१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

रोजाइमा बिबिए र बिबिएम

स्नातक शिक्षा विशेष

सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कुतूहलताले छोएको छ। यो स्वाभाविक पनि हो। कतिपय विद्यार्थीले विभिन्न संकायका विषय छनोट गरिसकेका छन्। कति विद्यार्थी कुन संकायको कुन विषय पढ्ने भन्ने विषयमा अन्योलमा पनि छन्।

कक्षा १२ पछि के पढ्ने ? कहाँ पढ्ने ? कुन कलेजको सेवासुविधा कस्तो छ ? भनेर बुझ्नका लागि विद्यार्थी यतिखेर लागिपरेका छन्। अहिले विद्यार्थीले आफूले कक्षा १२ मा हासिल गरेको जिपिएका आधारमा विषय छनोट गर्ने गरेका छन्। माथिल्लो जिपिए ल्याउने विद्यार्थीको रोजाइमा साइन्स, इन्जिनियरिङ र व्यवस्थापनका विभिन्न विषय रोजाइमा पर्ने गरेका छन्। प्रविधिको तीव्र विकाससँगै विद्यार्थीले विश्व वजारमा बढेको मागका आधारमा आफ्नो भविष्यको परिकल्पनासहित विषय छान्ने गरेका छन्।

अहिले पनि धेरै विद्यार्थीको रोजाइको संकाय हुने गरेको छ, व्यवस्थापन। स्नातक तहमा व्यवस्थापनअन्तर्गत अधिकांश विद्यार्थीको पहिलो रोजाइमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) अनि बिबिएम हुने गरेका छन्। यो विषयको अध्ययनपछि विद्यार्थीले सैद्धान्तिक ज्ञान पाउनुका साथै कुशल व्यवस्थापकको रूपमा आफूलाई स्थापित गर्न सक्छन्। धेरै विद्यार्थीको रोजाइमा पर्ने यो विषयलाई विश्वमै मान्यता बोकेको विषयका रूपमा हेरिने जानकारहरू बताउँछन्। लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ कलेज) का अध्यक्ष पंकज जलान अहिलेको विद्यार्थीको आकर्षण बिबिएम रहेको अनुभव साट्छन्।

‘व्यवस्थापनमा आधारित यस विषयले विद्यार्थीलाई उद्यमी बन्न सिकाँउछ,’ उनी थप्छन्, ‘सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले यसमा प्रभावकारी सिकाइ हुने भएकाले बजारमा सिधै काम गर्न सक्ने जनशक्ति तयार हुन्छ।’ आफ्नो कलेजमा पनि बिबिएम ई बिजनेसको पढाइ हुने जनाउँदै उनले विद्यार्थीले पढ्दापढ्दै काम पाइरहेको सुनाए। ‘पढ्दापढ्दै खल्तीले विद्यार्थीलाई पेड इन्टर्नसिप गराउने व्यवस्था हामीले मिलाएको छौं,’ उनले भने, ‘त्यसरकाण हाम्रा कलेजका विद्यार्थीले रोजगारी पाउने मात्रै होइन, आफैं मालिक बनेर रोजगारी दिने काम पनि गरिरहेका प्रसस्त उदाहरण छन्।’

व्यवस्थापन संकायको स्नातक तहको सेमेस्टर प्रणालीअन्तर्गत विषयहरू विद्यार्थीको प्रमुख रोजाइमा पर्ने गरेका छन्। पुराना तथा परम्परागत शैलीका पाठ्यक्रममा विद्यार्थीको रुचि घट्दै गएपछि विकल्पका रूपमा प्रयोगमा ल्याइएका विषयमा विद्यार्थीको चाप थामिनसक्नु देखिएको जानकार बताउँछन्।

नेपाल मेगा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे रोजगारका दृष्टिकोणले धेरै अवसर सृजना गर्नसक्ने विषयका रूपमा पनि व्यवस्थापन संकाय परिचित रहेको बताउँछन्। उनको अनुभवमा बैंक, वित्तीय संस्था, औद्योगिक कम्पनी, व्यापारिक प्रतिष्ठान एवं प्रशासनिक क्षेत्रलगायतमा व्यवस्थापन अध्ययन गरेका जनशक्तिको माग सधैं हुन्छ। ‘व्यवस्थापन संकायमा आएको विविधताले पनि यो संकायको पछिल्ला वर्षमा ह्वात्तै बढेको छ,’ उनले थपे, ‘व्यवस्थापन संकायभित्र विकास भएका स्पेसिफिक कोर्सले यो संकायमा असीमित क्षेत्र भएको प्रस्ट पारेको छ।’

