१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अनुगमन नहुँदा निजी अस्पतालमा मनपरी र बेथिति !

स्वीकृति बिना संचालनमा रहेका दुई अस्पताल बन्द

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा च्याउ उम्रे जस्तै निजी अस्पताल धमाधम खुलिरहेका छन्। अधिकांश निजी अस्पताल मापदण्ड विपरीत संचालनमा रहेको खुलासा भएको छ।

अनुगमन नहुँदा निजी अस्पतालमा मौलाइरहेको मनपरी र बेथितिले बिरामी मार्कामा पर्ने गरेका छन्। पत्थरीको शल्यक्रिया गर्ने क्रममा किड्नी नै झिकेर बिरामीको ज्यान गएको घटनाले चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कैलालीले स्वीकृति बिना अवैध रुपमा संचालन भइरहेका २ निजी अस्पताल बन्द गराएका छन्।

संचालनको अनुमति स्वीकृति नलिई अवैध रुपमा संचालनमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल र संजिवीनी अस्पताल बन्द गर्न लगाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन्।

अनुगमन गर्दा ती दुई अस्पतालले संचालनको अनुमति नलिई संचालन गरेको पाइएको उनले बताए। ‘अनुमति नलिई संचालन गरेको पाइएकोले २ हस्पिटल बन्द गर्न लगाएका छौं’ उनले भने। २ हस्पिटल बन्द गर्न भनेर प्रहरीलाई पत्र लेखेर हस्पिटललाई वोदार्थ पठाएको उनको भनाई छ। निर्देशन पछि संजिवीनीले बन्द गरेको जानकारी पठाएको उनले बताए।

‘स्वस्तिकले अस्पतालमा बिरामी भर्ना छन् भनेको छ, नयाँ बिरामी भर्ना नगरी अस्पताल बन्द गर्न निर्देशन दिएका छौं’ उनले भने। संजिवीनी, स्वस्तिक अस्पतालमा अनुगमन गर्दा अनुमति नलिई संचालन गरेको पाइएको उनले बताए।

मापदण्ड विपरीत संचालन गरिरहेका निजी अस्पतालको अनुगमन गर्नुपर्ने सम्बन्धित निकायले अनुगमन नगरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशी बताउँछन्।

‘निजी अस्पतालमा संचालनको स्वीकृति जुन निकायले दिएको हो, उसैले अनुगमन गर्नुपर्ने हो, तर अनुगमन नगर्नाले मापदण्ड पालना भएको छैन’ उनले भने, ‘मान्छेको मृत्यु भएको घटनापछि अवैध रुपमा हस्पिटल संचालन भएको कुरो उठेपछि पनि सम्बन्धित निकायबाट अनुगमन हुनुपर्नेमा भएन, त्यसपछि हामीले अनुगमन गरेको हौं’।

अरु हस्पिटलमा अनुगमन नगरिएकोले उनीहरुमा के के मापदण्ड पालना भएको छैन भनेर थाह हुन नसेकेको उनको भनाई छ। सम्बन्धित निकायले अनुगमन नगरेमा अर्को साता अन्य अस्पतालमा पनि अनुगमन गर्ने उनको भनाई छ।

यहाँका अधिकांश अस्पताल मापदण्ड विपरीत संचालन रहेको बुझिएको छ। स्वीकृति नलिई अस्पताल संचालन, स्वीकृति लिएको संख्या भन्दा बढी शय्या संचालन, सर्त बमोजिम पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना नगरिएको लगायतका समस्या रहेको पाइएको छ।

राजनीतिक र आर्थिक पहुँचका आधारमा मापदण्ड नपुगेका अस्पताललाई पनि अस्पताल संचालनको स्वीकृति दिने, बढी शय्याको स्वीकृति दिने र निजी अस्पतालले न्यूनतम मापदण्ड पालना नगर्दा पनि अनुगमन नहुने गरेको एक चिकित्सकले बताए। ‘निजी अस्पतालको मनपरी र बेथितिले सर्वसाधारण आहात हुनुपरेको छ’ उनले भने।

स्वस्तिक अस्पतालमा कंचनपुर वेलौरी नगरपालिका वडा नं १० शिवनगर बस्ने ५६ वर्षीय ऐजनलाल चौधरीको किड्नीमा भएको पत्थरीको शल्यक्रिया गर्दा किड्नी पनि झिकेपछि गत भदौ ११ गते मृत्यु भएको थियो। पछि अस्पतालले पीडित परिवारलाई २२ लाख रुपैयाँ दिएर घटना मिलाएको थियो। निजी अस्पतालले चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएपछि गुपचुप रुपमा पीडित परिवारलाई लाखौँ रुपैयाँ दिएर घटना मिलाउने गरेका छन्।

१५ शय्याको अस्पतालका सञ्चालनका लागि स्थानीय तहबाट अनुमति लिनुपर्छ। २५ देखि २ सय शय्या सम्म अस्पताल संचालनका लागी प्रदेश स्वास्थ्य निर्देशनालयबाट र २ सय भन्दा बढी शय्याको अस्पतालको लागी सङ्घीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा. जगदीश जोशी मापदण्ड अनुसार अस्पताल संचालन भए नभएको र अस्पतालले अपनाउनु पर्ने मापदण्डको पालना गरे नगरेको बारेमा वर्षको एक पटक अनुगमन गर्ने गरिएको बताउँछन्।

‘विगतमा १५ शय्याको अनुमति लिएर १ सय शय्या सम्मको अस्पताल संचालन गरेको पनि पाइयो, अहिले न्यूनतम मापदण्ड पुरा गरेका अस्पताललाई बेड संख्याको अनुमति दिने गरेका छौं’ उनले भने, ‘मापदण्ड विपरीत अनुमति नलिई अस्पताल संचालन भएको पाइए अनुगमन गरी कारबाही गरिने छ।’

प्रकाशित: २७ भाद्र २०८० १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App