५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

सरकारी छात्रवृत्तिबारे विद्यार्थी अन्याैलमा

सरकारले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। तर, विद्यार्थीले भने यसको सदुपयोग गर्न पाएका छैनन्। कक्षा ११ का लागि छात्रवृत्तिको व्यवस्था शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले गर्ने जिम्मेवारी पाएको छ। सरकारले कक्षा ११को परीक्षा संचालन तथा व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिएसँगै छात्रावृत्ति उपलब्ध गराउने जिम्मेवारी केन्द्रले पाएको हो।

गत वर्ष माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई)मा सरकारी स्कुलबाटै ग्रेड प्वाइन्ट ३ ल्याए पनि काठमाडौंकी सुनिता श्रेष्ठले कसरी र कहाँबाट छात्राबृत्तिकोलागि पहल गर्ने समेत थाह नपाएको सुनाइन्। ‘मलाई छात्रावृत्तिबारे थाहा भएन। स्कुलले पनि केही भनेन,’सुनिताले भनिन् ,‘मैले पूर्ण शुल्क तिरेरै कक्षा ११मा एक नीजि विद्यालयमा भर्ना भए।’

यो समस्या सुनितालाई मात्र होइन यो वर्ष एसइई परीक्षा दिएका विद्यार्थीहरुमा प्राय: देखिएको बागबजारमा रहेको काठमाडौं लमोडेल कलेज ( केएमसी)का प्रिन्सिपल डा.नगेन्द्र अर्यालले बताए। ‘हाम्रो केएमसीमा भर्ना हुने धेरै सरकारी विद्यालयबाट एसइई पास विद्यार्थी छन्। तर उनीहरुलाई सरकारी छात्रावृत्तिबारे खासै खबरै नरहेको मैले पाए,’ प्रिन्सिपल डा. अर्यालले नागरिकसँग अनुभव सुनाए ‘आइतबार केएमसीले छात्रवृत्तिकोलागि परीक्षा संचालन गर्याे। हामी कहाँ भर्ना हुने सबै विद्यार्थीलाई मैले आँफैले छात्रवृत्तिको परीक्षामा सहभागी हुन भनेपछि बल्ल उनीहरुले थाह पाए। अनि आइतबार छात्रावृत्तिको परीक्षामा सहभागिता पनि उल्लेख्यनै रह्यो। ’ उनले सुनाए ‘सरकारले वर्षेनी अर्बौ रकम सरकारी छात्रावृत्तिको लागि छुट्टायाएको हुन्छ। तर यसको सूचना प्रभाव लक्षित वर्गसम्म नपुगेको पाइयो। अगामी वर्षदेखि सरकारले यसतर्फ ध्यान दिनु आवश्यक छ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप महानिर्देशक एवम् प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार सरकारले विद्यालय तहमा कक्षा १–१२ सम्म १५ प्रकारको छात्रावृत्तिको लागि कुल २अर्ब ५७ करोड ४९ लाख ७५ हजार रकम व्यवस्था गरेको छ।

११ का विद्यार्थीहरुका लागि विभिन्न थरिका छात्राबृत्तिको व्यवस्था गरेको छ। उनका अनुसार यस  केन्द्रले कक्षा ११ र १२ मा  गरिबि लक्षित छात्रावृत्तिको व्यवस्था गरेको छ। मन्त्रालयले तोकेको मापदण्डको आधारमा गरिब पहिचान गारी विभिन्न विषय निःशुल्क अध्ययनको लागि छात्रावृत्तिको व्यवस्था गरेको छ।  

अर्कोतिर विद्यार्थीले पाउने सुविधा भनेको विद्यार्थी छात्रावृत्ति बैंक हो। यो सुविधा शिक्षा केन्द्रले कक्षा ११का विद्यार्थीको लागि  प्रदान गर्छ। कक्षा ११ र १२ मा बिज्ञान र बिज्ञान विषय बाहेकका अन्य विषय अध्ययनरत दलित लगाएतका छात्राछात्रहरुलाई बिपन्नलक्षित छात्रावृत्तिको व्यवस्था गरेको छ। विज्ञान अध्ययनकोलागि  प्रति विद्यार्थी वार्षिक २४ हजार र अन्य विषय अध्ययनकोलागि वार्षिक १८ हजारको दरले उपलब्ध गराइने लुइँटेलले जनाए।

 ‘यो वर्ष अन्य विषयमा अध्ययनकोलागि छात्रावृत्ति  प्रति विद्यार्थी १८ हजारका दरले १९ हजार ८ सय ३६ विद्यार्थीलाई उपलब्ध गराइयो। यसको लागि केन्द्रले कुल ३५ करोड ७० लाख ६७ हजार रकम उपलब्ध गराएको छ,’ उपमहानिर्देशक लुइँटेलले भने, ‘बिज्ञान विषय अध्ययने गर्ने ६ हजार ७ सय ५ विद्यार्थी मात्र छनौट भए। प्रति विद्यार्थी २४ हजारका दरले १६ करोड ९ लाख २७ हजार रकम उपलब्ध गरायो।’ उनका अनुसार सरकारले उपलब्ध गराएको सहुलियत सकेसम्म धेरै विद्यार्थीले पाउन् भन्ने लक्ष्य छ। यस पटक धेरै भन्दा धेरै विद्यार्थीलाई बिज्ञान विषय तर्फ छात्रावृत्तिका लागि फारम भर्न केन्द्रले आग्रह छ।

