५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

शैक्षिकसत्रकै भौतिक कक्षा आगामि शुक्रबारदेखि

असोज १ देखि पोखराका विद्यालय खुल्दै

कास्कीको रुपा गाउँपालिका–२ को शिवालय माविमा विद्यार्थीको भौतिक उपस्थितिमा भईरहेको पठनपाठन । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको त्रासले गर्दा लामो समयदेखि बन्द रहेका कास्कीका सबै विद्यालय असोज एक गतेदेखि खुल्ने भएका छन् । पोखरा महानगरभित्रका सबै विद्यालय आगामि शुक्रबारदेखि संचालन गर्न पाउने गरि महानगरले निर्णय गरेको छ । महानगरबाहेक कास्कीका अरु स्थानीय तहले केहीदिन अघिदेखि नै विद्यालय खुलाईसकेका छन् ।  

योवर्षको शैक्षिक सत्रमा नै विद्यार्थीको भौतिक उपस्थितिमा पहिलोपटक विद्यालय खुल्न थालेको महानगरका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । अहिलेसम्म विद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई पठनपाठन गराउँदै आएका थिए । ‘यो पटकको शैक्षिकसत्र नै पहिलोपटक विद्यार्थीको भौतिक उपस्थितिमा संचालन हुन थालेको छ । कोरोना भाइरस संक्रमणका कारण विद्यार्थी विद्यालय आउन पाएका थिएनन,’ आचार्यले भने, ‘अब विद्यार्थी विद्यालय नै आउन पाउनेछन ।’

गत असार १ देखि यो वर्षको नयाँ शैक्षिक सत्र देखि सुरु भएको हो । कोरोना त्रासले गर्दा अघिल्लो वर्ष लामो समय लकडाउन हुँदा पठनपाठन बन्द हुँदा शैक्षिकसत्र पनि असारसम्म लम्बिएको थियो । ‘आगामि शुक्रबारदेखि महानगरका सबै विद्याय खुल्नेछन । कास्की जिल्लाका सबै विद्यालय खुलाउने गरि निर्णय भईसकेको छ,’ आचार्यले भने, ‘अरु स्थानीय तहले पनि खुलाईसकेका छन । पोखरा सहर बाहिरका ग्रामिण भेगका विद्यालय भने यसअघि नै खुलिसकेका छन ।’ महानगरभित्रका विद्यालय भने असोज १ देखि खुलाउने गरि निर्णय भएको उनले बताए । स्थानीय तहले अवस्था हेरेर विद्यालय खुलाउन पाउने भएपछि कतिपय विद्यालय यसअघि नै खुलिसकेका थिए ।

विद्यार्थीलाई समुहमा नराख्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाउने, विद्यालयमा साबुनपानील्े हात धुने व्यवस्था मिलाउने, भौतिक दूरी कायम गराउने लगायतका गतिविधि गरेर विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउने निर्णय भएको आचार्यले बताए । ‘सकेसम्म स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गराइनेछ,’ उनले भने ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का कास्की अध्यक्ष हेमन्त अधिकारीले पनि आगामि शुक्रबारदेखि विद्यालय खुलाउने निर्णय भएको बताए । ‘कोरोना त्रासले गर्दा कतिपय बालबालिका करिब दुईवर्षदेखि नै घरमै बस्न बाध्य भएका छन् । केही अभिभावकले बालबालिकालाई घरबाटै पढाउन पनि सकेका छन् । तर, सबैका लागि सहज छैन,’ अधिकारीले भने, ‘विद्यालय नखुलेको र भर्चअल माध्यममा पहुँच नपुग्दा कतिपय विद्यार्थीको भविश्य नै अन्योल भएको छ । धेरै विद्यार्थीले पठनपाठन गराउन पाएका छैनन । त्यसैले भौतिक उपस्थितिले महत्व राख्छ ।’ 

लामोसमय सम्म विद्यार्थी विद्यालय आउन नपाउँदा उनीहरुमा मानसिक असर पर्ने देखिएको पनि उनले बताए । ‘सबै विद्यार्थीको पहुँचका लागि पनि भौतिक उपस्थिति जरुरी हो । हामीले अझ ढिला गरेर विद्यालय खुलाउँदैछौ,’ उनले भने, ‘कोरोनाले यस्तो अवस्था ल्याइदिएको छ की पाएको बेला पढाइहाल्नुपर्ने अवस्था छ । भविश्यमा समस्या आएमा पुनः भौतिक कक्षा बन्द गर्ने अवस्था आउन सक्छ । त्यसैले अब ढिला गर्नु हुँदैन ।’  

यतिबेला कोरोना भाइरस संक्रमण कमजोर भएको र सबैतिर विद्यालय खुलाउन उपयुक्त देखिएको पनि दसैंको मुखमै परेपनि खुलाउन थालेको उनले बताए । ‘भौतिक कक्षाका लागि ठुलो तयारी गर्नुपर्ने केही छैन,’उनले भने,‘त्यही भएर छोटो समयको तयारीले पनि पठनपाठन सम्भव हुन्छ । सहज भएको मौका पारेर पढाउने निणर्य गरेका हौ ।’ 

प्रकाशित: ३० भाद्र २०७८ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App