५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षण पेशामा आकर्षण बढी

माध्यमिक तहको शिक्षक दरबन्दीमा पदभन्दा २२ गुणा बढी परीक्षार्थीले परीक्षा दिए

शिक्षण पेसामा हाल आकर्षण बढेको छ। शिक्षक सेवा आयोगले मंगलबार खुला दरबन्दीमा माध्यमिक तहको परीक्षा सञ्चालन गर्यो। माध्यमिक तहको कुल रिक्त दरबन्दी एक हजार ५ सय ५२ पदका लागि आयोगको परीक्षामा ३५ हजार ५ सय ५६ परीक्षार्थाीले परीक्षा दिए। देशभरिका एक सय ५४ परीक्षा केन्द्रबाट खुला प्रतियोगिताका लागि दरबन्दीभन्दा २२ गुणा परीक्षार्थीले बढी परीक्षा दिनुले नै शिक्षण पेसामा आकर्षण बढ्दै गएको अनुभव हुन्छ।

सरकारले शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको थप सेवासुविधाको व्यवस्था गरेकै  कारण  नयाँ शिक्षकहरू विद्यालय शिक्षामा प्रवेश गर्न आकर्षित भएको जानकारहरूको तर्क छ।

अब विद्यालय तहमा योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मंगलबार मावि तहको परीक्षामा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको आयोगले जनाएको छ।

माध्यमिक तहको अध्यापन गराउनका लागि स्नातक तह र सोभन्दा माथिका तहका परीक्षार्थीहरूले परीक्षामा सहभागिता जनाएका हुन्। यति मात्र होइन निम्न माध्यमिक तह र प्राथमिक तहमा पनि दरबन्दीभन्दा धेरै गुणा बढी परीक्षार्थीले परीक्षा दिंदै छन्।

६/६ महिनामा खुल्नुपर्ने आयोग यसपटक चार वर्षपछि बल्ल परीक्षाका लागि खुला भएको छ। मावि, निमावि र प्रावि गरी तीनै तहका लागि खुला परीक्षा गर्दै छ। यसकारण पनि रिक्त दरबन्दीभन्दा बढी परीक्षार्थीहरू परीक्षामा सहभागिता जनाएको हुन सक्ने आयोगका पदाधिकारीहरूको भनाइ छ।

आयोगले पछिल्लो समय ०७४ साल असार १ गते स्थायी शिक्षक दरबन्दीमा  परीक्षा गरेको थियो। चार वर्षको दौरानमा अर्थात् चैत्त मसान्तभित्र देशभरि रिक्त रहेका वा रिक्त हुंदै गरेको माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तह गरी कुल १७ हजार ४ सय ५५ शिक्षक दरबन्दी रिक्त हुन गएको  सूचना अधिकारी सुदर्शन मरहठाले बताए।

उनका अनुसार निमावि तहमा कुल रिक्त दरबन्दी २ हजार ६ सय ६ पदका लागि ८५ हजार ७ सय ७६ ले परीक्षा दिँदै छन्। रिक्त  दरबन्दीभन्दा ३१ गुणा बढी फारम भर्ने निमाविको परीक्षा चैत्त १७ गते तय गरिएको छ भने प्राथमिक तहमा कुल रिक्त दरबन्दी १३ हजार २ सय ९७ रहेको छ। यसका लागि कुल एक लाख १३ हजार ४ सय ४७ अर्थात् ८ गुणा बढी छन्।

सूचना अधिकारी मरहठाका अनुसार हाल शिक्षण पेसामा आकर्षण बढेकाले धेरै विद्यार्थीले आवेदन भरेका हुन्। सरकारले शिक्षण पेसालाई थप आकर्षण बढाउन शिक्षकको सेवासुविधा निजामती सरह गरेसँगै यो पेशाप्रति आकर्षण बढेकै कारण परीक्षार्थी धेरै भएको उनको ठहर छ।

तर, आयोगकै तथ्यांक हेर्ने हो भने हालसम्म शिक्षण अध्यापन अनुमति पत्र लिएका ७ लाख १७ हजार  १ सय ५ रहेका छन्। यिनीहरू अझै शिक्षण पेसामा आबद्ध हुन पाएका छैनन्।

‘सरकारले हाल शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको सेवासुविधाको व्यवस्था गरेको छ। शिक्षक स्कुल, शिक्षक अस्पतालदेखि शिक्षकका छोराछोरीलाई छात्रावृत्ति, घर पायक पर्ने स्थानीय तहको स्कुलमा अध्यापनको अनुमति दिनुले शिक्षकले घरको खाना खाएर स्कुल जान सक्ने अवस्था भएको छ,’ सूचना अधिकारी मरहठाले नागरिकसँग भने,‘साथै शिक्षकलाई सामाजिक रूपले पनि प्रतिष्ठित व्यक्ति मानिने र सम्मानित पेसाको रूपमा हेर्ने दृष्टिकोणका कारण पनि आकर्षण बढेको हो।’ उनले थपे,‘तल्लो तहमा माथिल्लो तहको शैक्षिक योग्यता भएका शिक्षकले समेत फारम भरेकाले तल्लो तहमा बढी परीक्षार्थी देखिएको हो तर माध्यमिक तहको दरबन्दीमा विशुद्ध स्नातक तह र सोभन्दा माथिका मात्र परीक्षार्थी भएकाले यो तहमा हामीले दरबन्दीभन्दा  २२ गुणा बढी परीक्षार्थीले परीक्षा दिंदै छन् र  यो ठूलो संख्या हो  भन्नुपर्छ।’

शिक्षक किताब खानाका प्रमुख रामराज खकुरेलले दरबन्दीभन्दा धेरै गुणा बढी परीक्षार्थी माध्यमिक तहको परीक्षामा सहभागिता जनाउनु भनेकै देशमा शिक्षित बेरोजगार बढेको भन्ने बुझ्न सहज भएको ठोकुवा गरेका छन्।

‘शिक्षा पढेर अध्यापन अनुमति लिएर बेरोजगार बसेका धेरै छन्’ प्रमुख खकुरेलले नागरिकसँग भने, ‘यी जनशक्ति योग्यता भएर पनि काम नपाएर बसेका जनशक्ति हुन्।’ उनले सुझाए, ‘मुलुकले कति जागिर दिन सक्यो, कति सक्छ र कतिले सेवा दिए भन्नेबारे अब अध्ययन–अनुसन्धान गरेर यी जनशक्तिलाई व्यवस्थापन गर्न समयमै ध्यान दिनुपर्छ।’

शिक्षकले अझै पनि अनलाइन फारम भर्न सक्दैनन्

यसपटक आयोगले शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन आवेदन अनलाइन भर्न लगाएको थियो। चैत्त १५ गते सुरु हुने मावि तहको रिक्त दरबन्दीको तृतीय श्रेणीको खुला प्रतियोगिताका लागि आयोगले परीक्षार्थीलाई अनलाइन फारम भर्न लगाएको थियो। तर, शिक्षकहरूले फारम भर्दा राम्ररी अनलाइन र कम्प्युटर चलाउन नसकेको कारण नामनामेसी लगायतका थुप्रै त्रुटि भेटिएपछि आयोगले परीक्षाका लागि प्रवेश–पत्रका साथै सवारी चालक अनुमति पत्र वा अध्यापन अनुमतिपत्र समेत अनिवार्य गरेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठाले बताए।

प्रकाशित: १६ चैत्र २०७८ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App