११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

फोक्सोमा एडिनोकार्सिनोमा बढिरहेको छ

फोक्सोमा कुन तत्वको असर पर्दा क्यान्सर हुन्छ ? अहिले फोक्सोमा के कारणले क्यान्सर बढिरहेको छ ? प्रस्तुत छ, नागरिक दैनिककी पवित्रा सुनारले नेशनल क्यान्सर अस्पतालका फोक्सो क्यान्सर प्रमुख डा.एम.के. पियासितको कुराकानी।

चिकित्सा सेवामा कति वर्ष विताउनु भयो ?
– सन् १९७३ मा एमविविएस उत्र्तिण गरिसकेको थिएँ। यो हिसावले पचास वर्ष पुग्न लाग्यो।

अध्ययन कहाँ कहाँ गर्नु भयो ?
–म बन्दीपुरमा जन्मेको कारण  स्कुल तहको पढाइ त्यही गरें। प्रमाणपत्र विज्ञान विषय लिएर त्रिचन्द्र कलेजमा प्रमाणपत्र तह उत्र्तिण गरें। त्यसपछि पछि बंगलादेशवाट सन्  १९७३ मा एमविविएस तहको उत्र्तिण गरें। त्यसपछि शान्तभवनमा काम गरें। १९७८ मा लण्डनमा स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिकल कलेजटवाट अध्ययन गरें। सन् १९८२ मा चेष्टमा डिप्लोमा गरें। पढाइ सकेर नेपाल फर्केपछि क्यान्सरको अध्ययनमा रुचि बढ्यो। त्यही वेला नेपाल १९९० मा युनिभर्सिटी अफ क्लोराडो हेल्थ साइन्समा एक वर्ष फेलोसिप गरें। पछि सेमिनारमा भाग लिदैं फोक्सोको रोग तथा क्यान्सरको उपचारमा छु। पुरानो शान्त भवन, भक्तपुर क्यान्सर केयर सेन्टर,काठमाडौं नर्सिङ होम हुँदै आएँ।

सरकारी सेवामा किन लाग्नु भएन ?
–त्यति बेला डाक्टरी पढेर आउँदा सवैलाई थाहा हुन्थ्यो,सरकारले पनि चिन्यो। मलाई अरुले लोकसेवा दिएर आइज पनि भने,सरकारले पनि खोजेको थियो। तर मेरो स्वभाव स्वतन्त्र टाइपको थिएँ। सरकारले खोजेको थियो,ततकालिन स्वास्थ्यमन्त्री पदम सुन्दर लावतीले खोजेका थिए म गइन।

बढी सेवा कुन अस्पतालमा दिनु भयो ?
–पाटन अस्पतालमा सात वर्ष वित्यो,त्यसपछि म वीचमा सामाजिक काममा लागें। बिशेष गरी वन्दीपुरको विकासमा योगदान दिन थालें। म अध्यक्ष हुँदा काम ग-यौं।अहिले पाटनको १४ वडामा हाम्रो सामाजिक काम केन्द्रित छ।

चिकित्सा शिक्षा छात्रबृत्तिमा कि निजी खर्चमा ?
–मेरो पारिवारिक पृष्ठभूमिम व्यापारी  थियो। मलाई मेरो परिवारले निजीमा खर्चमा पढ्न विदेश गएको थिएँ।

डाक्टर छाति तथा फोक्सोको क्यान्सर रोग विशेषज्ञ हुनु हुन्छ,क्यान्सर भनेको के हो ?
–नियमित प्रक्रियामा बनिरहेको सेल(कोष) अनियन्त्रित हुनु अर्थात् नचाहिने कोषको बृद्धि हुनुलाई क्यान्सर भनिन्छ। शरिर आफ्नो अनुशासनमा चलेको हुन्छ। जस्तो ‘क’ भन्ने कोषले ‘क’कोष नै निकालिरहेको हुन्छ। तर बृद्धि हुने क्रममा कारक तत्वहरुले कोष नष्ट गरेमा नष्ट भएको तत्वहरु मा कोष बन्छ। यसको अर्थ जुन अंगमा कोष नष्ट हुन्छ त्यही भागमा क्यान्सरको उत्पत्ति हुन्छ। यो हुनु भनेको कोष नियन्त्रण बाहिर जाने अवस्था हो।

