२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

बिपीमा उपकुलपति दौड

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले तीनजना प्राध्यापक चिकित्सकको नाम सिफारिस गरेको छ। सिफारिसमा परेकामध्ये दुईजना प्रतिष्ठानभित्रैका चिकित्सक छन् भने एकजना विराट मेडिकल कलेजका छन्। बिपी प्रतिष्ठानबाट कार्यवाहक उपकुलति प्राडा गुरु खनाल र प्राडा सञ्जीव शर्मा सिफारिसमा परेका छन्। डा. खनाल प्रतिष्ठानका रेक्टर पनि हुन्। अर्का, डा. शर्मा प्रतिष्ठानका मेडिसिन विभागप्रमुख हुन् भने उनी अन्तर्राष्ट्रिय ख्यातीप्राप्त अनुसन्धाता एवं मुटु तथा मिर्गौला रोग विशेषज्ञ हुन्। सिफारिस समितिले विराट मेडिकल कलेजका मेडिसिन विभाग प्रमुख डा. ज्ञानेन्द्र गिरीको नाम पनि सिफारिस गरेको छ।

सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको ३ सदस्यीय समितिले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीनजना प्राध्यापक चिकित्सकको नाम सिफारिस गरेको हो। समितिले नाम सिफारिस गरे पनि सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार उपकुलपति दौडमा रहेकाहरूको अनावश्यक चलखेल बढेपछि नाम सार्वजनिक नगर्न स्वास्थ्यमन्त्री ढकालले कडा निर्देशन दिएका छन्। प्रतिष्ठानको ऐनको दफा ११ को उपदफा ख(१)मा कुलपतिले सहकुलपतिको अध्यक्षतामा गठन भएको ३ सदस्यीय सिफारिस समितिको सुझावको आधारमा उपकुलपति नियुक्त गर्ने प्रावधान छ। सिफारिसमा परेकामध्ये विराट मेडिकल कलेजका डा. गिरीलाई स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसमेतले उपकुलपति बनाउन चाहेको चर्चा छ भने प्रतिष्ठानकै कार्यवाहक उपकुलपति डा. खनाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छ। अर्का डा. शर्माको पक्षमा खुलेर राजनीतिक लविङ देखिएको छैन।

प्रकाशित: २४ माघ २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App