यसले रोजगारी पाउन सहज बनाएको उनको अनुभव छ। ‘भेराइटी अफ कोर्स व्यवस्थापन संकाय आकर्षणको एउटा मूल कारण हो,’ उनले थपे, ‘यतिलाई मात्र आधार मान्न सकिँदैन। विज्ञानका उपलब्धिलाई नियमन तथा निर्देशन गर्न कुशल व्यवस्थापकको भूमिका हुने भएकाले यो संकायको आवश्यकता अझ बढी भएको पुष्टि भएको हो।’ बिबिएस, बिबिएमा विद्यार्थीको आकर्षण हुनुको मुख्य कारण पनि बैंकलगायत उच्च कमाइ हुने बैंकमा रोजगारी पाउनु रहेको उनको बुझाइ छ। अझ बढी बिबिएस पढेका विद्यार्थी नेपाल राष्ट्र बैंकलगायत बैंकमा रोजगारी पाउन सफल भएको उनको अनुभव छ।

त्रिविले स्नातक तहको सेमेस्टर प्रणालीमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिएएफ), ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम), ब्याचलर अफ ट्राभल एन्ड ट्युरिजम म्यानेजमेन्ट (बिटिटिएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बिबिएम), ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेसन (बिपिए), ब्याचलर अफ माउन्टेनरिङ स्टडिज (बिएमएस) र पोस्ट ग्र्याजुएड इन पुलिस साइन्स (पिजिडिपिएस) का कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यी कार्यक्रममध्ये पनि बिबिए अनि बिबिएम विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको ख्वप कलेज भक्तपुरका प्राचार्य रूपक जोशी बताउँछन्। एयरवाइज चलिराखेको पुरानो बिबिएसभन्दा तेब्बर बढी शुल्क लाग्ने गरे पनि बिबिए, बिबिएमप्रति बढी आकर्षण विद्यार्थीको रहेको उनी सुनाउँछन्। सेमेस्टर प्रणालीमा रहेर ६÷६ महिनामा परीक्षा हुने, प्रयोगात्मक माक्र्स बढी हुने, रोजगारी मात्रै नभई रोजगारी नै सृजना गर्ने पढाइ हुनेलगायत कारण पछिल्ला वर्षमा यसप्रतिको आकर्षण बढेको उनको बुझाइ छ।

बिबिए अध्ययन गर्ने विद्यार्थीले प्लस टुमा साइन्स वा म्यानेजेमेन्ट अध्ययन गरेको हुनुपर्छ भने परीक्षामा अनिवार्य १.८ जिपिए ल्याएको हुनुपर्दछ। त्रिविअन्तर्गत कलेजमा भर्ना हुनका लागि विद्यार्थीले सिम्याटको प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण हुनैपर्ने व्यवस्था छ। त्यसैगरी, काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रूपमा क्युम्याटको प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्ने नियम बनाएको छ।

व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्रलगायतमा सम्मानित रोजगारी पाउने गरेका छन्। बिबिए पढेका विद्यार्थी आफैं व्यवसाय सञ्चालन गर्न पनि सक्षम हुन्छन्। व्यवस्थापनका जुनसुकै विषय पढेका विद्यार्थीले रोजगारीका लागि गल्लीगल्ली भौतारिनु पर्ने अवस्था नभएकाले जुनसुकै कलेजमा पनि यो समूहका विषयमा विद्यार्थीको आकर्षण धेरै भएको बताइन्छ।  

बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने भएपछि विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेको देखिन्छ। सैद्धान्तिक र व्यावहारिक दुवै विषय पढाइ हुने भएकाले बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्छ यसले। त्यसैले पनि यसको आकर्षण बढ्दो छ।

प्रकाशित: १ पुस २०७८ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App