८ वैशाख २०८१ शनिबार
शिक्षा

परीक्षा केन्द्र माग्दै जुम्ला क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

जुम्ला बहुमुखि क्याम्पस जुम्लामा परीक्षा केन्द्र कायम हुनु पर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन्। एमएड दोस्रो वर्षको परीक्षा केन्द्र सुर्खेतमा कायम गरिएको भन्दै उनीहरुले तत्काल जुम्ला क्याम्पसमा केन्द्र तोक्न माग गरेका हुन्।  

जुम्ला क्याम्पस स्थित अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन र नेविसंघ लगायत चारवटा संगठनले क्याम्पसमा ताला लगाएका हुन्। जुम्ला क्याम्पस परीक्षा केन्द्र कायम नहुदा सम्म ताला नखोल्ने चेतावनी दिएका छन्।  

सबै विद्यार्थीलाई जुम्ला क्याम्पसमै परिक्षा केन्दै हुने भनिएको थियो।तर परीक्षाको मुखमै सुर्खेतमा परीक्षा केन्द्र कायम गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। जुम्ला बहुमुखि क्याम्पस प्रशासनको लापरबाही र संघियता विपरित शिक्षा क्याम्पस सुर्खेतमा परीक्षा केन्द्र कायम गरेकोप्रति विद्यार्थीहरुले आक्रोश पोखेका हुन्।  

जुम्ला बहुमुखि क्याम्पसको प्रशासन देखि कक्षा कोठा र मुख्य गेटमा तालाबन्दी गरिएको अनेरास्ववियुका जिल्ला समिति सदस्य तपेन्द्र खत्रीले जानकारी दिए। विगत लामो समयदेखि जुम्ला क्याम्पसमा सबै परीक्षा भइरहेको र हालको एमएड तह दोस्रो वर्षको परीक्षालाई संघियता विपरित खोसेर सुर्खेतमा लैजानु अन्यायपुर्ण भएको विद्यार्थी संघ संगठनहरुले बताएका छन्।  

विकेन्द्रीकरणको मर्मविपरित विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, भौगोलिक विकटता, वर्षातको समयमा सडक अवरुद्ध, सूचनाको समयवधि कम, सरकारको होमसेन्टर विपरित परीक्षा केन्द्र काम गरिएको उनीहरुले बताएका छन्। उनले भने,‘संघीयताले सबै सेवा सुविधा गाउँनगरमा लैजाने भन्छ। तर परिक्षा केन्द्र खोसेर सुर्खेतमा तोकिन्छ। यो निकै बिडम्पुर्ण निर्णय हो। ’

शिक्षा क्याम्पस सुर्खेत केन्द्र तोकेर असोज ११ गते सोमरबाट परीक्षा हुदैछ। तर जुम्ला क्याम्पसका दोस्रो वर्षका १२ जना विद्यार्थीले परीक्षामा सहभागि नहुने निर्णय गरिसकेका छन्।  जुम्ला बहुमुखि क्याम्पस जुम्लाले सुर्खेतमा परीक्षा हुने सुचना असोज ७ गते मात्रै जारी गरेको थियो। सूचना छोटो समयमा जारी भएकाले परीक्षा दिन सुर्खेतसम्म जान सकिने अवस्था नरहेको विद्यार्थी पुष्पा थापाले बताईन्। जुम्लामा कायम हुनु पर्ने परीक्षा केन्द्र सुर्खेतमा राखिएको हुनाले आर्थिक भार थपिएको विद्यार्थीको दुखेसो छ।  

क्याम्पसले विद्यार्थीको भविष्यमाथि कुठाराघात गरेको बताईन्। यता जुम्ला बहुमुखि क्याम्पस जुम्लाका क्याम्पस प्रमुख डाक्टर ओमप्रकाश आचार्यले परीक्षा नियन्त्रक कार्यालयलाई जुम्लाको वास्तविक अवस्थाका बारेमा जानकारी गराएको बताए। परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र तय गर्ने भएकाले यसमा आफ्नो कुनै हात नरहेको उनी बताउँछन्। आंशिक विद्यार्थीको संख्या जुम्लामा कम भएकाले त्रिभुवन विश्वविद्यालयले सुर्खेतमा परीक्षा केन्द्र तोकेको क्याम्पस प्रमुख आचार्यले बताए।  

परीक्षा केन्द्र सुर्खेत बाहेक अन्य ठाउँमा राख्न नसकिने जानकारी  त्रिभुवन विश्वविद्यालयले क्याम्पसलाई परिपत्र गरिसकेको छ,उनले भने,‘अब कुनै उपाय छैन। ’ क्याम्पसमा तालाबन्दी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रममा पनि प्रभाव परेको छ। क्याम्पसका भवनमा बिएमएस, बिपिएच, एचए र स्टाफनर्सका कक्षाहरु सञ्चालन भइरहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शैक्षिक प्रशासनका कार्यालय सचिव धनवहादुर शाहीले विहानको सिफ्टमा क्याम्पसर्मा विद्यार्थी पढ्ने गरेको बताए।  दिउँसोको समयमा पनि कासका विद्यार्थी पढ्ने गरेका छन्। विद्यार्थीले लगाएको तालबन्दीले प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमको भर्ना कार्यक्रमलाई पनि प्रभाव गर्ने देखिएको छ। असोज महिनाको १५ गते हुने एचएको इन्टनल परीक्षालाई समेत प्रभाव परेको उनी बताउँछन्। 

प्रकाशित: १० आश्विन २०७८ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App