४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

त्रिचन्द्र कलेज छिट्टै बनाउँछुः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिबद्धता जनाएका छन्। पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरू त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपर्ने अवस्थाबारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीहरूले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए। विद्यार्थीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिबद्धता जनाएका हुन्।

नेविसंघका विद्यार्थीले देउवालाई भेटेको र प्रधानमन्त्री देउवाले निकै गम्भीरतापूर्वक समस्या सुनेर तत्काल कलेज बनाउनतर्फ लाग्ने प्रतिक्रिया दिएको नेता विपीन ढुंगानाले बताए। ‘म पढेको कलेज हो त्रिचन्द्र। म अहिले प्रधानमन्त्री पनि छु। यो कलेजले थुप्रै प्रधानमन्त्री उत्पादन गरेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै विद्यार्थी नेता विपीनले नागरिकसँग भने, ‘मेरो कलेज म आफै लागेर छिटै बनाउँछु। तपाईहरू चिन्ता नलिनुस्। त्रिचन्द्रको समस्यााबारे म जानकार छु।’ प्रधानमन्त्री देउवाको थप भनाइ उद्धृत गर्दै उनले भने, ‘एक शताब्दीभन्दा लामो इतिहास बोकेको क्याम्पस पुराताŒिवक हिसाबले समेत महŒवपूर्ण सम्पादनका रूपमा रहेको छ। पुनर्निर्माणका लागि बजेटको व्यवस्थापन गर्न मैले सम्बन्धित निकायसँग सहकार्य गरी पहल गरिसकेको छु।’ विद्यार्थीहरूका अनुसार २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको त्रिचन्द्र कलेजका कक्षाकोठामा वर्षाको मौसममा पानी चुहिने, दलिनबाट माटो झर्ने गर्छ।

नेविसंघका अर्का नेता सेरेन जोशीले कलेज परिसर घेर्ने पर्खालसमेत भत्किरहेको बारेका प्रधानमन्त्री देउवालाई जानकारी गराएको बताए। ‘कलेजको अवस्थाबारे थाहा पाएर प्रधामन्त्रीकै चिन्तित हुनुभएको छ,’ उनले नागरिकसँग भने, ‘हामीले कलेजमा जोखिम मोलेर पढ्नुपरेको छ। १५ दिनयता हामी त्रिचन्द्र बचाउ अभियान र आन्दोलनमा छौं। प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ। केही निकास निस्कने विश्वास छ।’ वर्षाका कारण हाल थप जीर्ण बन्दै गएको भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरूको पठनपाठनै अत्यन्तै अस्तव्यस्त बनेको सेरेनले बताए। भूकम्प गएको सात वर्ष बितिसक्दा पनि ऐतिहासिक त्रिचन्द्र कलेजको जीर्णोदार हुन सकेको छैन। भूकम्पले क्षति भएका थुप्रै स्कुल, कलेज, नजिकैको दरबार स्कुल र रानी पोखरीसमेत बनिसक्दा सँगैको कलेजको पुनर्निर्माणमा सरकारले चासो नदिएपछि विद्यार्थीहरूले त्रिचन्द्र बचाउ अभियान सुरु गरेका हुन्।

घन्टाघरसँगै रहेको भूकम्पले जीर्ण बनेको भवनमा शौचालयसमेत व्यवस्थित नहुँदा कलेज नै दुर्गन्धित बनेको सोही भवनको जियोलोजी विभागमा अध्ययनरत गरिमा पाण्डेको गुनासो छ। ‘कलेजमै लामो समय बिताउनुपर्छ। तर हाम्रो भवनमा शौचालयको अवस्था जीर्ण छ। पानी र अन्य आधारभूत आवश्यक पर्ने सामग्रीसमेत छैन। यसले महिनावारीको समयमा सास्ती नै खेप्नुपरेको छ,’ उनले भनिन्।

नेविसंघले आफ्नो अगुवाइमा दुई सातादेखि कलेजका विद्यार्थी भूकम्पले जीर्ण भएको कलेजको भवन पुनर्निर्माणका लागि माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएको छ।

कलेज प्रमुख सुनिल अधिकारीले पूर्वप्रधानमन्त्री, हालका मन्त्री, राष्ट्रपतिलगायत सबै सम्बन्धित निकायमा २०औं पटकसम्म कलेजको अवस्थाबारे जानकारी गराइसकेको भए पनि हालसम्म कलेजको पुनर्निर्माणबारे कुनै निकायले चासो नदेखाएको बताए। ‘भूकम्प गएको सात वर्षभित्र देशका हजारौं विद्यालय पुनर्निर्माण भए, नजिकैको दरबार स्कुलको भवनै ठडियो। यति मात्र होइन स्कुलसँगै जोडिएको रानीपोखरी समेत पुनर्निमांण भयो,’ उनले नागरिकसँग भने, ‘तर रातो स्टिकर टाँसिएको भवनमा विद्यार्थी बसेर पढिरहेको र शिक्षकले पढाइरहेको कसैको आँखा नपर्नु चिन्ताको विषय हो।’

प्रकाशित: २४ असार २०७९ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App