३० वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

ताप्लेजुङका विद्यालय बन्द नहुने, माघ ४ बाटै विद्यालय खोल्न पालिकाको उर्दी

सक्रिय कोरोना संक्रमितको संख्या शून्य रहेको भन्दै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले माघ ४ गतेबाट विद्यालयको पठनपाठन सुचारु गर्न पालिकाभरीका विद्यालयलाई पत्र पठाएको छ।

संघीय सरकारले भने माघ १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको छ। आठराई त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय इङ्नामले पालिका क्षेत्रमा अहिलेसम्म सक्रिय कोरोना संक्रमित शून्य रहेको अवस्थामा विद्यालय बन्द गर्ने निर्णय वाञ्छनीय नहुने भएकाले गाउँ कार्यपालिकाले सो निर्णय गरेको बताए।  

कार्यपालिकाको बैठकले अहिले तत्काल विद्यालय बन्द गर्न आवश्यक नदेखिएको ठहर गर्दै माघ ४ गतेबाट नियमित र पूर्ववत अवस्थामै विद्यालय सञ्चालन हुने पालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए। उनले भने, ‘अवस्था जटिल भएको र जोखिम बढेको अवस्थामा बाहेक अर्को सूचना जारी नभएसम्म पालिका क्षेत्रका विद्यालयहरुमा नियमित रुपमा पठनपाठन हुनेछ।’

उनले पालिकाले गरेको यस्तो निर्णय कार्यान्वयनका लागि गाउँपालिका प्रशासनले पालिकाभरीका सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गरेको जानकारी दिए। ओमिक्रोन संक्रमणको बढ्दो प्रभावबीच नेपाल सरकार शिक्षा मन्त्रालयले पुस २७ गतेबाट माघ १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ३० पुस २०७८ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App