छ, डेस्कमा साम्रगी र जनशक्ति आवश्यक छ तर उसले अहिले सम्म मास्क समेत उपलब्ध गराएको छैन’ डेस्कमा खटिएका स्थानीय रमेश थापाले भने, ‘हामी आफै साथीभाईले रकम संकलन गरेर स्यानीटाइजर देखि अन्य सामग्रीहरु खरिद गरेर काम चलाइरहेका छौँ।’
‘डेस्कको ब्यानरमा सहयोगी स्वरुपमा थुप्रै सरकारी कार्यालय र अस्पतालहरुको नाम छ तर यहाँ सुरक्षाकर्मी र केही स्वास्थ्यकर्मी बाहेक कसैले सहयोग गरेको छैन’ स्थानीय थापाले भने।

बालिकालाई फिर्ता पठाइयो
सीमामा राखिएको हेल्थ डेस्कबाट भारतकी एक बालिकालाई फिर्ता पठाइएको छ। गोरखपुरबाट परिवारसहित आएकी बालिकामा ज्वरा देखिएपछि नेपाल र भारतको दुवै डेस्कमा स्वास्थ्य परीक्षण गरे पश्चात उनलाई घर फकाइएको हो। उक्त बालिका शरीरको उच्च तापक्रमलाई कोरोनाको लक्षणको रुपमा लिएकोले परिवारको अन्य सदस्यसहित फिर्ता गएकी हुन्। बालिकामा ज्वरो देखिएपनि अन्य सदस्यको अवस्था भने सामान्य थियो, बालिकालाई प्रवेश अनुमति दिन नसक्दा परिवारसहितको टोली भारत फिर्ता गएको हेल्थ डेस्कले जानकारी दिएको छ।

 

प्रकाशित: ८ चैत्र २०७६ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App