१० मंसिर २०८१ सोमबार
image/svg+xml
शिक्षा

धरासायी बन्दै मधेसको शिक्षा

मधेसका शिक्षालयप्रति घट्दै आकर्षण

भौतिक संरचनामै सीमित जनकपुरधामको ऐतिहासिक रामस्वरुप रामसागर बहुमुखी क्याम्पस। तस्बिरःमिथिलेश यादव/नागरिक

मधेसका उत्कृष्ठ विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ। दोस्रो सोच इन्जिनियर पढ्ने/पढाउने रहेको पाइन्छ।

मधेसमा मुख्यतः चारथरी सोचका विद्यार्थीहरू भेट्न सकिन्छ। एसइईपछि उच्च शिक्षा अध्ययनका लागि ऐच्छिक विषयका रूपमा विज्ञान, व्यवस्थापन, शिक्षा संकाय र प्राविधिक शिक्षा विद्यार्थीहरूको रोजाइमा पर्ने विषय हुन्। ती विषय रोज्न विद्यार्थी र तिनका अभिभावकको आर्थिक हैसियत मुख्य आधार मानिन्छ। सर्लाहीका बुद्धिजिबी रजनिकान्त झाकाअनुसार हुनेखाने परिवारका बालबालिकाको पहिलो रोजाइ विज्ञान विषय हो। केही कमजोर आर्थिक अवस्था रहेको परिवारका बालबालिकाले व्यवस्थापन संकाय रोज्ने गरेको देखिन्छ। मध्यम तथा निम्न वर्गीय परिवारका बालबालिकाले शिक्षा संकाय र प्राविधिक शिक्षातर्फ आकर्षित देखिइरहेको उनले सुनाए।

कक्षा ११/१२ विज्ञानसमेत पढाई हुने प्यारागन पब्लिक स्कूल लहानका संस्थापक उमेश चौधरीका अनुसार यहाँका अधिकांश विद्यार्थी कक्षा ११ पढ्न मधेस प्रदेश बाहिरका कलेज रोज्ने गरेका छन्। यहाँको विज्ञान संकायमा  मुस्किलले २० जना विद्यार्थी भर्ना लिन्छन्। यस वर्ष एसइईमा उतीर्ण विद्यार्थीको मनोविज्ञानलाई अध्ययन गर्दा यस क्षेत्रका विद्यार्थीमा अहिले पनि प्रमुख रोजाईमा पर्ने विषय विज्ञान रहेको उनले बताए। ‘विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरेपछि चिकित्सा, इन्जिनियरिङका साथै अन्य क्षेत्रमा पनि जान सक्ने अवसर हुन्छ भने अन्य विषय लिएर पढेपछि निश्चित क्षेत्रमा सीमित रहनुपर्ने भएकाले हुन सक्छ, विज्ञान पढ्ने विद्यार्थीको संख्या धेरै देखिएको हो,’ चौधरीले नागरिकसँग भने।

 

एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपाणी दाहाल भन्छन्, ‘यस भेगका विद्यार्थीमा पहिलो रोजाई निश्चित रुपमा विज्ञान हो। तर, वाणिज्य तथा व्यवस्थापन विषय रोज्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा वृद्धि हुँदै गएको छ।’ विशेषतः विद्यार्थीहरु अरुको देखासिकीका भरमा कक्षा ११ का लागि विषय रोज्ने प्रवृत्ति हाबी छ। मधेसको समाजमा पहिलादेखि पनि डाक्टर र इन्जिनियर पढेकाहरूको संख्या बढिरहेको र उनीहरूकै सिको गरेर विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या बढी देखिएको उनको भनाइ छ।  

लहान प्यारागन स्कूलबाट उत्कृष्ठ अंक ल्याएर एसइई उत्तीर्ण रामानन्द गुप्ता कम्प्युटर विज्ञान विषय पढ्ने निधो गरी काठमाडौंका कलेजमा नामांकन गराइसकेका छन्।

एभरेष्ट कलेजबाट एसइई उतीर्ण सरोज महतोले व्यवस्थापन पढ्ने निधो गरेका छन्। व्यवस्थापन पढाई हुने यतै थुप्रै कलेज छन्। तर उनी यसका लागि काठमाडौं रोजेका छन्। उनले पढाइको गुणस्तर र परिवेश मन परेर उच्च शिक्षा पढ्न काठमाडौं रोजेको बताए।

