१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिवि आवास–गृहमा अनियमित कब्जा

काठमाडौं – विद्यार्थीलाई नियम–कानुन सिकाएर सही बाटो देखाउने शिक्षक–कर्मचारीहरू नै व्यक्तिगत तथा राजनीति शक्तिको आडमा आफू कार्यरत शैक्षिक संस्थाको सम्पत्ति दुरूपयोगमा लामो समयदेखि संलग्न हुनु आश्चर्य र विडम्बनायुक्त सन्दर्भ हो।

त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट एक दशकअघिदेखि यस्तै अपत्यारिलो काम भइरहेको छ। उनीहरू राजनीतिक तथा व्यक्तिगत बल प्रयोग गरी विश्वविद्यालयका ३० वटा आवास–गृह कब्जा गरेर बसिरहेका छन्। तर विश्वविद्यालय प्रशासन भने मुकदर्शक बन्दै आएको छ। राजनीतिक दलको दबाबका कारण विश्वविद्यालयका पदाधिकारीहरू लाचार देखिन्छन्, त्यस्ता शिक्षक–कर्मचारीलाई कारबाही नगरी बसेका छन्।

समाजशास्त्रका प्राध्यापक उमेश आचार्य अवकाश भएपछि त्रिवि आवास–गृहको २५ नम्बर क्वाटर खाली भयो। सूचना प्राप्त भएपछि त्रिवि प्रिन्सिपल कार्यालय उक्त घरमा ताला लगाएर नयाँ योग्य शिक्षक कर्मचारी प्रवेशका लागि निवेदन माग गर्ने तयारीमा जुट्यो। तर अर्कोतर्फ विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विभिन्न विद्यार्थी संगठनले सो क्वाटरमा फरक–फरक चारवटा ताला झुन्ड्याए। ताला फरक भए पनि तालाबन्दी गर्ने समूहको माग भने साझा थियो, सो क्वाटरमा प्रक्रिया पु-याएर नियमसंगत र योग्य शिक्षक–कर्मचारी प्रवेश।

तर तालाबन्दीपछि ती समूहको भनाइ एउटा, व्यवहार अर्कै भयो। क्वाटर कब्जा गर्ने चलखेल सुरु भयो। विश्वविद्यालयमा विभिन्न राजनीतिक दलको शक्ति र आफ्नो व्यक्तिगत बल प्रयोग गरी उक्त आवास–गृहमा बलजफ्ती कब्जामा लिन त्रिविका शिक्षक–कर्मचारीबीच तँछाडमछाड नै चल्यो।

अन्ततः २०७६ मंसिर १५ गते विश्वविद्यालयको आवास–गृह नम्बर २५ मा प्रिन्सिपल कार्यालय तथा विभिन्न समूहले लगाएको पाँचवटा ताला फुटाएर राति १२ बजे त्रिवि केन्द्रीय कार्यालयको स्वास्थ्य केन्द्रमा कार्यरत वरिष्ठ अहेब शैलेन्द्रकुमार देवले बल र राजनीतिक–शक्ति प्रयोग गरेर पाँचवटै ताला फोड्न सफल भए र आवास–गृह अनियमित तरिकाले कब्जा गरे। प्रिन्सिपल कार्यालय रमितेमात्र बनेर हेरिबस्यो। त्रिवि प्रिन्सिपल कार्यालयका अनुसार यसरी बल प्रयोग गरी अनियमित तरिकाले प्रवेश गर्नेमा शैलेन्द्र देव मात्र होइनन्, विश्वविद्यालयका उनीजस्ता ३० जना राजनीतिक शक्ति र बल प्रयोग गरेर आवास–गृह कब्जा गरी बसेका छन्।

आवास–गृहमा विगत लामो समयदेखि अनियमित तरिकाले शिक्षक–कर्मचारीहरू बस्दै आए पनि प्रिन्सिपल कार्यालयले केही गर्न सकेको छैन। उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारहरू मुकदर्शक बनेका छन्।

