धनुष्टंकार यस्तो रोग हो, जसलाई १० रूपैयाँ मूल्य पर्ने खोप लगाइदिए लाग्नै पाउँदैन। यो खोप गाउँदेखि सहरसम्म हरेक स्वास्थ्य संस्थामा उपलब्ध छ। सरकारले बालबालिका र गर्भवतीका हकमा नियमित खोपअन्तर्गत निःशुल्क रूपमा समावेश गरेको छ। तर यही १० रूपैयाँ मूल्य पर्ने खोप नलगाएकै कारण नेपालमा बर्सेनि धनुष्टंकार रोगको सिकार भएका छन्। धेरैले ज्यानसमेत गुमाएको अस्पतालको तथ्यांकले औंल्याएको छ।
गत महिना टेकु अस्पतालमा रौतहटका २७ वर्षीय राम मण्डल (नाम परिवर्तन) गम्भीर अवस्थामा अस्पताल पुगे। उनको खुट्टामा खिया लागेको किला बिझेको थियो, तर उनी समयमै उपचारमा पुगेनन् र समयमै टिटानसविरुद्धको खोप पनि लगाएनन्। यसको परिणाम उनमा धनुष्टंकारको लक्षण देखियो।
गम्भीर बिरामी परेपछि स्थानीय अस्पताल हुँदै उनलाई टेकु अस्पताल रेफर भएर पुगेका थिए। उनमा कडा खालको धनुष्टंकार भइसकेकाले लामो समय उपचार गरेपछि निको भएको उनको उपचारमा संलग्न टेकु अस्पतालका डा. मणि बज्राचार्यले बताए। उनी विपन्न परिवारका भएकाले अस्पतालले सामाजिक सुरक्षा कोषमार्फत करिब चार लाख बराबरको उपचार गरी निको पार्न सफल भएको थियो।
अस्पतालमा धनुष्टंकार भएर पुग्ने मण्डल एक्ला हैनन्। हरेक वर्ष दर्जनौं संख्यामा धनुष्टंकारका बिरामी पुग्ने गरेको अस्पतालको तथ्यांकले औंल्याएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चालु आर्थिक वर्ष २०८१/८२ को असोजभित्र दुईजना धनुष्टंकारका बिरामीले उपचार गराए।
गत आव २०८०/८१ मा १० जनामा धनुष्टंकार संक्रमण भएकोमा एकजनाको मृत्यु भएको थियो। आव २०७९/८० मा १६ जना संक्रमित छन् भने अघिल्लो आव २०७८/७९ मा १४ जनामा धनुष्टंकार पुष्टि भएको छ। तीमध्ये चारजनाको मृत्यु भएको छ।
यस हिसाबले चार वर्षको अवधिमा पाँचजनाको मृत्यु भएको तथ्यांकले औंल्याएको छ। तीमध्ये ४२ जना टेकु अस्पतालमा मात्र उपचारका लागि पुगेको तथ्यांक छ। उपचारमा पुगेमध्ये कतिपयलाई विशिष्ट उपचारका लागि अन्य अस्पतालमा रेफर गरिन्छ। ती सबै निको हुन्छन् या हुँदैनन् भन्ने विषयमा अस्पतालसँग यकिन तथ्यांक छैन। ‘कतिपयलाई गम्भीर भएर घाँटीमा पाइप राख्ने अवस्थामा रेफर गर्छौं। उनीहरू निको हुन्छन् या हुँदैनन्, सबैको फलोअप हामीसँग छैन’, टेकु अस्पतालका डा. मणि बज्राचार्यले भने।
चिकित्सकका अनुसार सबै बिरामी टेकु अस्पतालसम्म नआइपुग्नुको कारण नेपालमा कुल कतिजनालाई धनुष्टंकार हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने विषयमा यकिन तथ्यांक छैन। परिवार कल्याण महाशाखा खोप शाखाले नवजात शिशुमा हुने धनुष्टंकारका लागि मात्र अभिलेख राखेको छ।
शाखाको अभिलेखअनुसार चार वर्षको अवधिमा आठजना नवजात शिशुमा धनुष्टंकार भएको तथ्यांक छ। अरू उमेर समूहमा हुने धनुष्टंकारको तथ्यांक राख्ने कुनै पनि निकाय नभएको चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार धनुष्टंकार पुरानो रोग हो। अहिले बेवास्ताका कारण बर्सेनि धेरै प्रभावित बन्छन्। यो रोग कोलोस्ट्रोडियम टिटानी’ नामक कीटाणु शरीरमा प्रवेश गरेपछि संक्रमण फैलिई धनुष्टंकार रोग लाग्छ। यो कीटाणु शरीरमा प्रवेश गरेको एक सातादेखि दुई साताभित्र लक्षण देखिन सुरु हुन्छ। यो कीटाणु खिया लागेका धातु विशेषगरी फलामले खोपेमा वा किला बिझेमा शरीरमा प्रवेश गर्छ।
