२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

सेवा निवृत्त ६ शिक्षक शिक्षिकाहरु सम्मानित

सेवा निवृत शिक्षक समाज भक्तपुरले सेवा निवृत्त भएका भक्तपुरका ६ जना शिक्षक शिक्षिकाहरु सम्मान गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो।

उनीहरुलाई दोसल्ला ओढाउनुका साथै  प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो। सम्मानित हुने सेवा निवृत्त शिक्षकहरुमा चन्द्रबहादुर गोसाई, सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाख, रत्नदेवी प्रजापति र शिवकुमार कर्माचार्य रहेका छन्।

उनीहरुलाई वागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले सम्मान गरेका हुन्। कार्यक्रममा गोसाईले  शिक्षकलाई सम्मान नहुने समाजलाई उत्कृष्ट समाज भन्न नसकिने बताए। नेपाल सरकारले गर्नुपर्ने काम समाजले गरेको भन्दै उनले आयोजकप्रति आभार प्रकट गरे।

आयोजक समाजका अध्यक्ष अम्विकामान मानन्धर, सचिव शेरबहादुर ङाखुसी, कोषाध्यक्ष विश्वराम कवां, संयुक्त परीषा समिति भक्तपुरका गणेशराम थुसा, सम्मानितहरुको तर्फबाट सरोजकुमार दत, सदस्य रत्नकेशरी कक्षपतिलगायतले २०७३ साल असार ९ गते स्थापित समाजमा हालसम्म जिल्लाका दुई सय २० जना सेवा निवृत्त शिक्षकहरु सदस्य रहिसकेको बताए।

साथै समयसमयमा गरी समाजले ५० जना सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिसकेको उनले बताए। कार्यक्रममा समाजको अर्ध वार्षीक बुलेटिन शैक्षिक अनुभवको अंक १० को पनि विमोचन गरिएको थियो। कार्यक्रममा सम्पादक ज्ञानसागर प्रजापतिले बुलेटिनमा भएका विभिन्न लेखरचनाहरु बारे चर्चा गरे। पुस्तक एक सय ३० पृष्ठको रहेको छ।

प्रकाशित: २५ चैत्र २०७८ १२:२० शुक्रबार