एउटाले क्वाटर छाडेको कुरा थाहा पाउनसाथ प्रिन्सिपल कार्यालयले भन्दा पहिले नै शक्तिको आडमा प्रवेश गर्नेहरूको तँछाडमछाड हुन्छ। यति मात्र होइन रक्सीको मातमा मुन्द्रेहरू लगाएर डरत्रासको वातावरणसमेत सिर्जना गर्न त्रिविका शिक्षक÷कर्मचारीबीच होडबाजी चल्ने गरेको त्रिविकै शिक्षकहरू बताउँछन्।

प्रिन्सिपल कृष्ण आचार्य आचार्यले त्रिवि प्राज्ञिक थलो भए पनि शिक्षक–कर्मचारीले नै बल प्रयोग गरेर विश्वविद्यालयभित्र गैरकानुनी रूपमा आवास–गृह कब्जा गर्नु अशोभनीय काम भएको बताए। उनले विगत तीन वर्षदेखि नियमपूर्वक आवास–गृहमा मापदन्ड पुगेका व्यक्तिलाई प्रवेश गराउन नसकेको लाचारी ब्यक्त गरेका छन्।

‘कतिपयले आवास–गृह छाड्ने समयभन्दा पहिले नै आफ्ना नातागोता, नजिकका व्यक्ति अनियमित तरिकाले राखेर जान्छन् भने कोही बल प्रयोग गरेर छिरेका छन्,’ प्रिन्सिपल आचार्यले नागरिकसँग भने, ‘प्रिन्सिपल कार्यालयले अनियमित रूपमा कब्जा गर्नुभएका शिक्षक–कर्मचारीलाई आवास–गृह खाली गर्न पटकपटक पत्राचार गरे पनि अटेर गर्नुभएको छ।’ त्रिविका ३० वटै आवास–गृह अनियमित तरिकाले कब्जा भएकोबारे कार्यकारी परिषद् अध्यक्ष उपकुलपति, सदस्यहरू शिक्षाध्यक्ष र रजिष्ट्रारसमेतलाई जानकारी गराएको तर कारबाहीका लागि कतैबाट कुनै पहल नभएको प्रिन्सिपल कार्यालयले जनाएको छ।

त्रिवि आवास–गृहमा अनियमित बसोवास गर्नेमा प्राडा रामकैलाश यादव तथा डाक्टर राजकुमार पोखरेल गरी दुई जना प्राध्यापक छन् भने १७ जना उपप्राध्यापकको बसाइ पनि अनियमित छ। ती उपप्राध्यापकहरूमा विष्णुबहादुर खत्री, चन्द्रकान्त सुवेदी, धीरजकेदार पाण्डे, रेशम थापा, छविलाल चिदी, सुभाषचन्द्र यादव, प्रेम बुढा, विकासकुमार श्रेष्ठ, योगेन्द्रप्रसाद दाहाल, डाक्टर खगराज शर्मा, प्रेम चलाउने, डाक्टर टीकाराम गौतम, डाक्टर साधना पन्त, प्रमोद ठाकुर, गणेशप्रसाद खनाल, जगदीश भट्ट र दावा शेर्पा रहेका छन्।

सिनियर अहेब शैलेन्द्रकुमार देव, सिनियर क्लिनिकल असिस्टेन्ट दीपेन्द्र ठाकुर, मुख्य कार्यालय सहायकहरू शिला बगाले, हरि पहारी उषा पुन, मञ्जुलाकुमारी यादव, अनिता सापकोटा, विजयकुमार घिमिरे, भन्डार पाल लक्ष्मी बस्नेत, शाखा अधिकृत चेतनाथ न्यौपाने र मिठाराम ढकाल पनि आवास–गृहका अनधिकृत प्रयोगकर्ता हुन्।

