२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाजुरामा दादुरा रोगको संक्रमण फैलिने खतरा

नमुना परिक्षणका लागि विरामी बालबालिकाहरुको ल्याप परिक्षणका लागि रगक संकलन गर्दै स्वास्थ्य कर्मी।

बाजुराकाे बुढीगंगा नगरपालिकामा दादुरा रोगको संक्रमण फैलिने संकेत देखिएको छ। नगरपालिका–१ अम्कोटका बालबालिकामा दादुरा तथा रुवेलाको रोगको लक्षण देखिएपछि संक्रमण फैलिने त्रास बढेको छ।

वडाको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका आठ जना बालबालिकामा दादुरा र रुवेलाको लक्षण देखिएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताएकी छिन्। आठै जना बालबालिका एकै टोलका हुन्। उनीहरु सबैमा एउटै प्रकारको लक्षण देखिएको छ।  

जाँच गर्दा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आएको, शरिर भरी बिमिरा रहेको, खोकी लाग्ने नाकमा सिंगान बग्ने जस्ता लक्षण देखा परेको अनमी विष्टको भनाई छ। गाउँमा यस्तो संक्रमण अरुमा पनि देखिएको स्थानीयले बताएका छन्।

दादुरा रोगको जस्तो लक्षण चिन्ह देखा परेकोले नगरपालिका स्वास्थ्य शाखाले नमुना जाँचका लागि धनगढी प्रयोगशालामा पठाएको स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन्। अहिले नै दादुरा तथा रुवेला भन्न नसकिने भएकाले चेकजाँचका लागि नमुना धनगढी प्रयोगशालामा पठाएको र सोही रिपोटका आधारमा रोगको पहिचान हुने स्वास्थ्य कर्मीले बताएका छन्।

लक्षण देखिएको जानकारी पछि रोगको संक्रमण फैलिन नदिन पालिकाले उच्च सर्तकर्ता अपनाएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताए। दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो।

गाउँमा बालबालिका मात्र नभइ अन्य व्यक्तिमा पनि ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षण देखिएको छ। उसोत सोही गाउँमा तीन बालबालिकाले खोप समेत नलगाएको पाइएको छ। भारतबाट आएका ती बालबालिकाले दादुरा लगायतका अन्य खोप लगाएका छैनन्।

दादुरा तथा रुबेला रोगको लक्षण फेला पर्नेमा भारतबाट आएकी तीन वर्षीया आशिका नेपाली, पाँच वर्षीया अनुस्का नेपाली र निशा नेपाली सहित अन्य आठ जनामा उक्त रोगको लक्षण देखिएको हो।

गाउँमा एक साता यता अधिकांश बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिंगान बग्ने, शरिरमा विमिरा देखिने लक्षणका कारण थला परेका छन्। २० परिवारका बालबालिकाहरु विरामी भएको दुई साता वित्न लागेको स्थानीयले बताएका छन्। दुई साता वित्न लाग्दा पनि उपचार नपाएपछि उनीहरुले हिडेर दुई घण्टा टाढा रहेको स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए।

दादुरा विकासोन्मुख देशहरुमा पटक पटक देखिने र फोक्सो तथा मस्तिस्कमा संक्रमण गरि ज्यान जोखिममा पार्ने घातक रोग रहेको स्वास्थ्यकर्मीले बताएका छन्।  दादुरा भएका व्यक्तिहरुले दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरुलाई रोग सार्न सक्छन्।

दादुराको खोप नलगाएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक शक्ति काम भएका (अबुर्द रोगका बिरामी, एड्सका बिरामी र लामो समय स्टेरोइड सेवन गरेका बिरामी), ९ महिना भन्दा कामका शिशुहरु जसमा आमाको गर्भबाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्वभतीहरुमा दादुरा रोगको बढी जोखिममा हुन्छन्।

दादुराले फोक्सोको संक्रमण (निमोनिया), मस्तिस्कको संक्रमण (इन्सेफलाइटिस), मुटुको संक्रमण, कलेजोको संक्रमण (हेपाटाइटिस), मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने समस्या ल्याई ज्यान जोखिममा पार्दछ।

नेपाल सरकारबाट निशुल्क प्रदान हुने दादुराको खोप ९ महिना र १५ महिना उमेरका बालबालिकालाई २ डोज लगाए यसबाट हुन सक्ने जोखिम निर्मुल पार्न सकिन्छ। यसको खोपले जीवनभरी रोग प्रतिरोधात्मक शक्ति दिने स्वास्थ्यकर्मीको भनाई रहेको छ।

प्रकाशित: ११ फाल्गुन २०७९ १४:२५ बिहीबार