नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि ‘अस्वस्थकर तह’अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन्।
वायु गुणस्तर सूचकांक (एक्युआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो। सोही समयमा वातावरण विभागले राजधानी सहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण मापक स्टेसनले त यो अंक ४०४ पुगेको देखाएको थियो। विपत्सम्बन्धी सूचना उपलब्ध गराउने सञ्जाल नेपाल डिजास्टर वाचका अनुसार बुधबार राति राजधानीस्थित अधिकांश प्रदूषण मापक स्टेसनहरूले प्रदूषण वैजनी रङको तहमा उक्लेको देखाएका थिए। बिहीबार साँझको तथ्यांक पनि झन्डै त्यस्तै देखियो।
वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न र सकेसम्म घरभित्रै बस्न हितकर ठानिन्छ। वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआइलाई मरुन रङ (गाढा रातो) दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ।
राजधानी सहरमा मात्र होइन, देशका प्रमुख अन्य सहरहरूमा समेत पछिल्ला दिनमा वायु प्रदूषण ह्वात्तै बढेको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागकाअनुसार बारा, पर्सा, चितवनसहित देशभरका १४० भन्दा बढी स्थानमा लागेको डढेलो र कृषि अवशेष वाल्नेजस्ता प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौं र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषण स्तर अत्यधिक बढेको हो।
वायु प्रदूषण नियन्त्रणमा फोकल निकायका रूपमा रहेको विभागले विज्ञप्ति जारी गर्दै आम सर्वसाधारणलाई विशेष सावधानी अपनाउन भनेको छ। वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म उनीहरूलाई घरबाहिर ननिस्कन र अन्यलाई घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ। विभागले वनजंगलमा लागेको डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्न आम समुदायलाई औपचारिक अपिलसमेत गरेको छ। डढेलो नियन्त्रणमा वन विभाग र प्रदेश मन्त्रालयमातहतका डिभिजनल वन कार्यालयको भूमिका र सक्रियता महŒवपूर्ण रहने वातावरण विभागका प्रवक्ता शंकर पौडेल ठान्छन्।
वायु प्रदूषण नियन्त्रणमा विभिन्न मन्त्रालय, विभाग र सरोकारवाला अन्य निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याउँदै उनले भने, ‘यो बृहत् चुनौती सामना गर्न सानो संरचना र कार्यादेश भएको निकायले मात्र सम्भव छैन, बृहत् सांगठनिक स्वरूपसहितको बलियो निकाय स्थापना आवश्यक छ।’
जलवायु परिवर्तन तथा वातावरणविज्ञ नमिन्द्र दाहाल देश संघीय संरचना प्रवेश गरेयता तीनै तहका सरकारबीच वातावरण संरक्षण र संवर्धनमा आपसी समन्वय र बुझाइको अभाव रहेको तर्क गर्छन्। ‘वायु प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन तथा वातावरण क्षेत्रमा अन्तरसरकारी समन्वय असफल र निष्प्रभावी देखिएको छ’, उनी भन्छन्। पछिल्ला वर्षमा कृषि र पशुपालनबाट आम समुदाय विमुख हुँदै जाँदा जंगलसँग रहेको समुदायको अन्योन्याश्रित सम्बन्ध पनि क्रमशः खस्कँदै गएको विश्लेषण गर्दै दाहाल भन्छन्, ‘जंगल व्यवस्थापनमा अदूरदर्शी नीति लिँदा जंगलमा डढेलोका घटना बढेका छन्।’
यस वर्षको हिँउदमा पर्याप्त पानी नपर्दा सुक्खा लाग्दा डढेलो पनि बढी नै लागेको तर्क विज्ञको छ। विशेषगरी फागुन, चैतमा डढेलो बढी लाग्छ। वायु प्रदूषणविज्ञ डा. भूपेन्द्र दासका अनुसार डढेलो लागिसकेपछि काठदाउरा चोरीनिकासी गर्न सजिलो हुने र कतिपय स्थानमा वन क्षेत्र अतिक्रमण गर्ने मनसायले पनि आगो लगाउने गरेको पाइन्छ। नियन्त्रित हिसाबले जंगलमा लगाएको आगो अनियन्त्रित हुँदा त्यसले डढेलोको रूप लिने गरेको छ।
‘अहिले प्रदूषणका मुख्य कारक कृषि अवशेष बाल्नु, जंगलमा आगो लाग्नु र फोहोर जलाउनु हुन्,’वायु प्रदूषणमा विद्यावारिधि गरेका दास भन्छन्। उनका अनुसार नेपालमा बर्सेनि २९ लाख मेट्रिक टन कृषि उपज जलाइन्छ। सन् २०२१ को जनवरीदेखि अप्रिलसम्म वनजंगलमा आगलागीका घटना ४२ हजार भएको एक अध्ययनले देखाएको चर्चा गर्दै दासले भने, ‘यो वर्ष पनि सन् २०२१ कै हाराहारीमा आगलागीका घटना हुने देखिएको छ।’
विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ। प्रदूषण नियन्त्रण बहुनिकायसँग सम्बद्ध रहेको तर्क गर्दै दास भन्छन्, ‘कानुन र नीति बनाएर मात्र प्रदूषण नियन्त्रण हुन सक्दैन, तिनको प्रभावकारी कार्यान्वयन महŒवपूर्ण हुन्छ। जनस्वास्थ्यसँग जोडिएको यो बहुआयामिक समस्या समाधानमा सबै निकाय र सरोकारवालाबीच सहकार्य आवश्यक छ।’
शरीरका अधिकाश अंगलाई असर पार्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटु रोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको देखिएको छ। घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजारजनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका रहेको अध्ययनहरूले देखाएका छन्।
प्रकाशित: १ वैशाख २०८० ०१:०७ शुक्रबार