१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

चिकित्सा शिक्षा स्नातकोत्तर तहको सीट संख्या बृद्धि गर्न माग

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षामा स्नातकोत्तर तहको सीट संख्या बृद्धि गर्न माग गरेको छ। चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै चिकित्सक संघले नेपालमा बिशेषज्ञ चिकित्सकहरुको संख्या अत्यन्तै न्यून रहेकाे भन्दै स्नातकोत्तर तहमा सिट संख्या बृद्धिको माग गरेको हो।

हाल नेपालमा स्नातकोत्तर तह अध्ययनको सीट संख्या ज्यादै न्यून रहेकोे र एमविविएस अध्ययन पश्चात् पोष्ट ग्राजुएसन अध्ययनका लागि चिकित्सकहरुले समान अवसर प्राप्त गर्न नसकेको पनि ज्ञापनपत्रमा उल्लेख छ।

साथै संघले चिकित्सा शिक्षा आयोग अन्तर्गत गैर विश्व विद्यालय अन्तर्गतका सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरुले आवश्यक फ्याकल्टी अध्ययन गराउन चाहने बिषयमाथि बैज्ञानिक तवरले अनुगमन तथा मूल्यांकन गर्दै अन्य मुलुकहरुमा संचालन गरिए अनुरुपका स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु यसै शैक्षिक सत्रदेखि संचालन गर्न अनुमति दिदै स्वदेशमै स्नातकोत्तर तह अध्ययन गर्ने वातावरण बनाउन माग गरेको छ।

नेपाल सरकारले चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययनका लागि नेपालको वस्तु स्थिति, शैक्षिक गुणस्तर, सिट संख्या, पूर्वाधार, अस्पतालको अवस्था, शिक्षण संस्थाको प्रकृति, भौगोलिक अवस्थिति, लगानी आदिलाई सुक्ष्म रुपमा मूल्यांकन गर्दै चिकित्सा शिक्षामा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक स्वास्थ्य सेवा ऐन (लोकसेवा), गैरसरकारी, प्रतिष्ठान, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना, सरकारी करारमा कार्यरत चिकित्सकहरुलाई बैज्ञानिक तवरले न्यायोचित अवसर प्रदान गर्ने वातावरण सुनिश्चित गर्न शिक्षा आयोगलाई नेपाल चिकित्सक संघले अनुरोध गरेको छ।

प्रकाशित: १९ असार २०७७ ०६:०५ शुक्रबार

चिकित्सा शिक्षा