११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालमा ‘ग्रुप ए स्ट्रेप्टोकोकस’ रोगको जोखिम कति

केही समययता जापानमा फैलिएको ग्रुप ए स्ट्रेप्टोकोकस रोगले जनमानसमा त्रास बढिरहेको देखिए पनि नेपालमा यसको जोखिम कति छ भन्नेबारेमा अहिल्यै यकिन नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

यसबारेमा प्रारम्भिक छलफल भए पनि कति जोखिम छ भन्नेबारेमा अन्तर्राष्ट्रिय निकायबाट अहिलेसम्म कुनै खबर प्राप्त नभएको महाशाखाका निर्र्देशक डा. यदुचन्द्र घिमिरले बताए। उनले भने, ‘हामीले प्रारिम्भक रूपमा छलफल गरेका छौं, कुनै लक्षण पाइएमा पहिचानका लागि परीक्षण गर्ने र सजगता अपनाउने गर्नुपर्छ, तर राष्ट्रिय रूपमै कुन तहको सूचना जारी गर्ने भन्नेबारेमा यकिन भइसकेको छैन’, निर्र्देशक घिमिरेले भने।

एक महिनादेखि जापानमा ‘गुप्र ए स्ट्रेप्टोकोकस’ नामक कीटाणुको संक्रमणले छोटो समयमै एक हजार व्यक्तिमा संक्रमण पुष्टि भएको र यो रोगका कारण ७७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन्।

‘ग्रुप ए स्ट्रेप्टोकोकस’ कीटाणु शरीरमा प्रवशे गरेको २४ देखि ४८ घन्टाभित्रमा मानिसको ज्यानसमेत लिन सक्ने भएकाले यसलाई खतरनाक रोग मानिन्छ। चिकित्सकहरूले यो रोगको मृत्युदर ३० प्रतिशत हुने जनाएका छन्। यो रोगको कीटाणु नेपालसहित विश्वभरि रहे पनि यसको आनुवंशिक परिवर्तन भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले बताए।

नेपालमा यो रोगको कीटाणु पहिल्यैदेखि रहे पनि जापानमा यसमा आनुवंशिक परिवर्तन भएकाले कडा रूप लिएको हुन सक्ने उनले बताए। यसका लागि थप जानकारी आउन बाँकी रहेको पुनले बताए। यो रोग कोेरोनाजस्तै हाच्छ्युँ गर्दा र खोक्दा निस्कने छिटा मुख, नाक या छालाको बाहिरी भागबाट भित्र प्रवेश गरी संक्रमण हुन्छ।

यसको संक्रमणका कारण बिरामीकोे कोषिका नष्ट गर्दै जाने हुँदा शरीर पोल्ने, बान्ता हुने, जीउ दुख्ने, श्वास–प्रश्वासमा समस्या आउने जस्ता लक्षण देखिन्छन्। शरीरका कोषिका नष्ट गर्दै जाने भएकाले पर्यायवाची नामका रूपमा यसलाई ‘मासु खाने रोग’ नामकरण गरिएको चिकित्सक बताउँछन्। यो रोग यसअघि नै युरोपियन मुलुकहरूमा फैलिइसकेको थियो।

कीटाणुले शरीरका अन्य अंग फेल भई बिरामी बेहोस हुन्छ। यो अवस्थालाई स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम भनिन्छ। नेपालमा यो कीटाणु पहिल्यैदेखि रहेको र नेपालबाट जापान आवतजावत गर्ने क्रम नियमित भएकाले जापानबाट नेपाल आउने व्यक्तिले यो रोेग लिएर आउने सम्भावना रहेको डा. पुन बताउँछन्।

‘यो कोरोनाजस्तै सजिलै सर्छ, जापानबाट कोही आए भने यो रोग लिएर पनि आउन सक्छन्’, डा. पुनले भने।

डा. पुनका अनुसार यो कीटाणुको आनुवंशिक परीक्षण नेपालमा पनि गर्न सकिने बताए। तर अहिलेको अवस्थामा व्यक्तिगत सफाइमा ध्यान दिने, यस्ता कुनै पनि लक्षण देखिएमा समयमै उपचारमा पुग्ने र चिकित्सकले शंकास्पद रूपमा परीक्षण गरेर जोखिमबाट बच्ने एक मात्र उपाय रहेको डा. पुनले सुझाए।

प्रकाशित: ११ असार २०८१ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App