२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

मनकारी वडाध्यक्षः जो तलब–भत्ता विद्यार्थीको पढाइमा खर्चिन्छन्

राजनीतिलाई समाजसेवा भन्ने गरिन्छ। केही अपवादबाहेक धेरैले यसलाई ‘पेशा’का रुपमा लिन्छन्। राजनीतिबाटै लाभको पदमा पुगेकाहरुले पाउने सेवा–सुविधावापतको रकम त सामाजिक सेवामा खर्चिने त विरलै पाइन्छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका दुई जना वडाध्यक्षले सरकारी सेवाबापत आफूले पाएको तलब पारिश्रमिक बालबालिकाको शिक्षामा खर्चिने गरेका छन्।

वीरेन्दनगर–४ का अध्यक्ष भूपेन्द्र खत्री र वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले जनप्रतिनिधि हुँदा पाएको सरकारी सुविधावापतको तलब भत्ता गरिब, जेहेन्दार तथा आश्रित बालवालिकाको शिक्षामा खर्चिएका छन्।

वडा नं. ३ का अध्यक्ष खत्रीले निर्वाचित भएयता प्राप्त तलब, भत्तालगायतको आठ लाख रुपैयाँबाट ‘भूपेन्द्र खत्री छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेका छन्। उक्त अक्षयकोषमार्फत वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा आश्रित बालबालिकालाई छात्रवृत्ति र पोशाक वितरण गर्छन्।

वडाध्यक्ष खत्रीले वडाभित्रका हरिडिलभूमि माध्यमिक विद्यालयमा पाँच लाख र जगन्नाथदेवी आधारभूत विद्यालयमा तीन लाखको कोष स्थापना गरेका छन्। कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब, जेहन्दार तथा आश्रित बालवालिकालाई छात्रवृत्ति प्रदान गर्ने गरिएको उनले बताए। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित खत्रीले आफ्नो कार्यकाल रहँदासम्म पाउने सरकारी सेवा–सुविधा अक्षय कोषमा जम्मा गरिने बताएका थिए।  

‘अध्यक्षमा निर्वाचित भएलगत्तै सरकारी सेवा–सुविधा सामाजिक काममा लगाउने घोषणा गरेको थिएँ,’ जगन्नाथ आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण गर्दैै उनले भने, ‘त्यहीँ प्रतिवद्धता अनुसार सेवा क्षेत्रका दुईवटै सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको हुँ।’ उनले बाँकी रहेको कार्यकालमा पनि प्राप्त हुने सेवा–सुविधा अक्षयकोषमा जम्मा गर्ने बताए।

अक्षयकोष सञ्चालनका लागि कार्यविधि बनाइएको छ। कार्यविधि अनुसार गरिब तथा जेहनदार छात्रवृत्तितर्फ छनोट भएका विद्यार्थीले एक हजार ५००, शारिरिक अपाङ्गतातर्फ छनोट भएका विद्यार्थीले दुई हजार र आश्रित बालवालिका छात्रवृत्तितर्फ छनोट भएका विद्यार्थीले तीन हजार रुपैयाँ वार्षिक छात्रवृत्तिस्वरुप पाउने छन्।

यस्तै वडा नं. ९ का अध्यक्ष मानन्धरले वडाभित्रका तीनवटा समुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। मानन्धरले कांग्रेसका पूर्व वडासभापति लोकबहादुर विसीको सम्झनामा ‘लोकबहादुर विसी गरिव जेहेन्दार’ छात्रवृत्ति कोषको स्थापना गरेका हुन्। ‘वडाध्यक्षमा निर्वाचित भएपछि प्राप्त तलब, भत्तावापतको रकमबाट नेपाल राष्ट्रिय आधाभूत विद्यालय, शिव मावि र कोपिला माविमा एक लाख ११ हजार १११ रुपैयाँको छुट्टाछुट्टै अक्षयकोष स्थापना गरिएको छ,’ उनले भने, ‘कार्यकाल रहँदासम्म प्राप्त रकम पनि सबै विद्यालयमा समान तरिकाले जम्मा गर्नेछु।’  

उनले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताए।

वडाध्यक्ष मानन्धरले आर्थिक रुपमा सम्पन्न परिवारका बालबालिकाहरु निजी विद्यालयमा अध्ययन गर्ने र अधिकांश विपन्न, गरिव र आश्रित बालबालिकाहरु मात्रै सरकारी विद्यालयमा अध्ययनका लागि आउने भएकाले उनीहरुको शिक्षाका लागि छात्रवृत्ति कोषको व्यवस्था गरिएको बताए।

प्रकाशित: १० पुस २०७८ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App