विश्वविद्यालय क्याम्पस कीर्तिपुर हाताभित्र रहेका आवास–गृह सञ्चालनसम्बन्धी विनियम २०६५ संशोधित विनियम २०७२ र पछिल्लो संशोधित विनियम २०७६ अनुसार विश्वविद्यालय हाताभित्र रहेका ६४ वटा क्वाटर, ५५ वटा टहरालाई सुविधाका आधारमा चार प्रकारमा वर्गीकरण गरिएको छ। चार कोठेलाई ‘क’ श्रेणी, तीन कोठेलाई ‘ख’ श्रेणी, दुई कोठेलाई ‘ग’ श्रेणी र टहरालाई ‘घ’ श्रेणीमा वर्गीकरण गरिएको छ। विश्वविद्यालय क्याम्पस हाताभित्र कार्यरत शिक्षकहरूका लागि ७० प्रतिशत, विश्वविद्यालय क्याम्पस हाताभित्र कार्यरत कर्मचारीलाई २० प्रतिशत र विश्वविद्यालय क्याम्पस हाताभित्र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीका लागि १० प्रतिशतका आधारमा आवास–गृह वितरण गरिने व्यवस्था छ।

तर विनियमअनुसार प्रिन्सिपल कार्यालयले प्रक्रिया थाल्नुअगावै ‘बलिया’ शिक्षक–कर्मचारीले डर–त्रास, धम्की देखाएर कब्जा गरिहाल्छन्,’ प्रिन्सिपल आचार्यले वास्तविकता सुनाउँदै भने, ‘प्रिन्सिपल कार्यालयले कारबाहीको नोटिस निकाल्दासमेत उहाँहरू अटेर गरेर बसिरहनुभएको छ।’

आवास–गृह कब्जा गर्नेहरूमा त्रिवि स्वास्थ्य केन्द्रकै सिनियर क्लिनिकल असिस्टेन्ट दीपेन्द्र ठाकुरले २०६६ कात्तिक १ गतेदेखि आवास–गृह नम्बर ६ कब्जा गरी बसेका छन्। डाक्टर हरिनारायण गुप्ता अवकाश भएपछि ठाकुरले आफ्नो सामान राखेर कब्जा गरेका हुन्। ‘त्यतिबेला डाक्टर गुप्ताले गृह खाली गरेपछि प्रिन्सिपल कार्यालयलाई चाबी बुझाएनन्,’ प्रिन्सिपल आचार्यले सुनाए, ‘उहाँ जानु केहीबेर अघि नै दीपेन्द्र ठाकुरले गृहमा आफ्नो सामान राखेर कब्जा गरिसकेका थिए।

यसैगरी, शिक्षाशास्त्र संकायका उपप्राध्यापक गणेशप्रसाद खनाल २०७५ साउन १ देखि अनियमित रूपमा स्टाफ–क्वाटर ३४ (च) मा बस्दै आएका छन्। वार्डेन हुँदा छिरेका उनी पाँच बर्से समयावधि सकिए पनि बलजफ्ती बस्दै आएको प्रिन्सिपल कार्यालयले जनाएको छ। सोबारे प्रतिक्रिया माग्दा उप्राध्यापक खनालले अनियमित तरिकाले बसोबास गरिरहेका अरू क्वाटर खाली नगराएसम्म आफू पनि नछाड्ने बताए। विश्वविद्यालयमा विगतदेखि नै अनियमित तरिकाले सबै बस्दै आए पनि प्रिन्सिपल कार्यालयले केही गर्न नसकेकाले यो विकृति कायम हुँदै गएको उनको भनाइ छ।

‘विश्वविद्यालयको आवास–गृहमा बिनाआधार चार–पाँच जना शिक्षक–कर्मचारीले मुन्द्रेहरूलाई रक्सी खुवाएर काटमारसम्म गर्न तयार भएर ताला फोडेर कब्जा गरी बसेका छन्। तर प्रिन्सिपल कार्यालयले उनीहरूलाई केही कारबाही गर्न सकेको छैन,’ विशेष आवश्यकता शिक्षा विभागका प्रमुखसमेत रहेका खनालले नागरिकसँग भने, ‘यतिमात्र होइन, आवास–गृहहरू अनियमित तरिकाले राजनीतिक शक्तिको भरमा कब्जा भएको छ। यदि अनियमित रूपमा प्रवेश गर्ने सबैले छाडे भने म पनि नैतिकताको आधारमा छोड्न तयार छु।’

