१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर पत्ता लगाउन नसक्ने क्यान्सर अस्पताल

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। तस्बिर : गणेश/नागरिक

नेपालगन्ज - मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो। करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो। तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर रोग नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ। जनशक्ति र प्रविधि अभावका कारण उक्त अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौं र भरतपुर पठाउने गरेको हो।

सामान्य बिरामीमात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सररोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन्। अस्पतालका प्रमुख विश्वराम पौडेलले भने, ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ, तर पर्याप्त जनशक्ति छैन, त्यसकारण रोग पत्ता लगाउन सकिएको छैन।’ हाल यस अस्पतालमा दैनिक १५ देखि २० जनासम्म क्यान्सरका बिरामी आउँछन्। बाहिर चेक गराएका बिरामी यहाँ नियमित औषधि सेवन गर्न आउने अस्पतालले जनाएको छ।

सल्यानकी सम्झना बोहराको घाँटीमा सानो डल्लो छ। उक्त डल्लो क्यान्सरबाट भएको हो या होइन भन्न जाँच गर्न एक दिनको बाटो गाडी चढेर उक्त अस्पताल आइन्। तर उनको रोग पत्ता लाग्न सकेन। उनलाई यहाँका डाक्टरले काठमाडौं वा भरतपुर जान सुझाव दिए। ‘क्यान्सर अस्पताल खुल्यो भनेर उपचार लिन आएका थियौं,’ उनले भनिन्, ‘तर यहाँ त क्यान्सर नै पत्ता लाग्न सकेन।’ अब काठमाडौं वा भरतपुर जाने उनले बताइन्। उनीजस्तै पश्चिम नेपालका बासिन्दा क्यान्सर जाँचका लागि उक्त अस्पताल आउँछन् तर त्यसै फर्कन्छन्। बाँके कोहलपुरकी सीता बस्नेत पनि सामान्य चिकित्सकको सल्लाह लिएर फर्किइन्।

‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जनशक्ति छैन, त्यसकारण रोग पत्ता लगाउन सकिएको छैन।’

उक्त अस्पताल प्रस्तावित सय शैयाको हो। तर अहिले ६० जनासम्म मात्र बिरामी भर्ना गर्न सक्ने अवस्था छ। अहिले अस्पतालमा कम्तीमा दुई सय स्वास्थ्यकर्मी आवश्यक रहेको निर्देशक पौडेलले बताए। उनका अनुसार क्यान्सर रोग पत्ता लगाउन ३० जनाजति विशेषज्ञ चिकित्सक चाहिन्छ। तर अहिले यस्ता विशेषज्ञ चार जनामात्र छन्। ‘एफएलएसी र बायोप्सी विधिबाट क्यान्सर रोग पत्ता लगाउन सकिन्छ,’ निर्देशक पौडेलले भने, ‘यसका लागि पर्याप्त जनशक्ति चाहिन्छ।’ जनशक्ति अपुग भएकाले रोग नै पत्ता लगाउन नसकिएको उनको भनाइ छ। नजिकै क्यान्सरको उपचार गर्न पाइने आशामा रहेका यस क्षेत्रका सर्वसाधारण उक्त अस्पतालमा रोग नै पत्ता नलाग्ने हुँदा निराश भएका छन्।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App