एभरेष्ट कलेजबाटै एसइई उतीर्ण भूमि खेतानले व्यवस्थापन पढ्ने तय गरी विराटनगरको मेरिल्यण्ड कलेज छनौट गरेको बताइन्। लहानको पढाइको गुणस्तरभन्दा उताको राम्रो छ उनले भनिन्,‘पढाइ मात्र नभई त्यहाँको परिवेश पनि राम्रो छ। पढाइ र परिवेश दुवै राम्रो भएपछि यहाँ रोकिने प्रश्नै उठ्दैनन्, उनले भनिन्।’

प्रायः निजी विद्यालयमा पढ्ने (आयस्तर राम्रो भएका) विद्यार्थीहरूले विज्ञान र त्यसपछि व्यवस्थापन विषय रोजे पनि मध्यमवर्गीय परिवारका बालबालिकाले छोटो समय र कम खर्चमा पूरा हुने पढाइका रूपमा स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा जाने गरेका छन्।  

मधेसका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण करिब २५ प्रतिशत विद्यार्थी कम खर्चमा पढ्न सकिने प्राविधिक शिक्षा रोज्छन्।  ‘केटाहरू (छात्र) ले इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक्स, कम्प्युटर र एचए तिर जाने चाहना देखाउँछन् भने केटीहरू (छात्रा) ले स्टाफ नर्स पढ्न चाहन्छन्। सामुदायिक विद्यालयतर्फका करिब २० प्रतिशत विद्यार्थी त एसईईको परीक्षासँगै हराउँछन्। केटाहरू विदेश जाने, रोजगारमा लाग्ने र केटीहरूको विवाहका कारण  एसइईपछिको पढाइमा संलग्न हुन नसकिने अवस्था अझै छ। सबैभन्दा दयनीय अवस्था शिक्षा संकायको छ। अन्य विषय पढ्न आर्थिक अभाव र पढाइमा कमजोर देखिएकाहरू मात्रै शिक्षा संकाय पढ्ने गरेकाले अगामी दिनको पनि शिक्षा क्षेत्रको भविष्य चिन्ताजनक नै रहेको सामुदायीक विद्यालयका शिक्षकहरु बताउँछन्।

एभरेष्ट कलेजका प्रिन्सिपल दाहालले पहिलेको तुलनामा नयाँ विद्यार्थीहरूले प्राविधिक शिक्षा रोज्ने क्रमको विकास भएको बताउँछन्। ‘पहिलेको जस्तो विज्ञानमै विद्यार्थी अल्मलिने अवस्था अब रहेन,’ उनले भने, ‘धेरैजसो विद्यार्थी व्यवस्थापन, वाणिज्य, कानुन जस्ता विषय रोज्न थालेका छन्। विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षापछि पढ्न विषय रोज्ने परिपाटीमा सुधार भएको देखिन्छ।’ चालू शैक्षिक सत्रका लागि एभरेष्टकै धेरै विद्यार्थीले व्यवस्थापन विषय पढ्ने इच्छा जाहेर गरेको उनले बताए। बाँकी विद्यार्थी विज्ञान र प्राविधिक शिक्षातर्फ जाने सोच बनाएका छन्।

उच्च शिक्षाका लागि विषय रोज्ने सोचमा परिवर्तन आउन थाले पनि कलेज छनौटको सोचमा बदलाव आउन सकेको छैन। ‘पहिला पैसा हुने जति सबैले आफ्ना बालबालिकालाई कि त डाक्टर, इन्जिनियर वा सिए पढ्न दबाब दिन्थे,’ दाहालले थपे, ‘अहिले पैसाभन्दा बढी विद्यार्थीको मनोभावलाई हेरेर तिनले पढ्ने क्षेत्रको छनोट गर्ने परिपाटीको विकास हुन थालेको छ। तर कलेज भने काठमाडौं र विराटनगरकै रोज्छन्।’

विश्वास गुम्दै

तराई–मधेसका शिक्षालयप्रति पछिल्लो केही वर्षयता विद्यार्थी र अभिभावकमा विश्वास घट्न थालेको छ। ‘पहिला तराई–मधेसको शैक्षिक संस्थाप्रति ज्यादै भरोसा गरिन्थ्यो,’ उनले थपे, ‘अहिले विद्यार्थी र अभिभावक दुवैमा यहाँका विद्यालय र कलेजप्रति विश्वास घट्न थालेको छ।’ यो क्रम कायम रहिरहे मधेस क्षेत्र धरासायी बन्नेछ। धेरै विद्यार्थीको शैक्षिक गन्तव्य मधेस बाहिरका कलेज अर्थात् काठमाडौं र विराटनगर हुनुले मधेस प्रदेशको शिक्षालय विस्तारै ओरालो लाग्दै जानु हो। बाहिरिँदै गरेको विद्यार्थीको लर्को रोक्न नसके यस प्रदेशमा आर्थिक स्रोतको समेत संरक्षण हुन नसक्ने शिक्षका जानकारहरु बताउँछन्। स्थानीय स्तरमा विद्यार्थीलाई रोक्न सके शिक्षाको नाउँमा बाहिर जाने आर्थिक स्रोतको संरक्षण हुनुका साथै स्थानीय साधन र स्रोतको परिचालन र विश्वसनीय शिक्षा पद्धतिको विकासमा बल पुग्ने प्यारागन पब्लिक स्कुलका संस्थापक उमेश चौधरी बताउँछन्।  