यो रोगको संक्रमण भएपछि शरीर काम्ने, ज्वरो आउने, बिरामीको मुखबाट आवाज आउने, उज्यालो हेर्दा र बोल्दा ज्वरो बढ्ने, जीउ दुख्ने, रक्तचाप घट्ने, पसिना आउने, छटपटी हुने जस्ता लक्षण देखिन्छन्। यस्तो लक्षण देखिनेबित्तिकै उचित उपचार भएमा बिरामी निको हुने टेकु अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार ढिलाइ भएमा बिरामीमा जटिल समस्या भई मृत्युसमेत हुन सक्छ।
नेपालमा धेरैजसो बिरामी ढिला गरी उपचारमा पुग्नु, अन्य दीर्घरोग भएका बढी उमेरका मानिसलाई उपचारले पनि निको हुन कठिन पर्ने अस्पतालका डा. बज्राचार्य बताउँछन्। ‘धेरैजसो ढिला गरी उपचारमा आउँछन्’, उनले भने।
किला र काँटी बिझेको या घोचेको ठाउँ हेरी संक्रमणको तह फरक हुने डा. बज्राचार्य बताउँछन्। घाँटीनजिक या छाती या पेटका भागमा घाउ भएमा संक्रमण जटिल बन्ने उनी बताउँछन्। घाउ सुरु भएको भागअनुसार संक्रमणको लक्षण ढिलो र चाँडो देखिने उनी बताउँछन्।
विकसित देशमा कम संख्यामा देखिने यो रोग पछिल्लो समय नेपाल र नेपालजस्ता कम विकसित मुलुकमा उल्लेखनीय संख्यामा देखिने गरेको डा. पुन बताउँछन्। अहिले पनि नागरिकमा धनुष्टंकारसम्बन्धी जनचेतनाको कमी भएको र बेवास्ता गर्ने बानीकै कारण रोगको सिकार हुनुपरेको डा. बज्राचार्यले बताए।
‘मुख्य कुरा घोचेपछि घाउ भएर टिटानस हुन सक्छ भन्ने थाहा छ, तर यति घोच्दैमा के होला, पहिला पनि घोचेको हो भन्ने सोचले धनुष्टंकार भएको देखिन्छ’, उनले भने। एक दशकयता यो रोगका बारेमा खोप लिनुपर्छ भन्ने चेतनाको विकास बढेको देखिएको डा. पुन बताउँछन्। तर शिक्षा र जनचेतनामा पछि परेका मजदुर र किसानबीच पूर्ण रूपमा जनचेतना नहुनुले समस्या कायमै रहेको चिकित्सकहरू बताउँछन्।
नेपालले २०३४ सालदेखि नै धनुष्टंकारविरुद्धको खोप कार्यक्रम दिन सुरु गरी २०४१ सालदेखि नियमित खोपमा समावेश गरेको हो। नवजात शिशुलाई धनुष्टंकार नहोस् भनेर गर्भवती र शिुशु दुवैलाई तीन डोज खोप दिइन्छ। खोप लिए पनि कतिपयको घाउमार्फत कीटाणु शरीरमा प्रवेश गरेमा संक्रमण हुन सक्छ। कतिपय खोप लिन छुटेकाहरूमा पनि पछि गएर संक्रमण हुन सक्ने खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन्।
नेपालले धनुष्टंकारविरुद्धको नियमित खोप दिएकै कारण कम संख्यामा मात्र संक्रमण भएको डा. गौतम दाबी गर्छन्। खोपको परिणामस्वरूप नेपालले सन् २००५ मा नेपाललाई धनुष्टंकार निवारण राष्ट्र घोषणा गरेको हो। अहिले पनि उल्लेखनीय संख्यामा धनुष्टंकार संक्रमण देखिएकाले अर्को वर्षसम्म यसको समीक्षा अध्ययन गर्ने योजना रहेको उनले बताए।
माटो, फलाम, गोबर, खिया लागेका वस्तुमा धनुष्टंकारका कीटाणु भएकाले कुनै पनि चोटपटक लागेको छ भने यस्ता चिजको सम्पर्कबाट बच्न र अस्पतालजन्य सफाइ सय प्रतिशत हुनुपर्ने डा. गौतमको सुझाव छ। यसका साथै कुनै पनि खिया लागेका धातुले चोटपटक लागेमा तुरुन्त खोप लिने र लक्षण देखिएमा उपचारमा जान चिकित्सकको सुझाव छ। ‘निजी स्वास्थ्य संस्थामा १० रूपैयाँमै टिटानस खोप पाइन्छ’, डा. गौतमले भने। तर यस्तो खोपको तापक्रम व्यवस्थापन भएको हुनुपर्ने उनले बताए।
प्रकाशित: ८ कार्तिक २०८१ ०७:०१ बिहीबार