तपाईं दम, मिर्गौला, मुटु, क्यान्सर या यस्तै कुनै रोग लागेको व्यक्ति हुनुहुन्छ ? यी समूहभित्र पर्नुहुन्छ तर मौसमी भाइरल इन्फ्लुएन्जाविरुद्धको खोप लिनुभएको छैन भने होस गर्नुहोस्, सामान्य रुघाखोकीले पनि ज्यान लिन सक्छ ! जोखिम समूहमा पर्नेले रुघाखोकीविरुद्धको खोप नलिएकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको चिकित्सकहरूले बताएका छन्। सामान्य रुघाखोकी बिगे्रपछि निमोनिया हुने र त्यसले गर्दा बर्सेनि धेरै नेपालीको मृत्यु हुने गरेको उनीहरूको भनाइ छ। त्यसरी मृत्यु हुनेमा जोखिम समूहका व्यक्ति मात्र नभएर वृद्धवृद्धा र बालबालिकाको समेत पर्ने गरेको चिकित्सकहरू बताउँछन्।
‘फ्लु भाइरसका कारण श्वासप्रश्वास नलीमा संक्रमण भएपछि निमोनिया भई मृत्यु हुने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक निर्देशक तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने। नेपालमा हालै फैलिरहेको मौसमी रुघाखोकीले निमोनियाको जटिल रूप निम्त्याउने हुनाले सबै नागरिक सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ। हाल ठुला अस्पतालहरूमा नियमित बिरामीभन्दा १५ प्रतिशत मौसमी रुघाखोकीका मात्र बिरामी उपचारका लागि पुगेका छन्।
विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष ६ हजार २३७ जनाको मौसमी इन्फ्लुएन्जाबाट हुने निमोनियाका कारणले भएको देखिन्छ। यो संख्या कुल मृत्युको ३.८ प्रतिशत हो। मौसमी फ्लुबाट नागरिकको मृत्यु हुने देशमा नेपाल ८६औं स्थानमा पर्छ। नेपालमा प्रतिवर्ष २३ हजार बालबालिकाको मृत्यु मौसमी फ्लु तथा निमोनियाका कारणले हुने गरेको छ। तीमध्ये १३ प्रतिशत पाँच वर्षमुनिका छन्। अमेरिकामा प्रतिवर्ष ५० देखि ६० हजारजनाको मृत्यु हुने गरेको तथ्यांक छ।
नेपालमा बर्सेनि निमोनियाका कारणले हुने मृत्युमा फ्लु भाइरसको प्रमुख भूमिका रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताए। तीन वर्षयता कोभिड १९ विरुद्धको खोपले मौसमी फ्लुको जटिलता आउनबाट रोकेकाले कम मृत्यु भएको उनको दाबी छ।
कोभिड १९ को खोपपछि पुनः मौसमी भाइरलका कारण जनस्वास्थ्यमा जटिलता आउन सक्ने डा. पुन बताउँछन्। ‘सिजनल फ्लु साइलेन्ट किलर हो, यो कुरा धेरैलाई थाहा छैन,’ उनले भने।
डा. दास दम तथा अन्य दीर्घरोगीले वर्षको एकपटक मौसमी इन्फ्लुएन्जा फ्लुविरुद्धको खोप लिनुपर्ने भए पनि धेरैले नलिएको बताउँछन्। उनका अनुसार बिरामी पक्ष र चिकित्सक दुवैमा यो फ्लुविरुद्धको खोपको विषयमा सचेतना नभएकाले पनि धेरैले खोप लिएका हुँदैनन्। जोखिम समूह तथा दीर्घरोगीहरू कुनै न कुनै चिकित्सकको उपचारमा पुग्ने र ती चिकित्सकले उनीहरूलाई फ्लुविरुद्धको खोप लिन सुझाउनुपर्नेमा कतिपय चिकित्सक आफंैलाई यो खोपबारे जानकारी नहुँदा सबै बिरामीले फ्लुविरुद्धको खोेप नलिएको पाइएको उनले बताए।
सर्वसाधरणका हकमा यो खोपबारे कमै जानकारी भएको उनले बताए। आफूसँग उपचार लिन आएका बिरामीलाई भने मौसमी फ्लु सुरु हुनुअघि नै दसैंतिरै खोप दिन सुझाइसकेको उनले बताए। यो अभ्यास अन्य छाती रोग तथा श्वासप्रश्वास विशेषज्ञहरूले गरिरहेको हुन सक्ने उनले बताए।
पाँच वर्ष पहिलाभन्दा पछिल्लो वर्ष फ्लुविरुद्धको खोप लिनुपर्ने सचेतना केही बढ्दै गएको डा. पुनको अनुभव छ। ‘जोखिम समूहमा हुनेले खोप लगाउने क्रम बढ्दै गएको छ,’ उनले भने। तर निजी मेडिकलमा पनि उक्त खोप लगाउने व्यवस्था भएकाले कतिले फ्लुविरुद्धको खोप लिएको भन्नेबारे यकिन तथ्यांक नभएको उनले बताए। सरकारी निकायलाई नै फ्लुविरुद्धको खोपबारे थाहा नभएकाले जनतामा सचेतना कम भएको डा. पुनको आरोप छ।
यो खोप सर्वसाधरणको हकमा जानकारी र पहुँच दुवै नभएको परिवार कल्याण महाशाखाका पूर्वप्रमुख डा. झलक गौतम बताउँछन्। सरकारको नियमित खोप कार्यक्रममा नरहेको र निजी मेडिकल र अस्पतालमा मात्र यो खोप उपलब्ध भएकाले सर्वसाधारणको जानकारीमा कम भएको डा. गौतमले बताए।
यो खोपको प्रभावकारिताको सुनिश्चतता १८ प्रतिशत मात्र रहेको र यो रोगभन्दा अन्य जटिल रोगको व्यवस्थापन गर्नुपर्ने भएकाले नेपाल सरकारले नियमित खोप कार्यक्रमभित्र समेट्न नसकेको डा. गौतमको भनाइ छ। ‘मौसमी फ्लु भाइरस विभिन्न प्रजातिका हुने हुनाले एउटै खोपले काम गर्ने सुनिश्चतता हुँदैन,’ उनले भने। तर जोखिम समूहहरू शरीरको प्रतिरक्षा क्षमता कम भएका र दम तथा अन्य दीर्घरोेगीले नियमित रूपमा यो खोप लिनुपर्ने उनको सुझाव छ।
प्रकाशित: १६ मंसिर २०७९ ०१:०७ शुक्रबार