१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

फाइल तस्बिर

बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ। पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको छ। 

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने योजना एक महिनामै कार्यान्वयनमा ल्याएका हुन्।  

दुर्गम मानिने तमानखोला गाउँपालिका–३ तमान गाउँमा पालिकाले बालगृह सञ्चालन गर्न थालेको छ। बालगृहमा अहिले १६ बालबालिकालाई आश्रय दिएर गाउँपालिकाले निःशुल्क शिक्षाको व्यवस्थापन मिलाएको छ। अभिभावक गुमाएका, शिक्षाबाट वञ्चित भएका र पालनपोषणको अभावमा विद्यालय आउन नसकेका बालबालिकालाई पालिकाले बालगृहमा राखेर अध्ययन गराउन बालगृह सञ्चालनमा ल्याएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।  

उनीहरुले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन्। कक्षा १२ सम्म पालिका र बालगृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको छ।  

प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरुको स्वास्थ्य परीक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्ने गरी कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बुढामगरले बताए।  

'अभिभावक नभएका, शिक्षा लिनबाट वञ्चित भएका र असहाय बालबालिकाको कक्षा १२ सम्म पठनपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, पालिकामा  बालबालिका कोही पनि पढ्नबाट वञ्चित नहोस् भन्ने हिसाबले हामीले अहिले बालगृहको सञ्चालनमा ल्याएको हौँ', अध्यक्ष बुढामगरले भने।  

गाउँपालिकाको  दुई लाख अनुदानसहित थालनी गरिएको बालगृह कोषमा शिक्षाप्रेमीबाट आठ लाख गरी १० लाख जम्मा भइसकेको छ। यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएका छन्। रासस

प्रकाशित: १८ असार २०७९ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App