फोक्सोको क्यान्सर कसरी हुन्छ ?
–हुने तरिका यही हो। फोक्सोको कुनै पनि भागको कोष नष्ट भएर नियमितता बिग्रियो भने फोक्सोमा क्यान्सर हुन्छ।

फोक्सोमा क्यान्सर हुनुको कारण के हो ?
–फोक्सोमा क्यान्सर हुनुको ९० प्रतिशत कारण चुरोट हो। त्यसपछि १० प्रतिशत कारणमा प्रदुषण,औधोगिक प्रदुषण,सवारी साधनवाट निस्कने प्रदुषण,रेडियशन,एक्सरे,युरेनियम कारखानामा काम गर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुन्छ। एचवेस्टर (आगो निरोधक)को कणमा सम्पर्क हुँदा पनि क्यान्सर हुन्छ।

फोक्सोको क्यान्सर हुने परम्परागत कारणमा परिवर्तन आएको सुनिन्छ,यथार्थ के हो ?
–फोक्सोको प्रकारमा फरक आएको छ। फोक्सोको क्यान्सरमा कमी आएको छैन। नेपालमा कुन क्यान्सर बढेको छ भन्ने सरकारी तथ्याकं छैन। हाम्रो हिसावले नेपालमा फोक्सो,पाठेघरको क्यान्सर एक नम्वरमा छन्।

पहिला चुरोट पिउनेमा फोक्सोको क्यान्सर बढी हुन्थ्यो,अहिले चुरोट नपिउनेमा पनि क्यान्सर छ भन्ने सुनिन्छ नि ?
– क्यान्सरको प्रकारमा फरक आएको छ। विशेष  गरी नेपालमा ३ प्रकारका क्यान्सर बढी देखिन्छ। एउटा स्मल सेल क्यान्सर यो सवै भन्दा खतरनाक क्यान्सर हो। अर्कोमा स्क्वामश सेल क्यान्सर  यो तीन महिनामा दोब्बर हुन्छ र अर्को एडिनोकार्सिनोमा,यो साढे पाँच महिनामा दोब्बर हुन्छ।अहिले विश्व र नेपालमा पनि  एडिनोकार्सिनोमा बढिरहेको छ। एडिनोमोकार्सिनोमा बढ्नुको कारण मानिसहरुको प्यासिभ स्मोकिङ (द्धितिय धुमपानकर्ता) पनि हो। पहिलो कुरा त मानिसहरु फिल्टर चुरोट पिउन थाले।

 पहिलेका मानिसले कडा चुरोट प्रयोग गर्थे। यस्तो चुरोटले एक सर्कोमै तलतल मेटिन्थ्यो। त्यो कारण एक पटक पिएपछि छोडिदिन्थे।। तर  फिल्टर चुरोट पिउनेहरुले गहिरो गरी तानेमा मात्र यसको इच्छा पुर्ति हुन्छ। यही कारण मानिसहरु गहिरोसंग तान्छन्। यसरी तान्ने क्रममा यसको  असर फोक्सोसम्म पुग्छ। जसको कारण एडिनोकार्सिनोाम हुन्छ। यो प्रकारको क्यान्सर फोक्सोको जुन भागमा धुमपानको दवाव परेको छ। त्यही भागमा हुन्छ। अर्थात् फोक्सोको एउटा कुनावाट सुरु हुन्छ। यो कारण प्यासिभ स्मोकरहरुमा एडिनोाकर्सिनोमा क्यान्सर  बढेको छ।

