१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई रेडियोबाटै ट्युसन कक्षा

रेडियो भूवर भवानीबाट एसईईका विद्यार्थीलाई अंग्रेजी विषय पढाउँदै शिक्षक । तस्बिर : नागरिक

नेपालगन्ज- कोरोना भाइरसबाट प्रभावित भएका विद्यार्थीका लागि बाँकेमा एफ.एम. रेडियोमार्फत ट्युसन कक्षा सञ्चालन गरिएको छ । जिल्लाको ग्रामिण क्षेत्र राप्तीसोनारी गाउँपालिकामा रहेको रेडियो भूवर भवानी र नेपालगन्जस्थित रेडियो कृष्णसारले छुट्टा–छुट्टै ट्युसन कक्षा सञ्चालन गरेका हुन् । रेडियोमार्फत एसईई विशेष र कक्षा १ देखि १० सम्मको पठन पाठन दैनिक रुपमा सञ्चालन गरिन्छ ।

‘कोरोना भाइरसका कारण २०७६ सालको एसईई परीक्षा हुन पाएको छैन, नयाँ शैक्षिक शत्र सुरु भइसक्यो, तर विद्यालय खुल्ने अत्तोपत्तो छैन, यस्तो अवस्थामा विद्यार्थीको पढाई क्षमताको विकास गर्न रेडियोबाट ट्युसन कक्षा सञ्चालन गरेका हौं,’ राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने ‘रेडियोबाट हरेक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म एसईई विशेष र दिउँसो ३ बजेदेखि ५ बजेसम्म कक्षा १ देखि कक्षा १० सम्मको पढाई भइरहेको छ ।’

रेडियोमार्फत पठन पाठन गर्न जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकलाई खटाउने गरिएको छ । राप्तीसोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले घरमा बसिरहेका विद्यार्थीको ध्यान पढाईतिर केन्द्रित गराउन रेडियोमार्फत शिक्षा दिइएको बताए । उनले भने, ‘लकडाउनका कारण यतिबेला विद्यार्थीहरु घरमै बसेका छन्, घरमा त्यसै बस्नुभन्दा रेडियो सुनेर पनि धेरै शिक्षा पाउँछन्, यसले विद्यार्थीलाई फाइदा गर्छ ।’

यस्तै रेडियो कृष्णसारबाट हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म हप्तामा पाँच दिन ट्युसन कक्षा सञ्चालन भइरहेको छ । उक्त रेडियोबाट दिउँसो ३ बजे प्राथमिक तह, ३ बजेर ४० मिनेटमा आधारभुत तह र ४ बजेर २० मिनेटमा माध्यामिक तहका मुख्य विषयका कक्षा सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहले रेडियो कृष्णसारबाट ‘रेडियो स्कुल’ सञ्चालन गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले कोरोना भाइरसका कारण विद्यालय जान नसकेका विद्यार्थीलाई लक्षित गरेर रेडियोमार्फत ट्युसन कक्षा सञ्चालन गरिएको बताइन् ।

रेडियोबाटै ट्युसन पढ्न पाइने भएपछि घरमा बसिरहेका विद्यार्थीले एफ.एम. रेडियो नियमित रुपमा सुन्न थालेका छन् । राप्तीसोनारी–१ कुसुमका दिलिप खड्काले एफ.एम. रेडियोबाट ट्युसन कक्षा सञ्चालन भइरहेको कुरा थाहा पाएपछि अचेल रेडियो सुन्न थालेको बताए । ‘घरमा बसिरहँदा तनाव भइरहेको थियो, रेडियोबाट ट्युसन सुरु भएपछि अहिले नियमित रुपमा रेडियो सुन्छु,’ उनले भने । दिलिपले गत चैतमा एसईई परीक्षाको तयारी गरेपनि कोरोना भाइरसका कारण सरकारले अन्तिम समयमा स्थगित गरेपछि परीक्षा दिन पाएका छैनन् ।


 

प्रकाशित: १८ वैशाख २०७७ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App