२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

‘विज्ञानका विद्यार्थीलाई गणित जतिको जीवनोपयोगी अरु विषय हुन सक्दैन’

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहअन्तर्गत कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषयको साटो सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयको रूपमा समावेश गरेको छ।

गत भदौ २० गतेको मन्त्रीस्तरीय बैठकले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लागू गरी यसको कार्यान्वयन गर्न लागेको हो।

पाठ्यक्रम विकास केन्द्र, सानोठिमीका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार, आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने पाठ्यक्रम अनुसार कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवनोपयोगी नयाँ तर अनिवार्य विषयको रूपमा समावेश गरिएको छ।

जीवनोपयोगी विषयमा विद्यार्थीले निर्णय गर्ने सीप, समस्या पहिचान र समाधान गर्ने उपाय, दुर्व्यसनी रोक्ने तरिका, सामाजिक सम्बन्ध विस्तार, ज्येष्ठ नागरिक सम्मान, साइवर अपराध रोक्ने तरिका लगायतका विभिन्न क्षमता वृद्धि गर्ने सीप सिक्छन्। सामाजिक अध्ययन विषयमा नेपालको आर्थिक, सामाजिक, भौगोलिक, रितिरिवाज, धर्म, संस्कृति लगायतका विषयवस्तुबारे अध्ययन गर्ने पाठ्यक्रम तयार हुँदैछ।

‘नयाँ पुस्ताले राष्ट्रियता र नैतिकता बिर्से। त्यही भएर विद्यार्थीलाई देश चिनाउने, राष्ट्रप्रेम जगाउने तथा सक्षम र दक्ष जनशक्ति बनाउने विषय जीवनोपयोगी र सामाजिक अध्ययन पाठ्यक्रम प्रारूपमा राखिएको हो,’ निर्देशक भट्टराईले नागरिकसँग भने, ‘कक्षा ११ र १२ मा यी विषय अध्ययन गरेमा विद्यार्थीले देश तथा भूगोलबारे राम्ररी बुझ्छन्। देशभित्रै स्वरोजगार र रोजगार सृजना गर्ने बन्छन्,’ उनले थपे, ‘देशमा कायम रहेको कुप्रथा हटाउने विषयबारे विद्यार्थी जानकारी बन्छन्।’

तर, विज्ञान तथा गणितका विज्ञका अनुसार विज्ञानका विद्यार्थीलाई गणित जतिको जीवनोपयोगी विषय अरु हुनै सक्दैन। नेपाल फिजिकल सोसाइजिका सचिव डा गोपी काफ्ले सरकारले विज्ञानका विद्यार्थीलाई गणित विषय अध्ययनबाट वन्चित पारेर उनीहरूलाई मानसिक रुपमा कमजोर बनाउन खोजेको आरोप लगाउँछन्। उनले सरकारले कक्षा ११ र १२ मा विज्ञान समूहका विद्यार्थीलाई अनिवार्य विषय बढाएर बोझिलो बनाएको औंल्याए।

नयाँ पाठ्यक्रम प्रारूप अनुसार कक्षा ११ र १२ मा विज्ञानका विद्यार्थीले नेपाली र अंग्रेजी अनिवार्य अध्ययन गर्नुपर्छ भने कक्षा १२ मा जीवनोपयोगी र कक्षा ११ मा सामाजिक अध्ययन विषय अनिवार्य गरी कुल तीन/तीन वटा अनिवार्य विषय अध्ययन गर्नुपर्छ। यस्तै, ऐच्छिक तीन वटा गरी कुल ६ विषय अध्ययन गर्ने व्यवस्था छ। ‘विज्ञानको आधारै गणित हो। भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञानमा गणित विषय अति आवश्यक छ,’ सचिव काफ्ले नागरिकसँग भने, ‘जीवविज्ञानको विकास र विस्तार अध्ययन गर्न कोडिङ गर्नुपर्छ। यसमा गणित अध्ययनबिना यो विषय काम लाग्दैन।’

उनले थपे,‘सरकारले अनिवार्य विषय सामाजिक अध्ययन र जीवनोपयोगीलाई ऐच्छिक विषय बनाएर गणित अनिवार्य बनाउनु पर्छ। अनि मात्र विज्ञान तथा प्रविधिमा देश समृद्ध हुन्छ।’

नेपाल गणित समाजका अध्यक्ष चेतराज भट्ट गणितजस्तो अत्यावश्यक विषयलाई ओझेलमा पारेर ल्याएको पाठ्यक्रमलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसक्ने बताउँछन्। हाल पास गरेको पाठ्यक्रमले समग्र शिक्षाको गुणस्तर नै खस्काउने उनको ठहर छ। भाषा विज्ञान अध्ययन गर्नेका लागि समेत गणित अनिवार्य छ। ग्रह, दशा समेत अध्ययन गर्न गणित अनिवार्य चाहिन्छ।

अध्यक्ष भट्टका अनुसार विज्ञान मात्र होइन, व्यवस्थापनका विषयबाट समेत गणित हटाइएको छ। विज्ञानमा भौतिकशास्त्र, रशायनशास्त्र र जीवविज्ञानका विद्यार्थीलाई चौथो विषयको रूपमा गणित अध्ययन गर्दा कुल ७ विषय अध्ययन गर्नुपर्छ भने अर्थशास्त्र र व्यवस्थापन विषयका विद्यार्थीले समेत अत्यावश्यक वाणिज्य गणित थप ऐच्छिक विषयको रूपमा अध्ययन गर्नु पर्ने नयाँ प्रारूपमा व्यवस्थाका कारण उनीहरूको गणित अध्ययनप्रति मनोबल घटिरहेको छ। ‘विज्ञान र व्यवस्थापनका विषयमा दक्षता हासिल गर्न गणित विषय पूर्वाधार हो,’ अध्यक्ष भट्टले भने, ‘कक्षा ११ र १२ मा गणित विषय अनिवार्य गरेर त्यसलाई नै जीवनोपयोगी बनाउँदा विद्यार्थीको मानसिक अवस्था बलियो र उनीहरू दक्ष जनशक्तिको रूपमा उत्पादन हुन्छन्।’

उनले सुझाए, ‘यसका लागि सरकारले अनिवार्य विषय विज्ञानको सवालमा अनिवार्य रूपमा घटाउनु पर्छ।’ विज्ञानका विद्यार्थीलाई गणित जतिको जीवनोपयोगी अरु कुनै विषय नहुने उनले दाबी गरे।

प्रकाशित: २० माघ २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App