डाक्टर टीकाराम गौतम २०७३ भदौ १ देखि आवास–गृहमा अनियमित तरिकाले बसिरहेका छन्। ‘गौतम सर हाल समाजशास्त्र विभागीय प्रमुख पनि हुनुहुन्छ। उहाँ वार्डेन हुँदा उहाँलाई क्वाटर दिइएको थियो तर वार्डेन पद सकिए पनि चाबी बुझाउनुभएन,’ प्रिन्सिपल आचार्यले भने, ‘हामीले अनुगमन गर्दा उहाँ अझै पनि त्यही क्वाटरमा बसिरहनुभएको छ। जति भने पनि खाली गर्नु मान्नुहुन्न।’

विभागीय प्रमुख गौतमले भने आफू पूर्वप्रिन्सिपल गोविन्द सुवेदीको स्वीकृतिमै वार्डेन हुँदा बसेको बताए। ‘मलाई नाम निकालेर क्वाटरमा प्रवेश गर्ने प्रक्रिया थाहा भएन,’ गौतमले नागरिकसँग भने, ‘वार्डेन हुँदा अघिल्लो प्रिन्सिपल गोविन्द सरलाई क्वाटरका लागि निवेदन दिएको थिएँ। उहाँले बस भन्नुभयो। त्यही बेलादेखि बसें।’

गौतमको वार्डेन पद समाप्त भएपछि क्वाटर खाली गरी प्रिन्सिपल कार्यालयलाई चाबी बुभाउनुपर्नेमा नबुझाई अनियमित तरिकाले बस्नु कानुनी अपराधसमेत भएको प्रिन्सिपल कार्यालयका शाखा अधिकृत मधुकर थापाको ठहर छ। ‘गौतम सर बस्दा त्यतिखेर उहाँ अन्तर्राष्ट्रिय वार्डेन भएर प्रवेश गर्नुभएको थियो,’ शाखा अधिकृत थापाले भने, ‘हाल अन्तर्राष्ट्रिय वार्डेन पोस्ट नै हटेको छ र गौतम सरको पदावधि पनि सकिएको छ। यसरी प्राज्ञिक व्यक्तिहरू नै जोडबल गरेर अनियमित रूपमा बस्नु बिडम्वनायुक्त घटना हो।’

यसैबीच, समाजवादी विद्यार्थी युनियनआबद्ध विद्यार्थीहरू त्रिविमा भइरहेको गैरकानुनी क्रियाकलाप अन्त्यका लागि आन्दोलित बनेका छन्। युनियनका अध्यक्ष बलबहादुर रम्तेलले प्रिन्सिपल कार्यालयले आवास–गृहहरूमा अनियमित तरिकाले बसोबास गरेका शिक्षक÷कर्मचारीहरू हटाई नियमसंगत तरिकाले आवास–गृह व्यवस्थापन गर्नुपर्ने बताए।

‘प्रिन्सिपल कार्यालयले मंसिर २५ गते युनियनसँग सहमति गरेर छिटोभन्दा छिटो अनियमित तरिकाले बसोबास गरेका आवास–गृहका व्यक्तिहरूलाई हटाएर नियमसंगत रूपमा सूचना प्रकाशन गरी प्रक्रियागत रूपमा राख्ने लिखित प्रतिबद्धता गरेको थियो,’ अध्यक्ष रम्तेलले भने, ‘यदि प्रिन्सिपल कार्यालयले कारबाही गर्न सकेन भने समाजवादी विद्यार्थी युनियनले अनियमित शिक्षक–कर्मचारीहरूलाई विश्वविद्यालयभित्र प्रवेशमा रोक्नेछ।’

प्रकाशित: १७ फाल्गुन २०७६ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App