१६ चैत्र २०८० शुक्रबार
शिक्षा

अब दोलखामै एमबीएस पढाइ, गौरीशंकरले पायो अनुमति

जिल्लाकै जेठो गौरीशंकर बहुमुखी क्याम्पसमा भदौदेखि व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाई हुने भएको छ।

एक साताअघि त्रिभुवन विश्व विद्यालयले गौरीशंकरसहित मुलुकका २३ सामुदायिक क्याम्पसहरुलाई व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाउन अनुमति दिए संगै चरिकोटस्थित गौरीशंकर क्याम्पसमा समेत ‘मास्टर डिग्री’मा यो विषय पढाई हुन लागेको हो।

जिल्लामा ‘एमबिएस’ पढाई हुने भएपछि बिबिएस पास गरेर एमबिएस पढ्न राजधानी जान नसकेका बैंक तथा बित्तिय संस्था र सहकारीमा कार्यरत व्यवस्थापक तथा कर्मचारी, सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत लेखापाल लगायत धेरै विद्यार्थीलाई फाईदा पुग्ने अपेक्षा जिल्लाको शिक्षा क्षेत्रका सरोकारवालाहरुले गरेका छन्।

गत साता सम्पन्न विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले एमबिएस पढाउन अनुमति दिएको हो। अनुमतिको निर्णय लगत्तै क्याम्पस सञ्चालक समितिले यसलाई दोलखाको शिक्षा क्षेत्र विकासको महत्वपूर्ण खुड्किला पार गरेको प्रतिक्रिया दिएको छ। सञ्चालक समिति सदस्य गोविन्द नारायण मानन्धरले लामो समयदेखि प्रतिक्षा गरेको एमबिएस संकाय जिल्लामै पढाई हुने निर्णयले विद्यार्थीहरु हर्षित बनेको सुनाए। ‘अहिले स्तातकमा पढ्ने विद्यार्थी प्रायः बिबिएस नै रोज्छन्’, उनले भने, ‘तर बिबिएस सकेपछि एमबिएस पढ्न राजधानी नै जानुपर्ने बाध्यता थियो, जुन हटेको छ।’ 

दोलखाका गौरीशंकर, चरिकोट क्याम्पस र जिरी क्याम्पसमा बिबिएस पढाई हुने गरेको छ। मानन्धरका अनुसार यो संकाय छिमेकी रामेछाप र सिन्धुपाल्चोक जिल्लाका क्याम्पसहरुमा समेत उपलब्ध छैन। क्याम्पस सञ्चालक समितिले त्यहाँका विद्यार्थी समेत पढ्न आउन सक्ने अपेक्षा राखेको छ।

क्याम्पस प्रमुख शान्तबहादुर केसीले एमबिएस अन्तर्गत बजारशास्त्र, अर्थशास्त्र, लेखा शास्त्र, बित्त शास्त्र लगायतका विषय पढाई हुने जानकारी दिए। निर्णय भएपनि सम्बन्धनको पत्र आउने प्रक्रियामा रहेकाले सम्बन्धनको पत्र प्राप्त भए लगत्तै भर्ना खुलाउने क्याम्पस प्रमुख केसीले जानकारी दिए। ‘सम्बन्धको पत्र आए लगत्तै प्रवेश परीक्षाका लागि आवेदन लिन्छौं’, उनले भने, ‘सम्भवतः साउनको ३० गते प्रवेश परीक्षाका लागि सूचना निकाल्छौं होला।’

विश्वविद्यालयले नै तयार गर्ने प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्ने र परीक्षामा उत्तिर्ण हुने सबैलाई भर्ना लिने क्याम्पस प्रमुख केसीले सुनाए। क्याम्पसले स्नातकोत्तरका कक्षाहरु सन्ध्याकालिन रुपमा चलाउने तयारी गरिरहेको केसीले बताए। दिउँसो ४ बजेदेखि ७ बजेसम्म कक्षाा सञ्चालन गर्ने तयारी भईरहेको उनले सुनाए।

गौरीशंकरमा एमबिएस संगै शिक्षा शास्त्र संकायको स्नातकोत्तर तह (एमएड) समेत पढाई हुँदै आएको छ। क्याम्पस प्रमुख केसीका अनुसार यो संकायमा मेजर नेपाली, अंग्रेजी, शैक्षिक योजना र व्यवस्थापन पढाई हुन्छ। मानविकी संकाय अन्तर्गतको समाजशास्त्रमा स्नातकोत्तर (एमए समाजशास्त्र) संकायका लागि समेत क्याम्पसले अनुमतिको प्रयास गरिरहेको क्याम्पस प्रमुख केसीले बताए। ‘एमए (समाजशास्त्र) का लागि समेत अनुमति माग गरेका थियौ’, उनले भने, ‘यो वर्ष एमबिएस मात्र पायौं, अर्को वर्ष एमए समेत अनुमति पाउनेमा आशावादी छौं।’ 

दोलखा जिल्लाकै जेठो गौरीशंकर क्याम्पसमा स्नातक तहमा मानविकी, शिक्षा र व्यवस्थापन तीनओटै संकायमा पढाई हुँदै आएको छ। यस्तै कक्षा ११ र १२ समेत पढाई हुन्छ। सहायक क्याम्पस प्रमुख सुवास रिमालका अनुसार क्याम्पसमा वार्षिक ११ सय विद्यार्थी अध्ययन गर्छन् भने ३० जना शिक्षक र प्राध्यापकले अध्यापन गराउँछन्।

शैक्षिक उन्नयनमा फड्को मार्दै गरेको यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रमाण पत्र पनि लिने क्रममा छ।

सहायक क्याम्पस प्रमुख रिमालका अनुसार त्यसका निम्ती आयोगले तोकेका १ सय ३० ओटा सूचकहरु पूरा गरेर छिट्टै गुणस्तरको प्रमाण पत्र लिने तयारी क्याम्पसको छ।

प्रकाशित: ९ श्रावण २०७८ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App