प्रवेशिका परीक्षा (एसएलसी) लाई माध्यमिक शिक्षा परीक्षा ( एसइई) नामकरण र १० जोड दुईसम्मको शिक्षालाई माध्यमिक शिक्षा अर्थात् स्कुले शिक्षा परिधिभित्र त समेटियो। तर तत्कालीन ‘प्लस टु’को पाठ्यक्रममा नाम अनुसारको परिमार्जन नहुँदा विद्यार्थीमा एसईई परीक्षापछि पढ्ने विषय र कलेज छनोट गर्ने शैली पुरानै छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम र आसपास क्षेत्रमा पुरानो एसएलसी र अहिलेको एसइईलाई विद्यार्थीले हेर्ने दृष्टिकोण उस्तै रहेको बुद्धिजिबीहरु बताउँछन्। कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाको मापदण्डभित्र ल्याइएको प्रशासनिक घोषणा भएपनि विज्ञान, व्यवस्थापन, शिक्षा वा प्राविधिक विषय रोज्ने क्रम माध्यमिक शिक्षा परीक्षापछि नै सुरु हुने परम्परा यथावत् छ।  

विज्ञान, व्यवस्थापन, शिक्षा वा अन्य प्राविधिक विषयलाई ऐच्छिक विषयका रूपमा कायम गरी १० कक्षाको पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुनेगरी पाठ्यक्रम निर्धारण गरिनुपर्ने बुद्धिजिबीहरुको भनाई छ। नाम परिवर्तन भए पनि कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीले ११ र १२ को शिक्षा कलेजस्तरका रूपमा अहिले पनि ग्रहण गरिरहेका छन्। र, परम्परागत रूपमै अहिले पनि एसईपछि नयाँ कलेजको खोजी गर्ने प्रवृत्ति यथावत् देखिन्छ।

न्युभिजनबाट एसइईमा संलग्नमध्ये करिब ६५ प्रतिशत विद्यार्थीले विज्ञान, ३० प्रतिशतले व्यवस्थापन र मुस्किलले ५ प्रतिशत विद्यार्थी अन्य विषयमा पढ्ने गरेको पाइन्छ।

मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष भागेन्द्र झा भन्छन्,‘मधेसमा पढाइको गुणस्तर र परिवेशले उच्च शिक्षा पढ्नका लागि विद्यार्थीलाई रोकिराखेको छ। यहाँको पढाइको गुणस्तर अपवाद्बाहेक खस्किसकेको छ। पढाइ र परीक्षा प्रणालीको परिवेश विद्यार्थी र अभिभावकलाई निरुत्साहित तुल्याउने गरि विकास हुँदै गएको छ। समग्रमा भन्दा पढाइको गुणस्तरले पठ्नपाठ्नको माहोल वा परिवेश निर्धारण गर्छ’,उपाध्यक्ष झाले भने, ‘अहिले यस मामिलामा मधेस पछि परेको अनुभूति भइरहेको छ।’

एक समय थियो–मधेसको जनकपुर, राजविराज र वीरगन्जका कलेज काठमाडौं सम्मकै विद्यार्थीको प्राथमिक रोजाईमा थियो। कलेज ज्युँका त्युँ छन् तर विद्यार्थी हराउँदै गए। अहिले कलेजको संरचना छ तर कलेजमा पहिलाको जस्तो ‘बात’ छैन। यसको अर्थ यहाँका कलेजहरु विद्यार्थीविहिन बनेको भने होइन। विद्यार्थी त छ तर अधिकांश उत्कृष्ठ विद्यार्थीहरु यहाँका कलेजमा छैनन्। त्यसैले यहाँका कलेजको पहिलाको जस्तो नाम र चर्चा छैन।  