धुमपान बिरुद्ध व्यापक कार्यक्रम हुँदा पनि धुमपान प्रयोगकर्ता घटका छैनन् ?
–राष्ट्रिय तथ्यांक हेर्नु पर्छ। तर पछिल्लो समय पुरुष भन्दा महिलामा चुरोट खाने प्रबृत्ति बढिरहेको छ। अमेरिकामा हेर्ने हो भने पुरुष धुमपान प्रयोगकर्ता घटेका छन्। महिलाहरु बढेका छन्। शायद हामी कहाँ पनि त्यही प्रबृत्ति हुन्छ।

नेपालमा एडिनोकार्सिनोमा क्यान्सर बढ्नुमा वातवरणको पनि हात छ कि ?
–प्रदुषणको पनि हात हुन्छ। नेपाल बिशेष गरी राजधानीमा उच्च तहको प्रदुषण छ। मेलम्ची तथा सडक विस्तारको नाममा धुलो खायौं। यसको असर हेर्न १०÷१५ वर्षपछि देखिन्छ। त्यो कुर्नु पर्छ।

फोक्सोको क्यान्सरको  लक्षण के के हुन् ?
–रुखमा माथि केही भयो भने देख्नु हुन्न। जाउलाखेलको वाटोमा गइरहेका छौं। ट्राफिक जाम भएको छ। एडिनोमा कार्सिनोमा साइडमा हुन्छ। मुख्य तल–तल हुन्छ। त्यो टाइपको क्यान्सर ढिलो थाहा हुन्छ। मुख्यतया फोक्सोको क्यान्सरमा खोकी हुन्छ, एक्कासी स्वर बिग्रिनु , फोक्सोमा पानी भरिनु, छाति दुख्नु। ज्वरो आउने,पसिना आउने,अन्यतिर क्यान्सर फैलिएमा बिरामी बेहोस हुने,पेटमा पानी भरिने,कलेजो सुन्निने,निको नहुने खोकी भएमा फोक्सोको क्यान्सर हुन्। हड्डी दुख्ने।

सडक छेउमा बस्नेहरु तर धुमपान सेवन नगर्नेहरुमा पनि क्यान्सर भइरहेको सुनिन्छ ? हो ?
–उनीहरुमा हुनुको मुख्य कारण प्रदुषणको असर हुन सक्छ। यहाँको प्रदुषणमा कुन कुन तत्व छ भनेर अध्ययन हुनु आवश्यक छ। उपत्यकामा बस्नेहरुमा पनि छ। तर उल्लेख्य मात्रामा देखिंदैन र विस्तृत रुपमा अध्ययन गरेका छैनौं। तर काठमाडौ उपत्यकामा एउटा मैले नै गरेको अध्ययनमा सवै भन्दा बढी नेवार जातिमा बढी फोक्सोको क्यान्सर देखियो। शायद काठमाडौंमा नेवारको जनसंख्या बढी भएर हुन सक्छ। नेवारपछि क्षेत्री,क्षेत्रीपछि जनजाति र त्यसपछि वाहुन जातिमा बढी देखिन्छ। यो अध्ययन अस्पतालमा आधारित पाँच सात वर्ष अघिको हो।

नेपालमा क्यान्सर रोगीको संख्या कति  छ ?
–विश्व स्वास्थ्यको तथ्याकं अनुसार प्रति वर्ष नेपालमा ३० हजारमा फोक्सोको क्यान्सर हुन्छ। अर्को तथ्याकं अनुसार प्रतिवर्ष ५० हजारमा जनामा हुन्छ भन्ने पनि छ।

