काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडिमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ। समुदायमा डेंगीकै लक्षण भएका धेरै बिरामी भए पनि सबैजनामा पुष्टि नभएको तर जोखिम कायमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. विमल चालिसेले बताए। कडा लक्षण देखिएकामध्ये पनि कतिपय निजी अस्पतालमा जाने कारण र त्यहाँवाट राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रिपोटिङ नभएको कारण यकिन तथ्यांक नआएको महाशाखाले जनाएको छ।
सोमबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रणम महाशाखाले उपत्यकासहित अन्यत्र भागमा डेंगी प्रकोपको जोखिम बढेको जनाउँदै प्रत्येक घर परिवारलाई सचेत हुन आग्रह गरेको छ। गत वर्ष उपत्यका तथा देशभर डेंगीले प्रकोपको रूप लिएकाले यो वर्ष बेलैमा सचेत हुन उनीहरूले अपिल
गरेका छन्। काठमाडौं उपत्यकामा सीमित संख्यामा डेंगी संक्रमितको बारेमा रिपोर्टिङ भएकोले यकिन संख्या बाहिर आउन नसकेको राष्ट्रिय इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताए। संक्रमित सबैको रिपोर्टिङ नहुनुले र सबैमा कडा लक्षण नदेखनिुले यकिन संक्रमितको तथ्यांक आउन नसकेको इपिडिमालोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. मरासिनीले बताए। नेपालमा हरेक वर्ष डेंगी संक्रमण देखिएकाले यो वर्ष पनि जोखिम कायमै रहेकाले सबैलाई सचेत हुन उनीहरूले आग्रह गरेका छन्।
डेंगी सार्ने लामखुट्टेले दिनमा टोक्ने भएकोले यसको टोकाईबाट बच्न झुल प्रयोग गर्न सकिने उनीहरूले बताए। यो लामखुट्टेले एकैदिनमा १० जनालाई टोक्ने भएकाले धेरै जनामा संक्रमण हुन्छ। सोमबार सञ्चारकर्मीलाई डेंगी नियन्त्रणबारे बताउँदै महाशाखा प्रमुख डा. मरासिनीले सबै स्थानीय तहलाई प्रत्येक साता शुक्रबारको दिन घर–घरमा पुगेर डेंगीको लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्न निर्देशन दिइसकेको बताए। स्थानीय निकायले मात्र खोजी गरेर सम्भव नभएकोले डेंगी नष्ट गर्नको लागि हरेक घरपरिवार जिम्मेवार रहेको उनीहरूले चेतावनी दिएका छन्।
कहाँ बस्छ लामखुट्टे ?
प्राध्यपक डा. इन्टोमोलोजिष्ट डा. मुरारी लाल दासले लामखुट्टेको वासस्थान खोजी नष्ट गर्नु नै डेंगीबाट बच्ने मुख्य उपाय भएको बताए। उनका अनुसार फूलको गमलामुनि राखिएको फूलदानी, कुलरको भाँडो, खुला गरी जम्मा गरी राखिएका सफा पानीकोे भाँडा, टायर, पानीको बोटल, प्लास्टिकका बट्टा या ग्यालिन, रंगका बट्टामा आकाशबाट आएको पानी जम्मा हुने या हामीले पानी राखेर खुलै राखेमा त्यस्तो सफा पानीमा डेंगीको लामखुट्टे बस्ने र त्यहीं नै फूल पार्ने गर्छ। त्यही बच्चाहरू हुर्केर फैलिन्छ। लामखुट्टे नष्ट गर्दा भाँडामा जमेको पानी फ्याँकेर मात्र नहुने उनीहरूले बताए।
नष्ट गर्ने तरिका
डा. दासको अनुसार पानीको भाँडोको पानी फ्याँके पनि त्यसको भित्तामा टाँसिएर बसेको लामखुट्टाको अण्डा बाँचिरहने भएकाले भाँडो सफा गरेर पानी माटोमा वा सुख्खा ठाउँमा फाल्नु पर्छ। यस्तो ठाउँमा लामखुट्टे फैलिन सक्दैन। नेपालमा लामखुट्टे नष्ट गर्नको लागि फगिङ छर्ने अभियान चलाएको देखिन्छ। तर यो प्रभावकारी हुँदैन। मुख्य कुरा लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने प्रभाववारी विधि भनेको सफा भाँडोमा खुला गरी पानी रहन नदिनु नै हो। प्रत्येक साता यसरी नै हरेक परिवारले आफ्नो घर वरिपरि र कार्यालयले कार्यालय हाता तथा अन्य सार्वजनिक स्थलहरूमा यस्तो अभियान चालउन आवश्यक भएको स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले सुझाए। ‘ यो अभियान हरेक घरले अबको तीन-चार महिलनासम्म जारी राखेमा डेंगी फैलिँदैन,’ उनले भने।
प्रकाशित: २६ असार २०८० ०२:४४ मंगलबार