७ वैशाख २०८१ शुक्रबार
शिक्षा

गरिबीले पढ्नै रोकिए अब्बल विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा पढाई छोडेर सिर्कमी पेशामा विक । तस्बिरः नागरिक

म्याग्दीको मालिका गाउँपालिका–२, रुम लुक्सिरका केशव विक, १६, यतिबेला दैनिक ज्यालामजदुरीमा व्यस्त छन् । छिमेकी गाउँ निस्कोटमा आमा समुहको निर्माणधिन भवनमा बुबा रनबहादुरसँगै उनी ज्यालादारी काममा छन् । खासमा यो उमेरमा उनले हातमा पुस्तक च्यापेर कक्षा ११ मा पढ्न जानुपर्ने हो, तर, उनलाई त्यो अवसर जुरेन । उमेर छँदै पनि पढ्न पाएका उनले सिमर्कीको पहिचान बनाएका छन् ।  

गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको सबैभन्दा उत्कृष्ट नतिजा ’बि प्लस’ ल्याएका विकको उच्च शिक्षा पढ्ने जाने रहर भएपनि चरम गरिबीका कारण उनले उच्च शिक्षामा पाइला चाल्न पाएनन् । ‘स्कुलमा पढ्न जाने पैसा छैन्, बुबाको कमाईले घरखर्च चल्छ, काम नपाउँदा आर्थिक संकट पर्दा भोकभोकै बस्नुपर्छ,’ विकले भने । उनले गाउँमा रहेको विद्यालयबाट एसइई दिएपनि उच्च शिक्षाका लागि दरबाङ र सदरमुकाम बेनीमा जाने आर्थिक जुटाउन समेत दैनिक मजदुरीमा खटिएको बताए ।  

‘उच्च शिक्षा त मेरो लागि सपना जस्तै हो, घरबाट सहर झरेर पढ्न जाने अवस्था नै छैन्, कमाएर पढ्नुपर्ने बाध्यता छ,’ विकले भने । पोशाकमा चिटिक्क सजिएर पढ्न जाने समयमा हातमा हथौडा लिएर हिड्नुपरेको बताउँदै आफ्नो जस्तै समस्या बहिनीलाई पर्न नदिन मजदुरी गरिहरेको उनले बताए । विककी बहिनी गाउँमै कक्षा नौ मा अध्ययनरत छिन् । विपन्न रनबहादुरका ३ छोरा र ४ छोरी छन् ।

रनबहादुरले छोरालाई सहर पठाउने पैसा नहुदाँ ज्याला मजदुरीका लागि आफुसँगै काममा लैजाने गरेको बताए । उनले छोराको बाँकी पढाई गाउँमै अन्त्य गर्नुपरेकोे भन्दै भक्कानिए । आर्थिक अवस्था कमजोर भएकाले गाउँकै विद्यालयमा पढ्ने छोराछोरीलाई समेत आवश्यक शैक्षिक सामग्री खरिद गर्न नसक्ने अवस्थामा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक प्रेमबहादुर घर्तीले बताए ।  

‘गरिबीले उच्च शिक्षाको बाटोमा छेकबार लगाएको छ । गाउँघरकै स्कुलमा पुगेर पनि पढ्न सक्ने अवस्था छैन, सहयोग जुटाउन सकेमा राम्रो पढ्न सक्छन्’ प्रअ घर्तीले भने । उनले विद्यालयमा विक लगनशील, मेहनती तथा अनुशशित छात्रका रुपमा रहेको बताए । विक गतबर्षको एसइईमा ‘बि प्लस’ गे्रड ल्याउने एकमात्र विद्यार्थी हुन् ।

एसइईमा विद्यालयबाट सबैभन्दा राम्रो नतिजा ल्याएर उत्र्तिण भएको अवस्थामा पोशाक, कापिकमल ,खाना र बस्ने खर्च जुटाउन नसक्दा पढाई छोड्न बाध्य भएको प्रअ घर्तीले बताए । विकलाई आर्थिक सहयोग गरेमा उच्च शिक्षामा राम्रो अंक ल्याउन सक्ने उनले बताए ।  

कतिपय गाउँमा कक्षा १२ सम्म अध्ययन–अध्यापन नहुँदा आर्थिक अभावका कारण एसइई उत्तीर्णपछि माथिल्लो कक्षा पढ्नबाट बञ्चित विद्यार्थीलाई समेत लक्षित गरी गाउँमै कक्षा ११ सञ्चालनको विकल्प नभएको उनले बताए । यता म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले केहीदिनमै भर्ना सहितको प्रक्रियामा सहभागि भए बार्षिक परीक्षामा सहभागि बनाउन सकिने बताए । उनले क्याम्पसको आन्तरिक परीक्षामा सहभागि भएकालाई छात्रवृत्ति कोटामा समेत सहभागी बनाउन सकिने भएपनि हाल आन्तरिक परीक्षा सञ्चालन भएकाले पोशाक, आवासीय सहित मासिक ५ हजार रुपैयाँको अनुमानमा खर्च हुने बताए ।

प्रकाशित: ३ चैत्र २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App