विज्ञान विषय समूह अध्ययन गर्नको लागि एसइइ परीक्षाको नतिजामा जिपिए न्यूतम २ प्राप्त गरी अंग्रेजी विषयमा शैद्धान्तिकमा न्यूतम सीग्रेड,विज्ञान र गणित विषयमा शैद्धान्तिकमा न्यूतम सि प्लस ग्रेड  र बाँकी ३ वटा अनिवार्य विषयको सैद्धान्तिकमा न्यूनतम डी प्लस ग्रेड ल्याएको हुनु पर्छ। यसैगरी वाणिज्य समूहमा अध्ययन गर्नकोलागि एसइई नतिजामा जिपिए न्यूनतम १.६प्राप्त गरि अंग्रेजी र गणित विषयमा सि ग्रेड र बाँकी चार वटा अनिवार्य विषयमा सैद्धान्तिकमा न्यूनतम डी प्लस ग्रेड ल्याउनुपर्छ।

मानविकी र शिक्षा विषय समूहमा अध्ययन गर्नकोलागि एसइइ परीक्षामा औषत जिपिए न्यूनत्तम १.६ प्राप्त गरि अंग्रेजी/नेपाली/गणित/विज्ञान/समाजिक अध्ययन/स्वास्थ्य जनसँख्या र वातावरण विषय मध्ये कुनै एक र माध्यामिक तहको कक्षा ११ मा विशिष्टिकरण गर्ने विषयको अनिवार्य रुपमा न्युनत्तम सि ग्रेड प्राप्त गरेको हुनुपर्छ। बाँकी अन्य अनिवार्य विषयमा डि प्लस ल्याउनुपर्छ। विद्यार्थी छनौटको लागि फारम भराउने, परीक्षा संचालन र नतिजा प्रकासशन गरी उत्कृष्ट विद्यार्थी छनौट समेत केन्द्रले गर्छ। विगतमा सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्णले मात्र पाउने छात्रावृत्ति अब निजी विद्यालयबाट छात्रावृत्तिमा पढेर एसइई परीक्षामा सहभागिता जनाउनेहरुको लागि समेत व्यवस्था गरिएको छ।

निजी क्षेत्रबाट सञ्चालन गरेका माविहरुले सम्बन्धन लिदानै विद्यार्थी भर्नाको ३ प्रतिशत निःशुल्क छात्रावृत्ति उपलब्ध गराउने व्यवस्था अनुसार केन्द्रले  निःशुल्क अध्यापन गराउन सिफारिस गरि पठाउँछ।  छात्रावृत्ति पाउनु प्रत्येक विद्यार्थीको अधिकार हो। यसैगरी अर्को छात्रावृत्ति विशेष शिक्षा सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिन्छ। यस्तो प्रकारको छात्राबृत्ति सम्बन्धित कक्षा ११ संचालित माध्यामिक  विद्यालयलेनै दिने हो। प्रतिव्यक्ति वार्षिक १५ हजारका दरले उपलब्ध गराइने यो छात्रावृत्ति बहिरा,अन्धा,अपाङ्ग विद्यार्थीहरुलाई  कक्षा ११ र १२ अध्ययन गर्नका लागि हो। 

यसैगरी तराई क्षेत्रका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न रामनारायण मिश्र छात्रावृत्तिको व्यवस्था गरेको केन्द्रले जनाएको छ। यसमा तराईमा कक्षा ११ पढ्ने सबै छात्राहरुले पाउने छन्। अर्को महत्वपूर्ण छात्राबृत्ति हिमाली जिल्लाका विद्यार्थीहरुलाई विशेष छात्राबृत्तिको व्यवस्था केन्द्र  र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)को संयुक्त अयोजनामा प्रदान गर्ने ब्यवस्था  गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए।

प्रतिव्यक्ति कक्षा ११ मा ७५  हजार र कक्षा १२ मा ७५ हजारका दरले प्रदान गर्ने छात्रावृत्ति निजामती सेवा नियमावलमिा उल्लेखित ‘क’ वर्गमा पर्ने जिल्ला वा क्षेत्रका सामुदायिक विद्यालयबाट एसइई परीक्षामा सहभागिता जनाएका विद्यार्थीका लागि हो। ‘यो छात्राबृत्ति २१ वटा दुर्गम जिल्लाका उत्कृष्ट विद्यार्थीका लागि हो,’अध्यक्ष सिलवालले भने,‘यो विशेष किसीमको छात्रावृत्तिमा छनौट भएका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्राबासमै राखेर निःशुल्क पढाइ दिने हो।’ उनका अनुसार यस बाहेक पनि निजी विद्यालयहरुले आफैं पनि विभिन्नकिसीमका छत्रावृत्ति गरि कुल  ३५ प्रतिशत छात्रावृत्ति उपलब्ध गराउँदै आएका छन्।

प्रकाशित: ३० श्रावण २०७९ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App