फोक्सोको क्यान्सर भयो भने फोक्सो नै प्रत्यारोपण गर्न मिल्छ भनिन्छ,नेपालमा यो सम्भव छ ?
–नेपालमा पहिलो कुरा त नेपालमा १ प्रतिशत मात्र शल्यक्रिया गर्ने अवस्थाका आउँछन्। ९९ प्रतिशत चाहिं शल्यक्रिया गर्न नमिल्ने चरणका आउँछन्। त्यस कारण धेरैको फोक्सोको शल्यक्रिया गर्न मिल्दैन। फोक्सो नै फेर्न मिल्ने उपचार चाहिं छैन। अमेरिकामा जन्मजात फोक्सोमा हुने रोग सिस्टिक फाइव्रोसिस त्यसमा पनि फोक्सो प्रत्यारोपण गर्छन्।  क्यान्सरको खोकी लागेकाहरु झुक्किएर ढिला आउँछन्।

यसरी ढिला आउनेहरु को को पर्छ न त ?
–धेरै मानिसहरु चुरोटले खोकी लागेको हो भनेर झुक्किरहन्छन् र ढिला आउँछन्। अर्को चाहिं फोक्सोको क्यान्सरले सुरुमा लक्षण नै देखाउँदैन। एकैपटक केही गम्भिर समस्या भएर उपचारमा आउँदा क्यान्सर फैलिसकेको हुन्छ। ढिला आउने समुहमा सवै नेपाली पर्छन्। राम्रो  पढेलेखेका समाजमा प्रतिष्ठित व्यक्तिको अवस्था पनि त्यस्तै हो। फोक्सोको क्यान्सरमा तहले पनि फरक पार्छ। पहिलो चरणको क्यान्सरमा पाँच वर्ष बाँच्ने सम्भावना ९० प्रतिशत हुन्छ। दोस्रो चरणको क्यान्सरमा पाँच  वर्ष बाँच्ने सम्भावना ६० प्रतिशतमा झर्छ। चरण ३ मा आयो भने तीसदेखि ४०  प्रतिशत हुन्छ।

उपचार पनि यस्तै रुपमा जान्छ। पहिलो र दोस्रो चरणको फोक्सोको क्यान्सरमा शल्यक्रिया गर्न सकिन्छ। तेस्रो र चौथो चरणमा चाहिं शल्यक्रिया गर्न सकिंदैन। जो अलि वलियो र राम्रो छ भने यो हिसावमा उपचार गरिन्छ। अन्तिम चरणमा पुगेको छ भने उनीहरुको प्यालियटिभ केयर गरेर राख्ने हो। यसमा पहिला किमोथेरापी दिने त्यसपछि आवश्यकता अनुसार रेडियशन दिने हो।  जो अलि वलियो राम्रो छ भने किमोथेरापी दिने हो। सुधार हुँदै गयो भने सुधार भएर जाने हो।

एक प्रतिशत जो पहिलो चरणमा उपचारमा पुग्छन् उनीहरु किन आइपुग्छन् ?
–फोक्सोको क्यान्सर हुनेमा व्रोङकाइटिश पनि हुन्छ। उनीहरु दमको समस्याले उपचारमा पुगेका हुन्छन्। जाँच गर्दै जाँदा क्यान्सर पनि भइसकेको हुन्छ।

कुनै पनि धुमपान प्रयोगकर्ता र प्रदुषित वातवरणमा हुनेले आफुलाई क्यान्सर हुँदैछ भनेर कसरी थाहा पाउने ?
–पहिलो कुरा त कुनै लक्षणको आधारमा थाहा पाउने। अर्को कुरा चाहिं धुमपान प्रयोग गरेकाहरुले वर्षमा एक पटक छातिको एक्सरे गर्ने या जोखिम समुहले सिटिसक्यान नै गर्ने। चुरोट खानेले अनिवार्य गर्नु पर्छ।

धुमपान प्रयोगकर्ता कसरी बच्ने ?
–पहिलो कुरा चुरोट छोड्नु प-यो। चुरोट छोड्यो भने दश/पन्ध्र वर्षपछि नखानेको जत्तिकै कम जोखिममा पुग्छन्। खकारमा रगत आयो,खोकी लाग्यो भने तुरुन्तै चिकित्सककोमा पुग्नु प-यो।

प्रकाशित: १८ माघ २०७६ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App