१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बर्थिङ सेन्टर छ, सेवा छैन

निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको गुम्देल गाउँको बर्थिङ सेन्टर। तस्बिर : नागरिक

रामेछाप – उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा तीन महिनापहिले नै निर्माण सम्पन्न बर्थिङ सेन्टरमा अझै पनि प्रसूति सेवा सञ्चालन हुन सकेको छैन। आवश्यक स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सेवा सञ्चालनमा आउन नसकेको हो। ‘बर्थिङ सेन्टर बनेपछि गाउँमै सेवा पाइएला र प्रसूतिमा लाग्ने खर्च बच्ला भनेर पहिला खुसी हुनेहरू अहिले निरास छन्,’ स्थानीय शिक्षिका सची कार्की बस्नेतले भनिन्, ‘गाउँमा बर्थिङ सेन्टर छ, सेवा छैन भन्न पनि लाज लाग्ने स्थिति बनिसक्यो।’ ग्रामीण क्षेत्रका महिलाले अझै प्रसूतिका लागि जोखिम मोल्नुपर्ने अवस्था छ। गाउँमा बर्थिङ सेन्टर बनेको छ तर प्रायः गर्भवती सुत्केरी हुन हेलिकोप्टर चार्टर गरी बाहिर जानुपर्ने बाध्यता अझै हट्न नसकेको गुम्देलका वडाध्यक्ष नोर्बु शेर्पाले बताए। ‘गुम्देलमा कुनै घरमा कोही गर्भवती भएको जानकारी पाउनासाथ खर्चको जोहो नगर्ने हो भने महिलाको ज्यानै जोखिममा पर्ने गर्छ,’ शेर्पाले बताए। पैसा हुने र पैसाको जोहो गर्नेहरू समस्या पर्दा बाँच्न सक्छन् नत्र कतिपयले त सुत्केरी हुनै नसकेर ज्यानै गुमाउनुपरेका घटना वडामा प्रशस्तै रहेको उनको भनाइ छ।

गाउँमा एकपटक हेलिकोप्टर चार्टर गर्दा एक लाखदेखि एक लाख ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ। गाउँमा जोखिम हुने र अप्ठ्यारो परे बढी खर्च लाग्ने डरले पछिल्लो समय त धेरैजसो महिला सुत्केरी हुनुपहिले नै गाउँ छाडेर सहर पस्ने गरेको स्थानीय ङापेम्बा शेर्पाले बताए। ‘गर्भवतीको परीक्षणसमेत प्रभावकारी र विश्वसनीय नहुँदा गुम्देलका महिलाले बर्सेनी सास्ती झेल्नुपरेको छ,’ उनले भने।

गुम्देल स्वास्थ्य चौकीमा पाँचजनाको दरबन्दी भए पनि दुईजना अनमीको भरमै सेवा सञ्चालन हँुदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छिन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ।

सोलु नाम्चे निवासी बुद्धिमाया शेर्पाले आफ्ना अस्ट्रियन साथीहरूबाट संकलित ५८ लाख रुपैयाँ लागतमा बर्थिङ सेन्टर निर्माण गरिदिएकी हुन्। निर्माणका लागि नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गरेका थिए। ‘निर्माण सम्पन्न बर्थिङ सेन्टर जतिसक्दो चाँडो सञ्चालन गर्ने तयारीमा म गम्भीर बनेको छु, अबको केही समयमै सञ्चालनमा आउनेछ,’ उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए। अहिले कर्मचारी संयोजनकै मारमा स्वास्थ्य क्षेत्र पनि रहेकाले त्यही मारमा गाउँपालिका रहेकाले समस्या भएको उनले जानकारी दिए। ‘पालिकामा स्वास्थ्यकर्मी त आउँछन्, दुर्गम भनेर गुम्देल जानै मान्दैनन् र गएका पनि टिक्दैनन्,’ सुनुवारले भने, ‘अब कर्मचारीलाई तलबका साथै थप प्रोत्साहनको समेत व्यवस्था गरेर दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरिनेछ।

गुम्देल स्वास्थ्य चौकीमा पाँचजनाको दरबन्दी भए पनि दुईजना अनमीको भरमै सेवा सञ्चालन हँुदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छिन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ। सो केन्द्रमा एकजना एचए, दुईजना अहेब र दुईजना अनमीको दरबन्दी रहेको भए पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या निम्तिएको छ। गाउँको स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि पाइन्छन् तर पनि सबै औषधि गाउँलेले भन्नासाथ पाउने अवस्था नभएको करारमा कार्यरत अनमी खिनाकुमारी कार्कीले बताइन्।

प्रकाशित: १४ पुस २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App