धरासायी बन्दैछ मधेसको शिक्षा

देशमा काठमाडौंपछि मधेसमै स्कूल खुल्न थालेको पाइन्छ। राणाकालमै मधेसमा थुपै्र स्कुल स्थापना भएका छन्। पञ्चायतकालमा पनि स्कूल–कलेज खुल्ने क्रम जारी रह्यो। पञ्चायतका प्रारम्भिक कालमा साक्षरता दरमा काठमाडौं उपत्यकापछि मधेसकै जिल्लाहरु दरिन्थे। दुर्भाग्य ! पञ्चायतपछिको  प्रजातान्त्रकालमा मधेसको शिक्षाको अवस्था ओरालो लाग्दै गयो।  

सन् १९९१ को जनगणनामा नेपालका सबैभन्दा कम साक्षरता दर भएको १० जिल्लामा मधेसको रौतहट जिल्लाको नाम मात्र थियो।  सन् २००१ को जनगणनामा महोत्तरी थपियो। सन् २०११ को जनगणनामा मधेसका बारा, धनुषा, सिरहा, सर्लाही पनि थपिँदै गए। हुँदाहुँदा भर्खरै सम्पन्न जनगणनामा मधेसका आठ वटै जिल्ला जोडिन पुगेका छन्। यसबीच, मधेसका जिल्लामा साक्षरता दर नबढेको होइन, तर तुलनात्मक रूपमा पहाडका जिल्लामा साक्षरता दर तीव्र गतिमा बढ्यो।

०५५ सालसम्म मधेसका कलेज पहाडका विद्यार्थीका लागि आकर्षणको केन्द्र थियो। जस्तै– सिन्धुलीका विद्यार्थी कलेज पढ्न जनकपुर पुग्थे। परिस्थिति बदलिएको छ। दक्षिणी सीमाक्षेत्रका मधेसी आफ्ना बालबालिकालाई पूर्व–पश्चिम राजमार्ग क्षेत्रका स्कूल–कलेजमा पढाउन रुचाउँछन्। राजमार्ग क्षेत्रका नवस्थापित सहरहरूमा मिश्रित समाज छ, जहा“ शिक्षाको अवस्था तुलनात्मक रूपमा राम्रो छ।

अहिले जनकपुरधाम छेउछाउ गाउँका अभिभावकले आफ्ना बच्चालाई काठमाडौंका स्कूलमा भर्ना गराउन रुचाउँछन्। जनकपुरधाम र जलेश्वरभन्दा यस भेगका अभिभावक सिन्धुलीको  पढाइमा विश्वास गर्छन्। गौर र कलैयाछेउछाउका अभिभावकले आफ्ना छोराछोरी हेटौँडामा पढाउन रुचाउँछन्। सप्तरी–सिरहाका अभिभावकले आफ्ना सन्तानलाई जनकपुरभन्दा पनि विराटनगर र धरानमा भर्ना गराइरहेका छन्। राजमार्ग क्षेत्रका नवस्थापित सहरहरूमा मिश्रित समाज छ, जहाँ शिक्षाको अवस्था तुलनात्मक रूपमा राम्रो छ।  

पछिल्लो समय प्रदेश १ को विराटनगरका सहर शिक्षाको भरपर्दो हवको रुपमा विकास हुनुमा मधेसको योगदान कारक हो। यहाँका स्कूल कलेजमा अधिकांश सिरहा, सप्तरी र धनुषाका विद्यार्थी भरिएका छन्।  

मधेसमा शिक्षा ध्वस्त भएको ०५०–५५ सालपछि हो। सरकारी विद्यालय समुदायलाई हस्तान्तरण गर्ने योजनाले पठनपाठन धराशायी बनाउनमा सबैभन्दा बढी भूमिका खेल्यो। शिक्षा क्षेत्रको निजीकरण–व्यापारीकरणको प्रभाव आमरूपमा सहरी क्षेत्रमा प¥यो भने ग्रामीण क्षेत्रमा पहाडभन्दा मधेसमा ज्यादा परेको देखियो। साधन स्रोतका धनी र सस्तो शुल्क भएका सार्वजनिक स्कूलभन्दा निजी विद्यालय उत्तम मान्ने आममनोविज्ञान विकास हुन पुग्यो। तर, मधेसमा केही खास कुरा देखिए, जसले मधेसीबाहुल्य जिल्लामा शैक्षिक अराजकताको माहोल बन्यो। जसले मधेसको शिक्षालाई रसातलमा पुर्याउँदै छ।

मधेसको शिक्षालाई लयमा फर्काउन सरकारले मात्र पहल कदमी लिएर नपुग्ने नीति आयोगका उपाध्यक्ष झाले बताए। यसका लागि शिक्षक, अभिभावक र सम्पूर्ण समाजको सकारात्मक सक्रियता आवश्यक छ।

प्रकाशित: २५ श्रावण २०७९ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App