१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सुत्केरीलाई सास्ती

ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका–२ वाक्साकी सरला राई पति नयनबहादुर राईका साथमा पुसको पहिलो साता सुरक्षित प्रसूति सेवा लिन ओखलढुंगा सामुदायिक अस्पताल आइन्। साता दिन बितिसक्दा पनि प्राकृतिक रूपले बच्चा जन्मिएन। डाक्टरको सल्लाहमा शल्यक्रिया विधिबाट प्रसूति गराइयो। बच्चाको अवस्था सामान्य छ। शल्यक्रिया गरेको चार दिनपछि शनिबार सरला डिस्चार्ज भएर घर फर्किने तयारी भएकाले उनी हर्षित थिइन्। डाक्टरले पनि निको भइसकेकाले घर जाँदा हुने बताएका थिए।

उनका पति नयनबहादुर अस्पताल काउन्टरमा बिल मिलाउन गएका थिए। त्यही समयमा घाम ताप्न बाहिर निस्किएकी सरलाको शल्याक्रियापछि सिलाइएको घाउ अचानक फुट्यो। पिपसँगै दुर्गन्धित तरल पदार्थ बाहिर निस्कियो। तत्काल चिकित्सकले भित्र कोठामा लगेर घाउ सफा गरे। त्यसपछि थाहा भयो, भित्रभित्रै घाउ पाकिसकेको रहेछ। शल्यक्रिया गरेपछि धेरै दुखेको, पोलेको, पीडा भएको बताउँदा यस्तै हुन्छ भनेर डाक्टरले प्रतिक्रिया दिने गरेको पीडित सरला राईले बताइन्। सहनै नसक्ने गरी पीडा भएर डाक्टरलाई सुनाउँदा वास्ता नगरेको सरलाको भनाइ छ।

‘शल्याक्रिया गरेपछि डाक्टर एक पटक मात्र आयो,’ उनले भनिन् ‘बहिनीहरू आउँथे आफूलाई पीडा भएको सुनाउँदा उल्टै मसँग रिसाएर झर्केर कराउँथे।’ सरलाको समस्याबारे डाक्टरलाई सुनाउँदा यस्तै हुन्छ भनेर गएका डाक्टर फर्केर आएनन्। उनका पति नयनबहादुर राईले बताए। चिकित्सकको लापरबाहीले यस्तो समस्या भएको उनको बुझाइ छ।

सुरक्षित प्रसूतिका लागि ओखलढुंगा सामुदायिक अस्पतालले विगतमा कमाएको साख गुमाउँदै छ। अस्पतालमा आएका सेवाग्राहीले सेवा भन्दा बढि सास्ती भोग्न बाध्य छन्।

‘शल्यक्रिया गरेर प्रसूति गराएको दुई दिनपछि श्रीमतीको पेट अचानक फुलेको थियो,’ उनले भने, ‘डाक्टरले ग्यास्ट्रिक भएको भने। तर मलाई लाग्छ, भित्र चोट लागेको हुन सक्छ।’ चिकित्सकलाई समस्या सुनाउँदा रिसाएर झर्किने गरेको नयनबहादुरको भनाइ छ। अधिकांश ओजेटीमा रहेकाहरूले घाउको ड्रेसिङका लागि आएको राईले बताए। ओखलढुंगा सामुदायिक अस्पतालमा प्रसूति सेवा राम्रो हुन्छ भन्ने सुनेका राई दम्पतीले व्यवहारमा ठीक उल्टो पाएका छन्।

सोलुखुम्बु काकुका निरुसा राई ओखलढुंगा सामुदायिक अस्पतालमा आएको दुई महिना भयो। उनी पनि सुरक्षित प्रसूतिका लागि सोलुखुम्बुबाट ओखलढुंगा आएकी हुन्। उनको पनि शल्यक्रिया गरेको घाउ पाकेको छ। सुरुमा सोलुको फाप्लु अस्पतालले बच्चा जन्मिने मिति यकिन नगर्दा डेढ महिना अघि ओखलढुंगा सामुदायिक अस्पताल आएका राईको शल्यक्रिया गरेको १६ दिन भएको उनका पति हीरा राईले बताए। घाउ निको भएको छैन। शल्यक्रिया र टाका लगाइ नमिलेकाले यस्तो समस्या आएको अस्पतालका ठूला डाक्टरले बताएको कुरा हीरा राईले सुनाए। ‘राम्रोसँग शल्यक्रिया नभएर घाउ पाकेको रे,’ उनी भन्छन्, ‘ठूला डाक्टरले भनेको सिलाइ पनि मिलेन रे।’ ओखलढुंगा बस्दा राई दम्पतीको हजारौं खर्च भइसकेको छ। ओखलढुंगा वाक्साकी सरला र सोलुखुम्बु काकुकी निरुसा राईको अहिले उपचार भइरहेको छ।

अस्पताल प्रशासन र चिकित्सको लापरबाहीले सुत्केरी र गर्भवतीको ज्यान जोखिममा रहेको सेवाग्राहीले बताएका छन्। यी घटनाले शल्यक्रिया गरिएका बिरामी र उनीहरूका आफन्त त्रसित छन्। ‘मेरी श्रीमतीको पनि शल्यक्रिया भएको छ। के हुने हो ?’ चिन्तित हुँदै मानेभञ्ज्याङ–२ वाक्साका गोरखबहादुर खत्रीले भने, ‘यो अस्पतालमा धेरै लापरबाही हुने रहेछ।’ मानेभन्ज्याङ–७ टोक्सेल माझी गाउँका नीरबहादुर माझी पनि सोही विषयले चिन्तित देखिन्थे। ‘मेरी श्रीमतीको शल्यक्रिया गरेरै बच्चा निकालिएको हो,’ उनले भने, ‘डाक्टरले राम्रो नगर्दा रहेछन्।’

यस घटनाको विषयमा अस्पतालका निर्देशक युवराज आचार्यले आफूलाई केही जानकारी नभएको बताएका छन्। निर्देशक आचार्यले अहिले आफू जिल्लाबाहिर रहेकाले कार्यालय र सम्बन्धित कर्मचारीलाई सम्पर्क गरी घटनाका विषयमा सत्यतथ्य बुझ्ने जनाएका छन्। ‘अहिले म जिल्ला बाहिर छु। यो विषयमा कार्यालय र कर्मचारीलाई नै सम्पर्क गरेर बुझ्नुपर्ने हुन्छ,’ निर्देशक आचार्यले भने। यसका साथै ओखलढुंगा सामुदायिक अस्पतालका चिकित्सहरूले बिरामी र उनिहरूका आफन्तहरूसँग राम्रो बोलीव्यवहार नगरेको गुनासो बढिरहेको छ। यस अस्पतालमा सुरक्षित प्रसूति र प्रभावकारी स्वास्थ्य सेवा पाइन्छ भनी ओखलढुंगा र आसपासका जिल्लाका बिरामी आउँछन्।

प्रकाशित: १८ पुस २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App