१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

गुरुङचौरीमा विज्ञान विषयको नि:शुल्क पठनपाठन

नमूना माविको बहुवर्षीय योजनाको नक्शा। तस्विरः महेश्वर/नागरिक

उदयपुरको बेलकास्थित जनता नमूना माध्यामिक विद्यालय गुरुङचौरीमा विज्ञान विषयमा निशूल्क पठनपाठन सुरु भएको छ। बेलका नगरपालिका ४ गुरुङचौरीस्थित नमूना माविमा यही शैक्षिक वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन निशुल्क गरिएको हो।  

नर्सरीदेखि अंग्रेजि र नेपाली दुवै माध्याममा पठनपाठन हुँदै आएको सो विद्यालयमा प्राविधिक धारतर्फ माध्यामिकतहकै कक्षा ९ देखि सिभिल इन्जिनियरसमेतको पढाई भईरहेको छ। विज्ञान विषयमा भने विगत दुईवर्षयता पठनपाठन हुँदै आए पनि आर्थिक अवस्था कमजोर भएकाले शूल्क लिने गरिएको थियो। शुल्क तिरेर पढ्नु पर्दा मेधावी विद्यार्थीहरु पनि गरिवी र बिपन्नताका कारण शुल्क तिर्न नसक्दा पढन् नपाउने भएपछि निशूल्क पढाउने व्यवस्था मिलाइएको प्रधानाध्यापक (प्रअ) सम्मर राईले बताए।  

प्रअ राईका अनुसार विज्ञान पढ्न चाहने विद्यार्थीहरु शूल्क तिर्न नसक्दा पढ्नै नपाउने स्थितिको अन्त्य गर्न विद्यालयले नगरपालिकासँग अनुदान सहयोग मागेको थियो। प्रअ राईले सरकारी विद्यालय भएकाले शुल्क लिन नमिल्ने भए पनि विज्ञान पढाउन प्रसस्त प्रयोगात्मक सामग्री, छुट्टै प्रयोगशाला र अतिरिक्त दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्दा केही शुल्क लिनैपर्ने बाध्यता रहेको बताए। सो समस्या टार्नैका लागि पनि न्यूनतम शुल्क लिनुपर्दा विज्ञनान विषय पठनपाठनमा समस्या आएप्छि नगरपालिकासँग सहयोग मागिएको उनले बताए।  

विद्यालयको आग्रह अनुसार नगरपालिकाले चालु वर्षदेखि नै अनुदान दिने निर्णय गरेसँगै पठनपाठन निशुल्क गर्न थालेको प्रअ राईले बताए। नगरपालिकाले चालु वर्ष ५ लाख र आगामी वर्षका लागि पनि ५ लाख नै अनुदान दिने गरी बजेट सुनिश्चित गरेपछि यही शैक्षिक वर्षदेखि विज्ञान पढ्न चाहने विद्यार्थीहरु निशुल्क पढ्न पाउने भएका हुन्।

बेलका नगरप्रमुख अशोक कार्कीले गाउँमै विज्ञान पढ्न चाहने विद्यार्थीलाई सहजरुपमा शिक्षा पाउने वातावरण बनाउन नगरपालिकाबाट अनुदान दिने निर्णय गरेको बताए। आर्थिक अभावकै कारण नगरबासी बालबालिकाले पाउने शैक्षिक वातावरण बनाउन चालु र आगामी वर्ष पनि अनुदान दिन लागिएको बताए। उनका अनुसार चालुवर्ष ११ र १२ कक्षामा विज्ञान विषयको पठनपाठन निशुल्क गर्न विद्यालयले मागे अनुसार १० लाख अनुदान दिने भर्खरै सम्पन्न नगरसभाले निर्णय गरिसकेको छ।  

विद्यालयले विज्ञान विषयको पठनपाठन गर्नका लागि कक्षा ११ र १२ का लागि मात्र भौतिक, रसायन र जीव शास्त्रमा स्नातकोत्तर शिक्षकको व्यवस्थासमेत गरिसकेको छ। स्नाकोत्तरतह उत्तिर्ण गरेका सक्षम र अनुभवी शिक्षकको व्यवस्था गरेर सुलभ प्रयोगशाला र प्रयोगात्मक सामग्रीको पर्याप्त व्यवस्था गरेर पठनपाठन थालिएको प्रअ राईले बताए। विषयगत शिक्षकहरुको अभाव हुन नदिन विद्यालयले अतिरिक्त व्ययभार बेहोरेरै भए पनि दक्ष शिक्षकहरुको व्यवस्था गरिएको उनले बताए। त्यसका लागि भौतिक विज्ञान पढाउन रोचक दाहाल, रसायनका लागि रबि धमला र जीव शास्त्र पढाउन सुजन चौधरीलाई भर्ना गरिएको छ। चौधरी जीव विज्ञानतर्फ स्नातकमा नेपाल प्रथम र वनस्पति विज्ञानमा स्नातकोत्तर हुन्।

नगरको अनुदान सुनिश्चित भएपछि बेलकामै विज्ञान विषय पढ्न पाउने भएपछि स्थानीय अभिभावक र विद्यार्थीमा खुसी छाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले बताए। उनका अनुसार यो अवसरले जेहेन्दार छात्रछात्राले विज्ञान पढ्न गाउँ छाडेर जानु नपर्ने वातावरण सिर्जना भएको छ। विद्यालयले यसअघि नै विद्यार्थीलाई सहज तरिकाले स्कुल आउजाउ गर्न २ वटा बससमेत खरिद गरेर सञ्चालनमा ल्याईसकेको छ।  

कक्षा नर्सरीदेखि १२ सम्म साधारण र प्राविधिक विषयमा पठनपाठन हुने सो विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यामको पढाई हुने गरेको छ। दुईवर्षअघि नमूना माविमा स्तरो्न्नति भएपछि विद्यालयका अन्य आवश्यक पूर्वाधार संरचनाहरुको वहुवर्षीय निर्माण कार्य धमाधम भईरहेको छ। चालु वर्ष पनि ८ कोठे बहुवर्षीय भवन निर्माण भईरहेको छ भने करोडौं लागतमा आकर्षक र बहुआयामिक भवनलगायत भौतिक संरचनाहरु निर्माण गर्ने वहुवर्षीय योजना सञ्चालन हुने राईले बताए।

प्रकाशित: १७ असार २०७९ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App