१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

आठराइ त्रिवेणीमा सात जना विद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रवृति

पालिका भित्रकै सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने भए ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क रुपमा अध्ययन गर्न पाइने भएको छ।  

गाउँपालिकाले पालिकाभरीका ७ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृतिको समेत व्यवस्था गरेको छ भने कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको शुल्क आफूले व्यहोर्न थालेको छ। गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका भित्र कक्षा ११ र १२ पढाई हुने तीनवटा विद्यालय रहेका छन्।  

सरस्वती माध्यमिक विद्यालय हाङ्पाङ,दुर्गा मावि फुलवारी र चाँगे मावि चाँगेमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीले तिर्नुपर्ने सबै शुल्क गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष पोमूले जानकारी दिए ।‘हामीले विद्यार्थीले तिनुुपर्ने शुल्क बापतको रकम सम्बन्धित विद्यालयलाई निकासा गरिसकेका छौँ', अध्यक्ष पोमूले भने। उनका अनुसार यो शुल्क बापत गाउँपालिकाले सरस्वती मावि हाङपाङ र दुर्गा मावि फुलवारीलाई ६–६ लाख र चाँगे माविलाई ४ लाख रुपैँया भुक्तानी गरेको छ।  

विद्यार्थी संख्याका आधारमा शुल्क वापतको रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण हुने पालिका अध्यक्ष पोमूले बताए। पोमूका अनुसार सरस्वती मावि हाङपाङमा कक्षा ११ मा ५८ र १२ मा ३७ जना विद्यार्थी अध्ययन गर्छन्। यस्तै दुर्गा मावि फुलवारीमा कक्षा ११ मा ६१ र १२ मा ४८ जना तथा चाँगे माविमा कक्षा ११ मा ४१ र १२ मा ३५ जना विद्यार्थी रहेका छन् । पालिकाले ति विद्यार्थीका लागि पाठ्यपुस्तक शुल्क समेत व्यहोर्ने गरेको जनाएको छ । पोमूका अनुसार कक्षा ११ र १२ का विद्यार्थीको पाठ्यपुस्तक शुल्क बापत सरस्वती मावि हाङपाङलाई क्रमशः१८ हजार १ सय ३० र १४ हजार ८ सय ९९ रुपैँया भुक्तानी गरिएको छ।  

यस्तै दुर्गा मावि फुलवारीका कक्षा ११ का विद्यार्थीको पाठ्यपुस्तक बापत १६ हजार ५ सय ६ र कक्षा १२ को पाठ्यपुस्तक बापत १५ हजार ५ सय ४७ रुपैँया भुक्तानी भएको छ। यस्तै चाँगे माविका कक्षा ११ अध्ययन गर्ने विद्यार्थीको पाठ्यपुस्तक शुल्क वापत १८ हजार १ सय ३० र कक्षा १२ को पाठ्यपुस्तक शुल्क बापत १४ हजार ८ सय ९९ रुपैँया भुक्तानी भएको पालिकाले जनाएको छ । चालू वर्ष भित्रै निघुरादिनस्थित परमसिंह माविमा समेत कक्षा ११ र १२ को पढाइ सुरु गर्ने योजना रहेको र सुरु भए त्यहाँ अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीको अध्ययन शुल्क र पाठ्यपुस्तक बापतको रकम पालिकाले व्यहोर्ने अध्यक्ष पोमूले बताए।  

नमूना माध्यमिक बिद्यालयको रुपमा रहेको सरस्वती मावि हाङ्पाङमा प्राविधिक विषय  अध्ययन सुुरु गर्ने बारे सम्भाव्यता अध्ययन भइरहेकोले प्राप्त निश्कर्षका आधारमा यो प्रकृया चालू वर्षभित्रै अघि बढ्ने समेत पोमूले बताए। पालिकाले चाँगेस्थित छातेढुङ्गा माविमा अध्ययन गरेका ग्याल्बु शेर्पा र सपत तामाङ,चाँगे मावि अध्ययन गरेका राजन मगर,सरस्वती मावि हाङपाङ अध्ययन गरेका सूर्यमणि दाहाल,दुर्गा मावि फुलवारी अध्ययन गरेकी गुञ्जन प्रधान,गुप्तेश्वर मावि फुलवारी अध्ययन गरेका निमा तामाङ र सरस्वती मावि रमिते अध्ययन गरेका सुमिना लिम्बूलाई उच्च शिक्षातर्फ प्राविधिक विषय अध्ययन गर्न वार्षिक जनही १–१ लाख रुपैँयाका दरले छात्रबृत्ति दिँदै आएको जनाएको छ। उनीहरुलाई कोर्ष पूरा नभइञ्जेल सम्मका लागि वार्षिक रुपमा जनही १–१ लाख रुपैँयाका दरले छात्रबृत्ति दिईरहने समेत पालिकाले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७९ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App