११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

किशोर-किशोरी लक्षित मानसिक स्वास्थ्य सेवा प्रभावकारी

धेरैजसो मानसिक रोग किशोरावस्थामै सुरु हुन्छ। तर, अभिभावकहरुलाई यसबारे जानकारी नहुँदा किशोर-किशोरीहरू समस्यामा परिरहेका छन्। केही अवस्थामा मानसिक रोग गम्भीर बन्दै जाँदा आत्महत्यासम्मको स्थिति समेत आउन सक्छ। यस्तै समस्याको सम्बोधन गर्न पाटन मानसिक अस्पतालले किशोर-किशोरीहरूका लागि छुट्टै इकाई स्थापना गरी सेवा सुरु गरेको छ।

अस्पतालले गत मंसिरदेखि यो सेवा छुट्टै इकाईको रुपमा सुरु गरेको हो। अस्पतालका निर्देशक अनन्त अधिकारीका अनुसार यसरी छुट्टै इकाई सुरु गर्दा किशोर–किशोरीको साझा रुचि अनुसार नै उपचार गरिन्छ। जसकारण उपचार समेत उनीहरुले सहज अनुभव गर्ने गरेका छन्।

सेवा सुरू भएकाे ६ महिनाको अवधि भित्रै करिब ९ हजार जनाले यस सेवा लिइसकेकाे निर्देशक अधिकारीले सुनाए। तीमध्ये केहीले अन्तरङ्ग सेवा पनि लिएका छन्। यो इकाईमा १२ शैय्याको अन्तरङ्ग विभाग सञ्चालनमा छ।

किशोर-किशोरी उमेर समूह शारीरिक तथा मानसिक रुपमा परिवर्तन आउने उमेर भएकाले यो अवधिमा कडा तथा सामान्य खालका मानसिक समस्या देखिन सक्ने डा. अधिकारी बताउँछन्। यस्ता समस्या समयमै पहिचान गरी उपचार गरेमा किशोर-किशोरीहरुलाई बर्बादीबाट बचाउन सकिने उनकाे भनाइ छ।

चिकित्सकहरूका अनुसार, यस्तो उमेर समूहका बिरामीहरू प्राय: स्कुल तथा कलेज पढ्दै गरेका हुन्छन् र उनीहरूको रुचि पनि साझा हुने भएकाले छुट्टै इकाई मार्फत सेवा दिँदा याे प्रभावकारी हुन्छ। लामो समय भर्ना भई उपचार गर्नुपर्ने किशोर-किशोरीका लागि अस्पतालले शिक्षकको पनि व्यवस्था गरेको छ, जसले गर्दा एकै समयमा पढाइ र उपचार सम्भव हुन्छ।

यो इकाईमा १४ देखि १८ वर्षभित्रका किशोर-किशोरीलाई सेवा दिइन्छ। मानसिक अस्पताल विशिष्ट अस्पताल भएकाले विभिन्न विधामा सेवा विस्तार गरेको हो। विस्तारित सेवाहरूमा बाल मानसिक रोग सेवा, ज्येष्ठ नागरिक सेवा, र किशोर-किशोरी सेवा समावेश छन्।

किशोर-किशोरी सेवा पहिलादेखि नै सुरु गर्न खोजिए पनि बजेट अभावले ढिलाइ भएको अस्पतालले जनाएको छ। गत वर्षदेखि शिविन नेपालले दुई वर्षसम्मका लागि स्रोतको व्यवस्थापन गरिदिएपछि सेवा विस्तार सम्भव भएको हो।

डा. अधिकारीका अनुसार किशोर-किशोरीमा डिप्रेशन, एडीएचडी (एकाग्रता नहुने समस्या), कन्भर्सन डिस्अर्डर (सामूहिक बेहोस हुने), बाइपोलार डिस्अर्डर, एन्जाइटी (डराउने समस्या) लगायतका मानसिक समस्या बढी देखिन्छ।

यी मानसिक रोग जटिल बन्दा कतिपयले आत्महत्या गर्ने, नियमित पढाइ अघि बढाउन नसक्ने, बढी रिसाउने, मुर्छा पर्ने, अभिभावकले भनेको नमान्ने, र एकान्तमा बस्न रुचाउने जस्ता लक्षण देखिन्छन्। यी लक्षणहरू रोग अनुसार फरक-फरक हुन्छन्। यस्ता लक्षणहरू देखिएमा तुरुन्त उपचारमा जान उनी सुझाउँछन्।

डा. अधिकारीका अनुसार, पछिल्लो समयमा जनजागरणको कारणले उपचारमा आउने किशोर-किशोरीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। यथार्थमा बिरामीको संख्या पनि बढेको छ, तर यो उमेर समूहमा कति मानसिक रोग छ भन्ने बारेमा यकिन तथ्यांक भने छैन।

पारिवारिक बेमेले, सामाजिक सञ्जालको प्रयोग र यसबाट हुने दुरुपयोग, तनाव, जीवनशैलीमा आएको परिवर्तन, घरझगडा, आर्थिक विपन्नता, र दुर्व्यसनी जस्ता कारणले किशोर-किशोरीमा मानसिक रोग लाग्ने गरेको पाइन्छ। उनी भन्छन् ‘सामान्य भन्दा हिंसामा परेका किशोर-किशोरीमा मानसिक असर पर्ने सम्भावना बढी हुन्छ।

किशोर-किशोरीलाई मानसिक समस्याबाट रोक्नको लागि सामाजिक, पारिवारिक, विद्यालय तथा सबै निकायको उत्तिकै भूमिका हुन आवश्यक रहेको चिकित्सकहरू सुझाउँछन्।

किशोर-किशोरीको समस्या राम्रोसँग सुन्ने र सम्बोधन गर्ने वातावरण अभिभावकमा हुनुपर्छ। विद्यालयमा शिक्षक-शिक्षिकाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको डा. अधिकारी बताउँछन्। पछिल्लो समय किशोर-किशोरीमैत्री वातावरण निर्माण गर्न स्थानीय तहको पनि भूमिका हुनुपर्ने उनको सुझाव छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App