१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

लालबन्दीमा दुई कुष्ठरोगी भेटिए

सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिकामा दुईजना कुष्ठरोगी फेला परेका छन्। लालबन्दी नगरपालिकाका ८ वटा वडामा खटिएको स्वास्थ्यकर्मीको टोलीले दुईजना कुष्ठरोगी फेला पारेको हो। ‘साउन २३ देखि २७ गतेसम्म ८ वटा वडाका घरघरमा कुष्ठरोगका बिरामी पहिचानगर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली खटिएका थिए’, नगरपालिकाका स्वास्थ्यशाखा संयोजक सूर्यनारायण चौधरीले भने, ‘शंकास्पद ५४ जनालाई परीक्षण गर्दा २ जनामा कुष्ठरोग देखियो। उनीहरुलाई औषधिउपचार समेत सुरु गरिसकेको छ।’

चौधरीका अनुसार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीले ६ हजार ८ सय ७१ घरधुरीका ३३ हजार ७ सय २८ जनासँग भेटघाट गरेर कुष्टरोगबारे जानकारी गराएको छ। ‘पूर्वजन्मको पापका कारण कोर निस्किएर शरीरको अंग कुहिन थालेको हो भन्ने अन्धविश्वासका कारण कुष्ठरोग लागेका बिरामीले रोग लुकाउने गरेका छन्’, उनले भने, ‘कसैले रोग देखाउने आँट गरिहाल्यो भने उक्त बिरामीलाई छुन नहुने र गाउँमै बस्न नहुनेजस्ता रुढिवादी परम्पराका कारण पनि कुष्ठरोगका बिरामी आफैं स्वास्थ्यसंस्थामा उपचारका लागि आउने गरेका छैनन्, त्यसैले घरदैलो गरिएको हो।’

संयोजक चौधरीका अनुसार यसअघिको तथ्यांकअनुसार लालबन्दी नगरपालिकाभित्र प्रति १० हजारमा २.६ जनामा कुष्ठरोग देखिएको र उक्त रोगको बढी प्रकोपयुक्त क्षेत्रमा बिरामी बढेको अनुमानसहित अभियान चलाइएको हो। नयाँ अभियानले कुष्ठरोगको प्रकोप घट्दै गएको देखाएको छ। अब केही समयपछि नगरपालिकाभित्रका बाँकी ९ वडामा समेत अभियान सञ्चालन गरिने चौधरीले जानकारी दिए।

स्वास्थ्यकर्मीका अनुसार आँखाले देख्न नसकिने सूक्ष्म जीवाणु (माइकोब्याक्टेरियम लेप्रे) को कारण हुने कुष्ठरोग सरुवा रोग हो। कुष्ठरोग संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका सर्वसाधारणलाई यो रोग श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ। कुष्ठरोग लागेमा शरीरमा नचिलाउने रातो तथा फुस्रो दाग, हातखुट्टामा नदुख्ने घाउ आउने, शरीरका विभिन्न भागमा गिर्खा देखिने, स्नायु सुन्निने र दुख्ने, हातखुट्टा झमझमाउने, स्पर्श शक्ति हराएर जानेलगायत लक्षण देखिने चौधरीले जानकारी दिए। बेलैमा रोग पहिचान भएमा नियमित औषधि सेवन गरे निको हुने स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: २ भाद्र २०७५ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App