१२ मंसिर २०८१ बुधबार
image/svg+xml
शिक्षा

सुपर कम्प्युटरले काम पाएन

काभ्रेकाे बनेपास्थित आइटी पार्कमा राखिएकाे सुपर कम्प्युटर

काठमाडौं - छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो। मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो बेकामे बनेको छ। अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ।’

स्विट्जरल्यान्डको जेनेभामा रहेको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स (सर्न) ले यो कम्प्युटर नेपाल सरकारलाई उपहारका रुपमा प्रदान गरेको हो। सर्वसाधारणले बुझ्ने भाषामा सुपर कम्प्युटर भनिए पनि यसलाई ‘हाइ परफरमेन्स कम्प्युटिङ’ (एचपिसी) भनिन्छ। यसलाई अहिले काठमाडौं विश्वविद्यालय मातहत आइटी पार्कमा राखिएको छ।

यो कम्प्युटर सञ्चालनका लागि दुई तरिकाबाट समस्या भइरहेको शाक्यले बताए। पहिलो, दिगो सञ्चालनका लागि ठूलो खर्च लाग्छ। यो कम्प्युटरलाई पूर्णक्षमतामा चलाउन नियमित रुपमा २ सय केबी विद्युत् सप्लाई गर्नुपर्छ। २४ सै घण्टा विद्युत् दिइरहनु पर्ने यो कम्प्युटरको विद्युत् खर्च मात्र मासिक झन्डै ४ लाख हुन्छ। विद्युत्मा मात्र यति ठूलो खर्च हुने सुपर कम्प्युटर काम नपाएर थन्किएको छ। दोस्रो, ठूल्ठूला प्रोसेसिङ र डाटा प्रयोग गर्ने कम्पनी नहुँदासम्म यसलाई चलाउन नसकिने शाक्यले बताए। सुपर कम्युटरले काम नपाएपछि काठमाडौं विश्व विद्यालयले सरोकारवालासँग छलफल तयारी गरिरहेको छ। यसको प्रयोग गर्न सक्ने सम्भावित सरोकारवाला कम्पनीसँग महिना दिनभित्रै छलफल गर्न लागेको विश्वविद्यालयका कम्प्युटर एन्ड साइन्स विभाग प्रमुख डा. बालकृष्ण बालले बताए। यो कम्प्युटरलाई पूर्णरुपमा सञ्चालन गर्न अझै २–३ वर्ष लाग्न सक्ने अनुमान छ।

एक करोडभन्दा धेरै मूल्य पर्ने सुपर कम्प्युटरले सामान्य खालका २ हजार कप्युटरले भन्दा बढी काम गर्ने क्षमता राख्छ।

यो उच्च क्षमताको कम्प्युटर खासगरी ठूल्ठूला रिसर्च, मौसम विभाग, बैंक, सिभिल र जियोम्याट्रिक विभाग, इसिमोड, भूकम्प पूर्वानुमानलगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ। जहाँ धेरै प्रोसेसिङ पावर र बिग डाटा प्रयोग हुन्छ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयले यसलाई रिसोर्सका रुपमा प्रयोग गर्न सक्छन्। आइटी पढ्ने विद्यार्थीले यस्तो कम्प्युटरमा ‘रिसर्च’ गरिरहेका हुन्छन्। ‘उनीहरुका लागि ल्याब र पहिलो रिसर्च अनुभवका लागि यो कम्प्युटर धेरै उपयोगी हुन्छ,’ शाक्यले भने, ‘नयाँनयाँ एलगोरिदम विकास गर्ने विद्यार्थीलाई उपयोगी हुन्छ।’ सरकारका विभिन्न निकायले पनि यो कम्प्युटर प्रयोग गर्न सक्छन्। सरकारी निकायका विभिन्न डाटालाई आफ्नै देशको स्टोरमा गर्न सकिन्छ। अहिले स्वदेशका अति संवेदनशस्ल डाटासमेत विदेशीका सर्भरमा छन्। ‘हामीले यसलाई प्रोसेसिङ र डाटा सेन्टरको रुपमा प्रयोग गर्न सक्छौं,’ शाक्यले भने, ‘यसलाई डाटा सेन्टरभन्दा पनि एचपिसी सेन्टर भन्दा राम्रो हुन्छ।’

२३५ रोपनी जग्गामा १५ वर्षअघि बनेको आइटी पार्क अहिलेसम्म प्रयोगमा आउन सकेको छैन। दुई जना कर्मचारी मात्र राखिएको यो पार्कमा अहिले सरकारले सेक्युरिटी प्रेस राख्ने तयारी गरिरहेको आइटी पार्क इन्चार्ज दीपककुमार झाले बताए। त्यहीं ठाउँमा राखिएको यो सुपर कम्प्युटर समेत बेवारिसे बन्ने पो हो कि भन्ने चिन्ता लागेको शाक्यले बताए।

के हो सुपर कम्प्युटर
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रै नेपालीले बनाएको सुपर कम्प्युटर’ भनेर भाषण गरे पनि यो सर्नले ‘एस्ट्रो फिजिक्स’ जसमा बिगव्याङ थ्योरीको रिसर्च गर्न ३ वर्ष प्रयोग गरेको कम्प्युटर हो। विदेशीले यस्ता खालका कम्प्युटर दुई–तीन वर्ष प्रयोग गरेपछि अरुलाई वितरण गर्छन्।

यो कम्प्युटरमा साढे ७ टेरावाइट र्‍याम र साढे १ पेटाबाइट स्टोरेज क्षमता छ। यसमा १८४ वटा सिपियू, १६ वटा डिक्स सर्भर, १२ वटा नेटवर्क सर्भर स्विचहरु रहेको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। यो सुपर कम्प्युटरमा १ सय ८४ नोट छन्। एउटा नोट नै शक्तिशाली हुन्छ। झन्डै एक करोडभन्दा धेरै मूल्य पर्ने सुपर कम्प्युटरले सामान्य खालका करिब २ हजार कप्युटरको काम गर्ने क्षमता छ। यसले एकै समयमा धैरै समस्या लिन सक्ने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्छ। यसमा हाल काठमाडौंैं विश्वविद्यालयका विद्यार्थीले रिसर्चको काम गरेका छन्।

यो कम्प्युटरमा सेन्टवेयस्ट अपरेटिङ सिस्टम, ओपन एमपिआई जस्ता सफ्टवेयर इन्स्टल भइसकेका छन्। यसमा रहेका छुट्टाछुट्टै सर्भर एकअर्कामा जोडिन्छन्। ‘हामीले कुनै पनि ठूलो समस्या यसलाई दियौं भने यी सर्भरले एकअर्कासँग लिंक गरेर समाधान गर्छन्,’ शाक्यले भने, ‘एउटा सामान्य कम्प्युटरलाई कुनै समस्या समाधान गर्न १० दिन लाग्छ भने यसमा २ घन्टामै काम सम्पन्न गर्न सक्छ।’ डा. राजेन्द्र अधिकारीको सक्रियतामा नेपालमा आइपुगेको यो कम्प्युटरले काम पाए अबको पाँच सात वर्षसम्म राम्रो उत्पादन दिनसक्ने अनुमान छ। यसलाई मर्मत गरेर पनि लामो समयसम्म चलाउन सकिने शाक्यले बताए।

प्रकाशित: १ फाल्गुन २०७५ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App