ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आव्हान गरेको छ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारी, गैरसरकारी संस्था, नीजि कार्यालयहरु, शिक्षण संस्था, वैदेशिक कुटनीतिक निकाय, नागरिक समाजलाई आव्हान गरेका हुन्।
महानगरले प्रयोग भइसकेका प्लाष्टिकका कप, फुटेका गमलाहरु जथाभावी फ्याँक्न समेत निषेध गरेको छ। स्थलगत निरीक्षण गर्दा पेय पदार्थ सेवन गरी जथाभावी फ्याँकिएका प्लाष्टिका कपहरु, फुटेका गमलाहरु भेटिएका छन्,जसमा लामखुट्टेको वृद्धिविकास हुने हुँदा प्रयोग गरिएका ती सामग्री जथाभावी फ्याँक्न महानगरले निषेध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘घर वरपर कम्पाउण्ड भित्र पानी जन्म नदिन टायर ट्युब लगायतका प्लाष्टिका भाँडाहरु जथाभावी नफालौँ।'
महानगरले साताको कम्तीमा एकपटक आफ्नो घर कम्पाउण्डमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान संचालन गर्न समेत आग्रह गरेको छ।
सिसी, बाल्टिन, प्लाष्टिक र टिनका बट्टालाई पानी नजम्ने गरी व्यवस्थापन गर्न समेत भनेको छ। गमला, गमलाको प्लेटमा भएको पानी हप्तै पिच्छे सफा गर्न महानगरले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित: २ कार्तिक २०८१ १८:०९ शुक्रबार