११ मंसिर २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विभेदपूर्ण शिक्षा: अनलाईन कक्षा ‘एकादेशको कथा’

यतिबेला सहर, गाउँ, टोल र बस्ती उकुसमुकुसको अबस्थामा छन्। हुने खाने भन्दा हुदा खानेको घर माथि समस्याको पहाडले थिचिरहेको छ। हरेक क्षेत्रमा थुप्रिएका समस्या जस्तै रोल्पाको शिक्षामा झनै सकस देखिएको छ। सहर तिरका बालबालिकाले अनलाईन शिक्षाका नाममा केहि पढ्न पाए पनि दुर्गमका विद्यार्थीहरु बिजनेशविहिन बनेर थन्किएका छन्। राज्यले दिएको अन्याय र बिभेद पुर्ण शिक्षाका कारण बिचलीत बनेका विद्यार्थीको पीडामा कसैले चासो दिएको देखिदैनन्।

फोन गर्नलाई आज पनि अग्लो डाँडा वा रुखमा चढ्नु पर्ने दुर्गमका विद्यार्थीलाई अनलाईन कक्षा एकादेशको कथा जस्तै छ। कतै ईन्टरनेटको पहुच भईहाल्यो भने पनि कम्प्युटर, ल्यापटप वा मोवाईल नहुदा पढ्ने विषय सपना बनिदिन्छ। एक नगरपालिकासहित दश स्थानिय तह रहेको रोल्पाका ७२ वडा मध्य अधिकांशमा आज पनि गतिलो फोन सेवा छैन। स्थानिय तहहरु विकास भनेको सडक हो भन्ने मान्यतामा छन् भने प्रदेश र केन्द्र सरकारलाई राजनितिको काचो खिचडी पकाउन भ्याई नभ्याई छ। जसका कारण शिक्षा जस्तो संवेदनशिल विषयमा सामान्य छलफल समेत हुने गरेको पाईदैन।

यति बेला जिल्लाका विद्यालयहरुले आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा निकाल्ने तयारी गरिरहेका छन्। ‘पढाईमा क्रम भङ्गता भयो। आउदो शैक्षिक सत्रमा असार १ देखि भर्ना सुरु गरेर १५ गते देखि बैकल्पीक बिधि अनलाई, रेडियो, टोल शिक्षा लगायतका विधिबाट कक्षा संचालन गर्ने तयारीमा छौ।’ सदरमुकाम स्थीत बालकल्याण नमुना माबिका प्रअ मधुसुदन पोख्रेलले भने ‘तर दुर्गममा यि बिधि उपयुक्त हुदैन। सहर र गाउँमा बिभेद पुर्ण शिक्षा देखियो। यसले विद्यार्थीलाई मनोबैज्ञानिक असर पर्न सक्छ।’ यतिबेला स्थानिय सरकारले नतिजा प्रकाशनमा चासो दिए पनि पठनपाठनमा खासै चासो दिएको पाईदैन।

रोल्पाको दुर्गम थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती गत वर्ष जस्तै यो वर्ष पनि पठनपाठन विग्रिएको बताउछन्। ‘आन्तरीक मुल्याङ्कनद्वारा नतिजा निकालेर भर्ना अघि बढाउने छौं। यहाँ वैकल्पिक शिक्षाको सम्भावना छैन। महामारी अलि कम भयो भने भौतिक रुपमा पनि कक्षा संचालन गर्न सकिन्छ कि भन्ने आशा छ।’ अध्यक्ष घर्ती भन्छन् ‘शिक्षामा बिभेद भएको छ। सरकारी भन्दा पनि निजि क्षेत्रका विद्यार्थीले अलि धेरै अवसर पाए। सुगमकाले पनि अवसर पाए तर हाम्रा विद्यार्थीको बिजोग भयो। पढाईमा समस्या नै आयो। बिद्यालय बन्द हुदा हामि चिन्तीत छौं।’  

जिल्लाको दुर्गम विद्यालय जनता माबि गामका प्रअ बागबिर घर्ती रोल्पामा वैकल्पिक शिक्षा प्रभावकारी नहुने बताउछन्। ‘हाम्रा स्कुलहरु बन्द छन्। वैकल्पिक बिधिले हाम्रोमा काम गर्दैन। फोन त लाग्दैन झन अनलाईन त एकादेशको कथा जस्तै छ।’ घर्ती भन्छन् ‘अबको शैक्षिक शत्रमा जबरजस्ती भए पनि भौतीक रुपमै कक्षा संचालन गर्ने कि भन्ने सोचमा छाैं। सुगममा जस्तो हाम्रोमा वैकल्पिक बिधि सम्भव देखिदैन।’ शिक्षकहरुका अनुसार यतिबेला सहर र दुर्गममा शैक्षिक बिभेद छ। विद्यार्थीलाई नपढाएर जबरजस्त कक्षा अगाडी बढाउँदा त्यो औपचारीकतामा मात्र सिमित रहने छ। भविष्यमा उनिहरुलाई घात हुन्छ।

जिल्लाको सुगम मानिएका ठाउँमा समेत अनलाईन कक्षाको सम्भाबना देखिदैन। ‘हाम्रोमा अनलाईन कक्षा सम्भव छैन। धेरै ठाउँमा फोन नै लाग्दैन त्यसैले नेट त सम्भव नै हुदैन।’ सुनिलस्मृती गाउँपालिकाका शिक्षा संयोजक यादब केसी भन्छन् ‘नतिजा प्रकासन गर्न भनेका छौं। असार १ देखि भर्ना सुरु हुन्छ। वैकल्पिक शिक्षाका बारेमा अब छलफल गर्ने छौं।’ गत साल जस्तै यो पटक पनि विद्यार्थीहरु बिजनेशविहिन बनेका हुन्। निरन्तर लामो समय पठनपाठन अबरुद्व हुदा विद्यार्थीलाई सान्तवना दिने समेत कोहि छैन।  

रोल्पामा रेडियोमार्फत दिइने वैकल्पिक शिक्षाको सम्भावना अरुको तुलनामा बढी प्रभावकारी देखिए पनि त्यता तर्फ सरोकारवालाले चासो दिएका छैनन्। परिक्षा नलिएरै कक्षा बढाउने गरिएका कारण पनि विद्यार्थीहरुमा पढाइप्रति चासो घटेको छ। सरकारले शैक्षिक सत्रसंगै पढाईको विधिबारे योजना बनाउन नसक्दा शिक्षक, विद्यार्थी र अभिभावकहरु अलमलमा परेका हुन्। यतिबेला जिल्लाका ४ सय २ विद्यालयमा ६७ हजार ९ सय ८८ विद्यार्थी अध्ययनरत छन्। 

प्रकाशित: २४ जेष्ठ २०७८ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App