१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणदर अझै बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

कोरोना संक्रमणका लागि भारत ऐना जस्तै हो-डा. शेरबहादुर पुन

लामो समयसम्म शून्यको हाराहारीमा पुगेको कोरोना संक्रमण पुन बढेको छ। दैनिक १ सय बढीमा कोरोना संक्रमण देखिन थालेको छ भने संक्रमण बढेदेखि २ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउनुका साथै कोरोना विरुद्धको खोप लगाउन आह्वान गरिरहेको छ।

मन्त्रालयले नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको र संक्रमण बढ्दै गएकोले बुस्टर डोज खोप आह्वान गरेको हो।

मन्त्रालयका प्रवक्ता समिर अधिकारी पछिल्लो समय सबैले कोरोना संक्रमण हराईसकेको विश्वासमा स्वास्थ्य मापदण्ड नअपनाउदा संक्रमण झनै बढीरहेको बताउँछन्।

उनका अनुसार अहिले अस्पतालमा आउने कोरोना संक्रमितहरुको संख्या बढ्दो छ। बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कोरोनाको परिक्षण, निगरानी गर्ने, खोप लगाउने कुरादेखि अस्पतालको व्यवस्थापनका काम मन्त्रालयले गरिरहेको अधिकारीले जानकारी दिए।

उनले भने, ‘संक्रमण बढ्दो चरणमा छ, अहिले नै संक्रमण उच्च विन्दुमा पुगेको छैन्। त्यसैले केही समय अझै संक्रमण बढ्न सक्ने आंकलन गरेका छौं। त्यसैले उक्त अवस्थामा पुगेर धेरै क्षति हुनुभन्दा पहिलानै संक्रमणको दर कम गर्ने तर्फ हामी लागेका छौं।’

अहिले सरकारसंग कोरोनाविरुद्धको खोप पर्याप्त रहेको बताउँदै अधिकारीले खोप लगाउन आग्रह गरे। मन्त्रालयले कोरोनाविरुद्धको खोप सबै स्थानीय तहसम्म पुर्याएको उनले बताए। सबै स्थानीय तहमा कोरोना विरुद्धको खोप पुर्याएका छौं। ‘सबैले नजिकको खोप लगाउने ठाउँमा गएर लगाउनु होला’ उनले भने।  

कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुमा धेरै जेष्ठ नागरिक, अन्य दिर्घ रोगीहरु र कोरोनाविरुद्धको पूर्ण मात्रा खोप नलगाएकाहरु रहेको उनको भनाइ छ। त्यस्तै मृत्यु हुनेमा पनि जेष्ठ नागरिक र दिर्घरोगीहरु रहेका छन्।  

पछिल्लो समयको संक्रमण पुष्टि हेर्ने हो भने पनि धेरै जति सिमा नाकाबाट प्रवेश गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुनै रहेको उनले बताए। अहिले सिमा नाकाको हेल्थ डेस्कलाई पनि सक्रिय बनाइएको छ।  

उनले भनेका छन्, ‘मन्त्रालयले कोरोना परिक्षण गर्ने, निरीक्षण गर्ने काम अगाडी बढाइरहेको छ। त्योसंगै अस्पतालको व्यवस्थापन, समन्वयको कामहरु गरिरहेको छ। मुख्यतया जनस्वास्थ्यका मापदण्ड पालना गर्नेमा हाम्रो ध्यान छ।  जनस्वास्थ्यका मापदण्ड पालना गरेर संक्रमण रोक्नतर्फ सबै सर्वसाधारणको ध्यान जाने हो भने संक्रमणको जटिलता आउँदैन।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन यो भेरियन्ट पनि अन्य भेरियन्ट जस्तै भएकाले धेरै डराउन नपर्ने बताउँछन्। सबैले कोरोना संक्रमलाई बेवास्ता गरीे सजग नहुँदा संक्रमण फैलिएको उनको भनाइ छ।  

नेपालमा अब कोरोना संक्रमण कतिको बढ्ला भन्ने प्रश्नमा उनले भने, ‘भारत हाम्रो लागि एउटा ऐना जस्तै हो। कोरोना संक्रमणको अवस्था कस्तो हुन्छ भन्ने कुरा भारतमा संक्रमण कस्तो भन्ने कुरामा निर्भर गर्छ। हाम्रो खुल्ला सिमाना, आवतजावतले गर्दा संक्रमण नेपालमा सजिलै आइहाल्छ। तर पहिलाको जस्तो संक्रमण उच्च हुने अवस्था भने मैले देखेको छैन्।’

प्राय सिजन परिवर्तन हुने समयमा कोरोना बढीरहेको देख्दा यो समयमा झन सजग हुन आवश्यक रहेको उनले बताए। त्यसैले अब यो समयमा हामीले सर्तकर्ता अपनाउने हो भने संक्रमण बढ्न नसक्ने उनको भनाइ छ।  

कोरोनाविरुद्धको खोप लगाउन उनले आग्रह गरेका छन्। उनले भने, ‘कोरोना विरुद्धको खोपले संक्रमण नहुने भन्ने होइन् जोखिम कम गर्ने हो। अन्यलाई भन्दा पनि जेष्ठ नागरिक,दिर्घरोगीहरुका लागि कोरोनाविरुद्धको खोप आवश्यक छ। खोपले कोरोनाबाट हुने जोखिमलाई कम गछ।’

अहिले अस्पतालमा कोरोनाका कारण भर्ना हुने कम भएको र परामर्श लिन आउने बढी रहेका छन। सामान्य समस्या देखिएर अस्पताल आउनेको संख्या निकै न्यून रहेको पुनले  बताए।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र २० गते नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको जनाएको थियो। त्यसयता चैत्र २१ गते ८०, चैत्र २२ गते ९८, चैत्र २३ गते ८५,चैत्र २४ गते ९९, चैत्र २५ गते ६४, चैत्र २६ गते ५५, चैत्र २७ गते १२४,चैत्र २८ गते १०६,चैत्र २९ गते १२१, चैत्र ३० गते १०६ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै बैशाख १ गते १३६, बैशाख २ गते ६४ र बैशाख ३ गते ९९ जनामा संक्रमण देखिएको छ। यो बीचमा २ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  

प्रकाशित: ४ वैशाख २०८० ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App